सैन्य शासन लागू गर्ने असफल प्रयासपछि दक्षिण कोरियाका राष्ट्रपतिविरुद्ध महाभियोग प्रस्ताव

 मंसिर १९, २०८१ बुधबार १७:२५:३३ | एजेन्सी
unn.prixa.net

तस्वीर : एजेन्सी

दक्षिण कोरियाली सांसदहरूले राष्ट्रपति युन सुक येओलविरुद्ध महाभियोगको प्रक्रिया अघि बढाएका छन् । राष्ट्रपति युनले विश्वलाई चकित पार्ने गरी गएराति मार्सल कानून लागू गर्नुभएको थियो । तर त्यसको केही घण्टामा नै उहाँले सैन्य शासन लागू हुने मार्सल कानून फिर्ता गर्नुपरेको थियो ।

राष्ट्रपतिको घोषणाको दुई घण्टा पनि नबित्दै दक्षिण कोरियाली सांसदहरूले राष्ट्रिय सभा (संसद्) मा प्रवेश गरेर निर्णय रोक्न मतदान गरेका थिए । एक सांसदले आफू पर्खालमा चढेर संसद् भवनमा पसेको र त्यसका लागि प्रदर्शनकारीहरूले मद्दत गरेको बताएका बीबीसीले जनाएको छ ।

संसदमा उपस्थित सबै एक सय ९० जना सांसदले मार्सल कानूनविरुद्ध मतदान गरेपछि राष्ट्रपति युनले आफ्नो निर्णय उल्टाउने घोषणा गर्नुभएको थियो । त्यसपछि आज सांसदहरूले राष्ट्रपति युनविरुद्ध महाभियोगको प्रक्रिया शुरू गरेका हुन् ।

राष्ट्रपति युनले दक्षिण कोरियालाई उत्तर कोरियाको कम्युनिस्ट शक्तिहरूबाट जोगाउन र राज्यविरोधी तत्त्वहरूलाई परास्त गर्न मार्सल कानून आवश्यक भएको दाबी गर्नुभएको थियो ।

सांसदहरूले अब आउँदो शुक्रवार वा शनिवार राष्ट्रपतिविरुद्धको महाभियोगको प्रस्तावमा मतदान गर्ने सम्भावना रहेको बीबीसीले जनाएको छ । संसद्को दुई तिहाइ बहुमतबाट महाभियोग अनुमोदन भएमा राष्ट्रपति युनले संवैधानिक अदालतमा मुद्दाको सामना गर्नुपर्नेछ । अदालतले पनि महाभियोग पारित गर्‍याे भने त्यसको ६० दिनभित्र नयाँ चुनाव हुन्छ ।

यसैबीच दक्षिण कोरियाका रक्षामन्त्री किम योङ–ह्युनले मार्सल कानून लागूको सम्पूर्ण जिम्मेवारी लिँदै राजीनामा दिनुभएको छ । उहाँले विज्ञप्ति निकालेर भ्रम फैलाउने र दुःख दिने काम गरेकोमा नागरिकसँग माफी माग्नुभएको बीबीसीले जनाएको छ ।

अन्तिम अपडेट: मंसिर २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया