एक वर्षमै एक सय ९० वटाभन्दा धेरै युक्रेनी गाउँ रुसको कब्जामा
पुस ७, २०८१ आइतबार
काठमाण्डाै – नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी चिलिमे जलविद्युत्काे अगुवाइमा रसुवामा निर्माण भएको १११ मेगावाटको रसुवागढी जलविद्युत् आयोजनाबाट उत्पादित बिजुली राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ । रसुवाको गोसाईंकुण्ड गाउँपालिकामा निर्माण भएको आयोजनाका ३७/३७ मेगावाटका तीन वटा युनिटमध्ये एउटा युनिटबाट हिजाेदेखि परीक्षणका रूपमा बिजुली उत्पादन शुरू गरिएको छ ।
आयोजनाले परीक्षणका रूपमा ४ दशमलव २ मेगावाट बिजुली उत्पादन गरेको थियो । परीक्षण सफल भएपछि अब क्रमशः बिजुली उत्पादन बढाउँदै लगिने छ । सबै युनिटबाट परीक्षण उत्पादन र तोकिएका मापदण्ड पूरा गरी झन्डै एक महिनाभित्रमा आयोजनाबाट व्यावसायिक रूपमा बिजुली उत्पादन शुरू गरिने आयोजनाको प्रवर्द्धक रसुवागढी हाइड्रोपावर कम्पनीका प्रबन्ध–सञ्चालक छवि गैरेले बताउनुभयो ।
टिमुरे (तातोपानी) मा रहेकाे विद्युत् गृहबाट आयोजनाले नै निर्माण गरेको १० किलोमिटर १३२ केभी प्रसारण लाइनमार्फत उत्पादित बिजुली रसुवाको आमाछोदिङमो गाउँपालिकाकाे थम्बुचेतमा रहेकाे प्राधिकरणले बनाएको २२०/१३२/३३ केभी सबस्टेशनमा जोडी राष्ट्रिय प्रसारण प्रणालीमा समाहित गरिएको छ ।
याे बिजुली चिलिमे–त्रिशूली र त्यहाँबाट त्रिशूली–काठमाण्डाै २२० केभी प्रसारण लाइन हुँदै राष्ट्रिय प्रसारण प्रणालीमा प्रवाह हुनेछ । चिलिमे–त्रिशूली २२० केभी प्रसारण लाइनलाई निर्माण सम्पन्न गरी गएकाे कात्तिक २१ गतेदेखि सञ्चालनमा ल्याइएको थियो ।
रसुवागढीबाट उत्पादित बिजुलीले हिउँदयाममा काठमाण्डाै उपत्यकाका हुने बिजुलीकाे माग व्यवस्थापनका लागि सहज हुनेछ । सुक्खायाम शुरूसँगै भोटेकोशी नदीमा पानीको बहाव घट्न शुरू भइसकेकाले रसुवागढी आयोजनाबाट पूर्ण क्षमतामा बिजुली उत्पादन हुने छैन । हिउँदयामा आयोजनाबाट झन्डै ३७ मेगावाट मात्र बिजुली उत्पादन हुनेछ ।
इन्जिनियरिङ, खरिद र निर्माण (ईपिसी) मोडलमा विद्युत् गृह, बाँध, सुरुङलगायतका सिभिल संरचना र इलेक्ट्रोमेकानिकल काम गर्न चाइना इन्टरनेशनल वाटर एन्ड इलेक्ट्रिक कर्पोरेशनसँग २०७० साल पुस ३० गते ठेक्का सम्झौता भएको थियो । इलेक्ट्रोमेकानिकल कार्यका लागि भारतकाे भोइथ हाइड्रो प्रालिसँग २०७१ साल साउन १५ गते ठेक्का सम्झौता भएको थियो ।
