उद्योगमन्त्री भण्डारी र भारतीय समकक्षी गोयलबीच व्यापार सहजीकरणक...
मंसिर १८, २०८१ मंगलबार
पर्वत – कुनै बेला जिल्लामै सबैभन्दा बढी सुन्तला उत्पादन गर्ने किसानका रूपमा चिनिनुभएका मोदी गाउँपालिका–२ देउपुर कोरुङ्गाका टीकाराम तिमिल्सिनाले अहिले व्यावसायिक मौरीपालनबाट बर्सेनि ३५ लाख रुपैयाँ आम्दानी गर्न थाल्नुभएको छ । उहाँ सुन्तलाखेती छाडेर मौरीपालनमा आकर्षित हुनुभएको हो ।
घर अगाडिको बगैँचामा तीन सयभन्दा बढी सुन्तलाका बोट लगाएर गाउँमा ठूलो सुन्तला बगैँचा बनाउनुभएका तिमिल्सिना सुन्तलाका बोट मर्दै गएपछि समस्यामा पर्नुभएको थियो । सुन्तलामा भविष्य नदेखेपछि उहाँ मौरीपालनतर्फ आकर्षित हुनुभएको छ ।
शुरुमा उहाँले घरको आँगनमा केही मौरी पाल्न थाल्नुभयो । माहुरीको घार र महको माग बढ्न थालेपछि आफ्नो व्यवसायलाई विस्तार गर्दै लगेको तिमिल्सिनाले बताउनुभयो । पहाडी भेगमा अनुकूल हुने ‘एपि सेरेना’ जातको मौरी पालेको भन्दै उहाँले यो व्यावसायबाट वार्षिक रु ३५ लाखसम्म आम्दानी हुने गरेको जानकारी दिनुभयो ।
किसान तिमिल्सिनाले भन्नुभयो, ‘यहाँ उत्पादन गरेको मह घरबाट नै बिक्री हुने गरेको छ । गुणस्तरीय मह भएकाले डुलाउँदै हिँड्नुपर्ने अवस्था छैन । मागअनुसार ग्राहकलाई पुर्याउन सकिरहेको छैन ।’
विभिन्न पालिकाले अनुदानमा वितरण गर्ने घार र मौरीको स्रोतसमेत तिमिल्सिनाको फार्म बनेको छ । कृषि ज्ञान केन्द्र तथा गाउँपालिकाको समन्वयमा गत वर्ष मात्र उहाँले एक सयभन्दा बढी माहुरीका घार बिक्री गर्नुभएको थियो ।
घरवरिपरि मौरीका घारैघार छन् । बिहान उठेदेखि साँझ नपरुञ्जेल तीनै मौरीका घारको हेरचाह गर्ने उहाँको दिनचर्या हो । परिश्रम र मेहनत गर्ने हो भने गाउँमा बसेर पनि लाखौँ आम्दानी गर्न सकिन्छ भन्ने गतिलो उदाहरण तिमिल्सिनाले देखाउनुभएको छ ।
विगत २४ वर्षदेखि व्यावसायिक रूपमा मौरीपालन व्यावसाय गर्दै आउनुभएका तिमिल्सिनाले वार्षिक ३५ लाख रुपैयाँसम्म आम्दानी हुने जनाउँदै अहिले एक सयभन्दा बढी मौरीका घार रहेका बताउनुभयो ।
शुरुका केही वर्ष चिसोका कारण ५० प्रतिशत घाटा बेहोरेका तिमिल्सिनाले पछिल्ला वर्ष सोचे जति आम्दानी हुने गरेको बताउनुभयो । उहाँले वर्षमा दुईपटक मह निकाल्ने गर्नुभएको छ । वि.सं.२०५७ देखि व्यावसायिक माहुरीपालन गर्न थालेका तिमिल्सिना जिल्लाकै नमूना मौरीपालक किसान हुनुहुन्छ ।
उत्पादित मह धेरै मात्रामा घरबाट बिक्री हुने गरेको बताउँदै तिमिल्सिनाले काठमाण्डौ, चितवन, बुटवललगायत बजारमा ब्राण्ड बनिसकेको जानकारी दिनुभयो । ‘कुश्माबजार, बाग्लुङ, काठमाण्डौ, पोखरा र बुटवललगायत क्षेत्रबाट पनि व्यवसायीहरू घरमा आएर खरिद गरी लैजाने गरेका छन् ’, उहाँले भन्नुभयो ।
विभिन्न संस्थाको सहयोगमा तालिम लिएपछि तिमिल्सिना मौरीपालनमा हौसिनुभएको थियो । उहाँले महमात्र बिक्री गर्नु हुँदैन मौरीको घार र गोलासमेत बिक्री गर्ने गर्नुहुन्छ । मौरीसहितको घार बिक्रीबाट बर्सेनि २० लाख रुपैयाँभन्दा आम्दानी गर्नुहुन्छ ।
उहाँको व्यवसायमा श्रीमती र छोराछोरीले समेत सहयोग गर्ने गरेका छन् । मौरीसहितका घार प्रतिगोटा १० हजार रुपैयाँ र मह प्रतिकिलो एक हजार रुपैयाँमा बिक्री गर्दै आएको उहाँले बताउनुभयो । उहाँले एक सिजनामा सात क्विन्टलभन्दा बढी मह काढ्दै आएको अनुभव सुनाउनुभयो ।
मौरीपालनमा अन्य पेसा जस्तो एकैपटकमा लाखौँ लगानी गर्न नपर्ने, आम्दानी भने उल्लेख्य हुने यस व्यवसायमा लागेकाहरू बताउँछन् । तरकारी खेती, पशुपक्षी तथा कुखुरापालनमा जस्तो निरन्तर खट्न पनि नपर्ने भएकाले मौरीपालनमा किसानको आकर्षण बढेको अगुवा किसान उमाकान्त शर्माले बताउनुभयो ।
उहाँका अनुसार अहिले पर्वतका देउपुर, मल्लाज, भङ्गरा, कुर्घा, ठानामौला, पाङराङ, बाच्छा, लुङ्खुलगायत व्यावसायिक मौरीपालक किसानले बर्सेनि सय बढी मौरीसहितका घार उत्पादन गरेर बिक्री गर्दै आएका छन् । सोही अनुपातमा महसमेत उत्पादन भइरहेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।