सहलेशलाई पेनाल्टीमा हराउँदै एनआरटी क्लब फाल्गुनन्द गोल्डकपको स...
पुस ११, २०८१ बिहिबार
काठमाण्डाै – पर्यटन व्यवसायी श्यामबहादुर पाण्डेलाई मरणोपरान्त 'पीपी प्रसाईं टुरिजम लाइफटाइम अचिभमेन्ट अवार्ड' २०२४ प्रदान गरिएको छ ।
काठमाण्डाैमा आज भएको कार्यक्रममा श्यामबहादुरका छोरा प्रवीण पान्डेले अवार्ड ग्रहण गर्नुभएको छ । पीपी प्रसाईं फाउन्डेशनले स्थापना गरेको अवार्ड शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले प्रदान गर्नुभएको हो ।
यस्तै फाउन्डेशनले हरेक वर्ष प्रत्येक प्रदेशका उत्कृष्ट शिक्षकलाई प्रदान गर्दै आएको 'उत्कृष्ट शिक्षक पुरस्कार' २०८१ सातै प्रदेशका विभिन्न शिक्षकलाई प्रदान गरेको छ । जसमा कोशी प्रदेशबाट श्री फिक्कल माध्यमिक विद्यालयका मातृकाप्रसाद दाहाल, मधेश प्रदेशबाट श्री जनता माध्यमिक विद्यालयका रामकृपाल महतो, बाग्मती प्रदेशबाट श्री महेन्द्रग्राम माध्यमिक विद्यालयका अम्बिका धिताललाई प्रदान गरिएको फाउन्डेशनले जनाएको छ ।
साथै गण्डकी प्रदेशबाट माछापुच्छ्रे माध्यमिक विद्यालयका सन्तोष आचार्य, लुम्बिनी प्रदेशबाट श्री कालिका मनविज्ञान माध्यमिक विद्यालयका युवराज कंडेल, कर्णाली प्रदेशबाट श्री अमरज्योति माध्यामिक विद्यालयका अशोक कुमार राई र सुदूरपश्चिम प्रदेशबाट श्री सरस्वती माध्यमिक विद्यालयकी चन्द्रकला दवाडीलाई पुरस्कार प्रदान गरिएको छ । शिक्षकहरूलाई जनही ५० हजार रुपैयाँसहित सम्मान गरिएको हो । साथै सम्मानित शिक्षकले अध्यापन गराउने सबै विद्यालयलाई १० हजार रुपैयाँ बराबरको शैक्षिक सामग्री प्रदान गरिएको छ ।
यसैगरी शिक्षा क्षेत्रमा विशिष्ट योगदान पुर्याएबापत एक लाख रुपैयाँ राशिको प्राेत्साहन पुरस्कार श्री राष्ट्रिय आधारभूत विद्यालयलाई प्रदान गरिएको छ ।
देशभरबाट आवेदन माग गरी शिक्षकको पढाउने शैली, बाल मनोविज्ञान, विद्यार्थीको आवश्यकताप्रति उनीहरूको बुझाइ, शिक्षाप्रति उनीहरूको प्रतिबद्धता, सिर्जनशीलता, अभिभावक तथा समाजसँग उनीहरूको सम्बन्ध र स्थानीय अभिभावक तथा समुदायको सिफारिशलगायतका आधारमा शिक्षा विशेषज्ञ, पूर्वशिक्षक, पूर्वप्रशासक, शिक्षण क्षेत्रमा क्रियाशील सङ्घ–संस्थाका प्रतिनिधि तथा लब्ध प्रतिष्ठित व्यक्तिहरूको निर्णायक समितिले पुरस्कार प्रदानका लागि सिफारिश गरेकाे फाउन्डेशनले जनाएको छ ।
फाउन्डेशनले हरेक वर्ष नेपालको शिक्षा तथा पर्यटन क्षेत्रमा योगदान पुर्याउने विभिन्न व्यक्तित्वलाई राष्ट्रिय शिक्षक पुरस्कार तथा टुरिजम लाइफटाइम अवार्डले सम्मानित गर्दै आएको छ ।
विद्यार्थीलाई शिक्षाको ज्योति प्रदान गर्ने शिक्षकहरूको उचित सम्मान र हौसला प्रदान गर्न र शिक्षण पेशामा आउन चाहनेलाई प्रोत्साहन गर्न स्वर्गीव पर्यटन व्यवसायी प्रजापति प्रसाईंको सम्मानमा यो पुरस्कार स्थापना गरिएको हो । यसलाई आउँदाे दिनमा अझ व्यापक र समावेशी बनाउँदै लैजाने पीपी प्रसाईं फाउन्डेशनकाे योजना छ ।
शिक्षासम्बन्धी पुरस्कारको निर्णायकमा घनञ्जय अधिकारी, टीका भट्टराई, रोशना सुब्बा, रिजुता महर्जन रहेका थिए । लाइफटाइम अचिभमेन्ट अवार्डको छनाेट पर्यटनसम्बन्धी संस्थामा आबद्ध व्यक्तिको समूहले गरेको सञ्चारकर्मी एवम् फाउन्डेशनका सचिव दिलभूषण पठकले बताउनुभयाे ।
नेपालको पर्यटन क्षेत्रका 'पायोनियर' व्यक्तित्व एवम् नटराज टुर एन्ड ट्राभल्सका संस्थापक प्रसाईंको पर्यटन प्रवर्द्धन र ग्रामीण क्षेत्रसम्म शिक्षाको विकासको सपनालाई आत्मसातत् गर्दै २०६७ साल फागुन ६ गते पीपी प्रसाईं फाउन्डेशनकाे गठन गरिएको हो । प्रसाईंको २०५६ साल भदौ २० मा हवाई दुर्घटनामा परी निधन भएको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।