२०७२ सालको भूकम्प एवम् बाढी, पहिरोले पुर्याएको क्षति तथा अवरोध, कमजोर भौगर्भिक अवस्था, मधेश आन्दोलनका कारण निर्माण समाग्री ढुवानी र इन्धन आपूर्तिमा आएको समस्या, प्रत्येक वर्षायाममा आयोजना क्षेत्रमा आइरहने ठूलो बाढी, पहुँचमार्गमा निरन्तर गइरहने पहिरो, कोभिड–१९ महामारीलगायतका कारण आयोजनाको निर्माण प्रभावित भएको थियो । आयोजनाबाट गएकाे चैतसम्ममा बिजुली उत्पादन गर्ने लक्ष्य राखी सम्पूर्ण निर्माण सम्पन्न गरिएको थियो । तर आयोजनाको बिजुली जोडिने चिलिमे–त्रिशूली २२० केभी प्रसारण लाइन निर्माण सम्पन्न गर्न केही समय लागेकाले बिजुली उत्पादनमा केही ढिलाइ भएको हो ।
प्राधिकरणसँग विद्युत् खरिद बिक्री सम्झौता (पीपीए) गर्ने समयमा आयोजनाको अनुमानित लागत निर्माण अवधिको ब्याजबाहेक १३ अर्ब ६८ करोड ४२ लाख रुपैयाँ तय गरी त्यही आधारमा ५० प्रतिशत स्वपूँजी (इक्विटी) र ५० प्रतिशत ऋणबाट जुटाइएको थियो । आयोजना निर्माण अगाडि बढाउने समयमा मुख्य रूपमा अमेरिकी डलरको तुलनामा नेपाली रुपैयाँको अवमूल्यन भएको कारण संशाेधित अनुमानित लागत निर्माण अवधिको ब्याजबाहेक १५ अर्ब १८ करोड ३७ लाख रुपैयाँ कायम गरिएको थियो ।
नियन्त्रणबाहिरको परिस्थितिका कारण आयोजना निर्माण अवधि बढ्दा र डलरको तुलनामा नेपाली मुद्रा कमजोर बन्दा आयोजनाको अनुमानित लागत निर्माण अवधिकको ब्याजबाहेक १८ अर्ब ६९ करोड रुपैयाँ छ । निर्माण अवधिको ब्याज झन्डै ६ अर्ब रुपैयाँ पुग्ने अनुमान गरिएको छ ।
कम्पनीमा चिलिमे जलविद्युत् कम्पनी लिमिटेडको ३२ दशमलव ७९ प्रतिशत, प्राधिकरणको १८ प्रतिशत, रसुवाका स्थानीय तहको शून्य दशमलव २१ प्रतिशत संस्थापक शेयर छ । आयोजनाले ५० प्रतिशत स्वपूँजी र ५० प्रतिशत ऋणबाट लगानी जुटाएको थियो । आयोजनामा कर्मचारी सञ्चाय कोषले ऋण प्रवाह गरेको छ । निर्माण अवधि लम्बिएर कर्जा बढ्दा ऋण ६० प्रतिशत र इक्विटी ४० प्रतिशत कायम भएको छ ।
कम्पनीमा कर्मचारी सञ्चय कोषका सञ्चयकताको १५ दशमलव पाँच प्रतिशत, कम्पनीका संस्थापक संस्थाहरू ( प्राधिकरण, चिलिमे र रसुवा जिल्लाका सम्बन्धित स्थानीय तह) का कर्मचारी तथा ऋणदाता संस्था (कर्मचारी सञ्चयकोष) का कर्मचारीको चार दशमलव पाँच प्रतिशत, आयोजना प्रभावित रसुवावासीको १० प्रतिशत र आमसर्वसाधारणको १५ प्रतिशत गरी ४९ प्रतिशत साधारण शेयर रहेको छ ।
आयोजनाबाट वार्षिक रूपमा ६१ करोड ३८ लाख ७५ हजार युनिट बिजुली उत्पादन हुनेछ । बिजुली बिक्रीबाट कम्पनीलाई वार्षिक ३ अर्ब २५ करोड रुपैयाँ आम्दानी हुनेछ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।