एशिया कप र विश्वकप यो हातले उचाल्नु छ : कप्तान महतो

 मंसिर १४, २०८१ शुक्रबार १५:१७:३७ | रासस
unn.prixa.net

तस्वीर : रासस

महोत्तरी – १९ वर्षमुनिकाे नेपाली महिला क्रिकेट टोलीकी कप्तान पूजा महतोले आसन्न एशिया कप र विश्वकप जित्नु अहिलेको अर्जुनदृष्टि भएको बताउनुभएको छ । यूएईमा सम्पन्न दुई वटै अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिताको छनोट प्रतिस्पर्धा जितेर गृहजिल्ला महोत्तरी आएकी १८ वर्षीया पूजाले देश फर्कँदा सबै क्षेत्रबाट पाएको सम्मानले हर्षविभोर बनाउनुका साथै थप दायित्व बोध बढाएको बताइन् ।

पछिल्लो समय खेलप्रति आमरूपमा जागेको चासो र विश्वासले नेपाली खेल क्षेत्रले अबका दिनमा झन्–झन् सफलताको सिँढी चढ्ने उनकाे विश्वास छ । प्रस्तुत छ कप्तान महतोको महोत्तरीको गौशाला नगरपालिका–९ डुमरवानामा रहेकाे घरमै क्रिकेटमा उनको लगाव र भविष्यका बारेमा रासस जिल्ला संवाददाता गोपाल बरालले गर्नुभएको सङ्क्षिप्त कुराकानीको सम्पादित अंश : 

यूएईबाट छनोट प्रतिस्पर्धा जितेर फर्केदेखि तपाईंलाई सम्मान र पुरस्कार लिन भ्याइनभ्याइ परेको छ । यसमा कस्तो महसूस गर्नुभएको छ ?

यूएईबाट छनोट प्रतिस्पर्धा जित्न सक्दा म निकै हर्षविभोर छु । छनोट प्रतिस्पर्धाको जीतले नै यहाँ कति उत्साह दिएको रहेछ भन्ने त मप्रति दर्साइएको स्नेह र सम्मानले नै देखाएको छ । यहाँ आइपुग्नासाथ मधेश प्रदेश सरकार, स्थानीय तह, विभिन्न राजनीतिक दल, सामाजिक सङ्घ–संस्था, खेलकुद जगत् र आमसर्वसाधारणबाट पाएको स्नेह र सम्मानले अबका दिनमा अझ राम्ररी अघि बढ्न हौसला र ऊर्जा दिएको छ । खेलप्रति र खासमा क्रिकेटप्रति बढेको यो चासोले अबका दिन खेलका लागि राम्रो समय आउला भन्ने आशा जागेको छ ।

तपाईं ग्रामीण परिवेशको सामान्य किसान परिवारमा जन्मनु भएकी महिला । क्रिकेटमा कसरी जोडिनु भयो ?

हो, तपाईंले भन्नु भएजस्तै म ग्रामीण परिवेशको सामान्य किसान परिवारमै जन्मिएकी हुँ । यहाँको खेतीपातीले घर धान्न धौधौ परेपछि मेरा पिता रञ्जित महतो परिवारसहित कामको खोजीमा भारतको दिल्ली पुग्नुभयो । हामी तीन दिदीबहिनी र एउटा भाइ त्यहीँ (दिल्ली) बस्न थाल्यौँ । मेरी कान्छी बहिनी आरती र भाइ कृष्ण दिल्लीकै एकेडेमीमा क्रिकेट सिक्थे । म उनीहरूलाई पुर्‍याउन जान्थेँ । त्यहींँ प्रशिक्षकले खै ममा के देख्नु भएर हो, मलाई पनि खेलाउन थाल्नुभयो । मैले चार वर्षदेखि खेलको अभ्यास थालेकी हुँ ।

केही समयपछि भाइ एउटा खेलमा सहभागी हुन नेपाल आए । उनको नेपाल क्रिकेट सङ्घ (क्यान) का उपाध्यक्ष रोशनकुमार सिंहसँग भेट भएछ । भेटमा भाइले ‘मेरी दिदी पूजा पनि राम्रो खेल्नुहुन्छ, उहाँलाई टिममा राख्नु न’ भनेछन् । भाइ दिल्ली फर्केर मेरो खेलका तस्वीर र भिडियोहरू उपाध्यक्ष सिंहलाई पठाउँदा रहेछन् । मेरो खेल भिडियो र तस्वीरमा हेर्नुभएका उपाध्यक्ष सिंहले मलाई नेपाल झिकाएर खेलाउने निर्णय लिएर मेरा पिताजीसँग समन्वय गर्नु भएअनुसार म काठमाण्डौ पुगेँ । उपाध्यक्ष सिंहको पितृवत् कुशल अभिभावकत्व पाएँ । उहाँकै निर्देशन पालना गर्दै अघि बढ्दै जाँदा जिल्ला, प्रदेश हुँदै अहिले देशकै यू–१९ नेपाली महिला क्रिकेट टोलीको कप्तान बन्न सकेको छु । जे उपलब्धि देखिएको छ, पाइएको छ, त्यो क्यान र हाम्रो टोलीको साझा मेहनतको प्रतिफल हो ।

अब के योजनामा हुनुहुन्छ ?

ल, यो पनि भन्नु पर्छ र ! अब केही हप्तामै (नोभेम्बर मध्यमा) मलेसियामा एशिया कप प्रतियोगिता हुँदैछ । लगत्तै एक महिनापछि डिसेम्बरमा विश्वकप हुँदैछ । अब अहिलेको सपना भन्नुस्, ध्येय वा लक्ष्य भन्नोस्, यी दुवै प्रतियोगितामा सफलता हात पार्नु हो । मलेसियामा आयोजना हुने यी दुवै प्रतियोगिता जित्नु अहिले हाम्रो टोलीको एकमात्र अर्जुनदृष्टि हो ।

अन्त्यमा केही भन्नुहुन्छ कि ?

हजुर, मधेशमा प्रदेश सरकारले केही वर्षअघिदेखि ‘बेटी पढाउ, बेटी बचाउ’ अभियान सञ्चालन गरेको छ । अब ‘बेटी खेलाउ’ पनि भन्नुपर्‍याे भन्ने मेरो आग्रह छ । खेलले किशोर र युवा उमेरका हाम्रा दिदीबहिनीको शारीरिक सुगठन मजबुत हुनुका साथै घरबाहिरका गतिविधिमा सक्रियता बढाउँछ । अनुशासन सिकाउँछ । मनभित्रको दुर्बलता हटाउँछ । यसपालिको लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान पनि अहिले जारी छ । खेलमा बढीभन्दा बढी महिला सहभागिताले लैङ्गिक विभेदविरुद्धको अभियानलाई पनि सघाउँछ भन्ने मेरो विश्वास छ ।

अन्तिम अपडेट: माघ ९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया