कालीगण्डकी करिडोरअन्तर्गत काभ्रेभीरमा 'रक एङ्करिङ' गरेर सडक विस्तार

 मंसिर २२, २०८१ शनिबार ११:५९:५१ | रासस
unn.prixa.net

तस्वीर : रासस

म्याग्दी – भारत र चीनलाई जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोरको बेनी–जोमसोम–कोरला सडकअन्तर्गत सबैभन्दा जोखिमयुक्त र साँघुरो काभ्रे, बादरजुङ र घोप्टेभीर क्षेत्रको सडक विस्तार, पहिरो र कटान रोकथामका लागि 'रक एङ्करिङ' गरिएको छ ।

साँघुरो अवस्थामा रहेको काभ्रेभीरको सडकलाई 'रक एङ्करिङ' अर्थात् पहाडमा पारेको प्वालमा रड राखेर सिमेन्ट, बालुवा र गिट्टी जमाउने प्रविधिको प्रयोग गरेर फराकिलो र ग्रेड सुधार गरिएको बेनी–जोमसोम–कोरला सडक योजनाले जनाएको छ ।

तल बग्ने कालीगण्डकीले बनाएको खोँच र विस्फोटक पदार्थको प्रयोग गरी भित्ता काटेर सडक फराकिलो बनाउँदा पहाड थर्किएर कमजोर भई थप पहिरो खस्ने जोखिम देखिएपछि 'रक एङ्करिङ' गरिएको आयोजनाका इन्जिनियर विष्णु चापागाईंले बताउनुभयो ।

'रक एङ्करिङ' गर्नुपर्ने ठाउँको ३ दशमलव ५ मिटर फराकिलो सडकमा अहिले एकतर्फी मात्र गाडी चल्ने गर्छन् । यसलाई दुईतर्फी गाडी चल्ने बनाउन ७ देखि ८ मिटर फराकिलो बनाइएको हो । नाली, खोल्सा र सडकको पानी व्यवस्थापन गर्न ह्युम पाइपबाट बगाउने संरचना बनाइएको छ ।

बेनी–जोमसोम–कोरला सडकको तातोपानी–घाँसा खण्डको निर्माण कम्पनी शर्मा–गजुरमुखीका आयोजना व्यवस्थापक नरेन्द्र न्यौपानेले रक एङ्करिङको काम अन्तिम चरणमा पुगेको र सडकलाई ढलान गर्ने तयारी भएको बताउनुभयो ।

म्याग्दी र मुस्ताङको सिमानामा रहेको २ किलोमिटर दुरीको काभ्रेभीर, बादरजुङभीर र घोप्टेभीर क्षेत्र बेनी–जोमसोम–कोरला सडकको सबैभन्दा जोखिमयुक्त मानिन्छ । चीन र भारत जोड्ने सबैभन्दा छोटो दुरीको राष्ट्रिय गौरवको कालीगण्डकी करिडोरअन्तर्गत म्याग्दीको काभ्रेभीरदेखि मुस्ताङको घाँसासम्म अक्करे पहाड छिचोलेर मार्ग खोलिएको सडकमा ढुङ्गाको पहिरो खस्ने र कालीगण्डकीले कटान गर्ने समस्या छ ।

अन्तिम अपडेट: पुस ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया