अभिभावककाे सहमतिमा मात्रै विद्यार्थीलाई रुस जान अनुमति दिन सकिन्छ : शिक्षामन्त्री भट्टराई

 भदौ २०, २०८१ बिहीबार १८:१:१३ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले छात्रवृत्तिमा अध्ययनका लागि रुस जान लागेका विद्यार्थीलाई अभिभावकको अनुमतिमा मात्र जान दिने बताउनुभएको छ ।

रुसमा छात्रवृत्तिका लागि जान लागेका विद्यार्थी तथा अभिभावकसँग आज मन्त्रालयमा भएको छलफलमा मन्त्री भट्टराईले अभिभावकले आफ्नो छोराछोरी जानका लागि मन्त्रालयमा लिखित अनुमति र प्रतिबद्धता जनाए मात्र रुस पठाउन सकिने बताउनुभएको हो ।

अहिले रुस र युक्रेनबीच युद्धकै अवस्था रहेकाले अभिभावकले मन्त्रालयसँग आफ्ना छोराछोरी जानका लागि अध्ययन अनुमतिपत्र माग्न आउँछन् भने प्रतिबद्धता जनाएर पठाउन तयार रहेको उहाँले बताउनुभयो । यसमा परराष्ट्र मन्त्रालयले पनि स्वीकृत दिएपछि विद्यार्थीलाई अभिभावकको सहमतिमा मात्रै पठाउन सक्ने उहाँको भनाइ छ ।

शिक्षा सचिव डा. दीपक काफ्लेले रुसको १२ वटा ठाउँमा ४० जना विद्यार्थी चिकित्साशास्त्र, इञ्जिनियरिङ लगायत विभिन्न विषयमा छात्रवृत्तिमा अध्ययन गर्न जान लागेका जानकारी दिनुभयो । रुसमा रहेको नेपाली दूतावासले पनि ती विद्यार्थी पढ्न जाने ठाउँ सुरक्षित रहेको जनाएकाले मन्त्रालयले अध्ययन अनुमति पत्र दिने प्रक्रिया अघि बढाउन सक्ने उहाँले जानकारी दिनुभयो ।

रुस सरकारले उपलब्ध गराएको छात्रवृत्तिमा परराष्ट्र मन्त्रालयले छनोट गरेपछि ४० जना विद्यार्थी रुस जान लागेका हुन् । ती विद्यार्थी दुई वर्षदेखि छ वर्षसम्म चिकित्सा, इञ्जिनियरिङ लगायतका विषय अध्ययन गर्न जाने प्रक्रियामा छन् ।

अन्तिम अपडेट: पुस ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया