जनसङ्ख्या र विकासबारे एशियाली सम्मेलन काठमाण्डौमा

 मंसिर १३, २०८१ बिहीबार ९:३७:१४ | रासस
unn.prixa.net

काठमाण्डौ – जनसङ्ख्या र विकास, त्यसमा परेको प्रभाव र जलवायु परिवर्तनले गरेका असरलगायत विषयमा एशियाली सम्मेलन काठमाण्डौमा शुरू भएको हो । हिजोदेखि शुरू भएको सम्मेलनमा ३० देशका पाँच सय प्रतिनिधिहरू भेला भएका छन् ।

एशियाली जनसङ्ख्या सङ्घ (एपीए) र त्रिभुवन विश्वविद्यालय, जनसङ्ख्या अध्ययन केन्द्रीय विभाग (सीडीपीएस) को संयुक्त आयोजनामा शुरू भएको छैटौँ एशियाली जनसङ्ख्या सम्मेलन पर्सि शनिवारसम्म चल्नेछ ।

सम्मेलनमा जनसङ्ख्या सँगसँगै एशियाको जनसाङ्ख्यिकी अवस्थाका विभिन्न पक्षका बारेमा छलफल हुने सम्मेलन आयोजक समितिका संयोजक त्रिभुवन विश्वविद्यालय, जनसङ्ख्या अध्ययन केन्द्रीय विभाग (सीडीपीएस) का प्रमुख प्रा.योगेन्द्रबहादुर गुरूङले जानकारी दिनुभयो ।

सम्मेलनमा विषय विज्ञहरूबाट जनसङ्ख्या, बसाइँसराइ, प्रजनन् तथा मृत्युदरलगायका विषयमा विश्वका देशको अवस्थासहितको तथ्याङ्क विश्लेषण हुने हुँदा अनुभव आदानप्रदान र एक देशले अर्को देशको अवस्थाका बारेमा जानकारी हासिल गर्न सक्ने उहाँको भनाइ छ । उहाँले जलवायु परिवर्तनका कारण जनसङ्ख्यामा परेको असरका विषयमा सम्मेलनमा छलफल हुने उहाँले जानकारी दिनुभयो ।

नेपालमा जनसङ्ख्यासम्बन्धी नीति संशोधन गर्ने चरणमा रहेकाले सम्मेलनको निष्कर्ष त्यसका लागि सहयोगी हुने विश्वास लिइएको छ । सम्मेलन आयोजक समितिका सदस्य सीडीपीएसका सहप्राध्यापक एवम् नेपाल जनसङ्ख्या सङ्घ (पान)का अध्यक्ष पद्मप्रसाद खतिवडाका अनुसार सम्मेलनमा विश्वका जनसङ्ख्याविद्, नीति निर्माता, अनुसन्धाता, विद्यार्थीलगायतको सहभागिता छ ।

यहाँ प्रस्तुत हुने १७ वटा विषयमा प्रजननदर, मृत्युदर, बसाइँसराइ, र त्यसमा प्रत्यक्ष र परोक्षसम्बन्ध राख्ने शहरीकरण, जनघनत्व, जलवायु परिवर्तन, लैङ्गिकता, प्रजनन स्वास्थ्यलगायतका विषयहरू समावेश छन् ।

सम्मेलनमा नेपालको समग्र जनगणनाको तथ्याङ्कका आधारमा जन्मदर, मृत्युदर र बसाइँसराइको विश्लेषण हुनेछ । त्यसका साथै नसर्ने रोगका सन्दर्भमा मुख्य गरी पार्किन्ससको समस्या जल्दोबल्दो रूपमा भइरहेकाले त्यस विषयमा छलफल हुने खतिवडाले जानकारी दिनुभयो । 

अन्तिम अपडेट: मंसिर १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया