महाअभियोग प्रस्ताव पारित भएसँगै दक्षिण कोरियाली राष्ट्रपति यून निलम्बन

 मंसिर २९, २०८१ शनिबार १६:४३:५१ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

दक्षिण कोरियाली संसद्ले राष्ट्रपति यून सुक येओलविरुद्धको महाभियोग प्रस्ताव पारित गरेको छ । आज भएको मतदानमा दुई सय चार सांसदले राष्ट्रपति यूनविरुद्धको महाभियोग प्रस्तावको पक्षमा मत दिएका बीबीसीले जनाएको छ । ८४ सांसदले भने महाभियोगको विपक्षमा मतदान गरे । आठ मत बदर भएको छ भने तीन जना सांसद तटस्थ बसेका छन् ।

महाभियोग प्रस्ताव पारित भएसँगै राष्ट्रपति यून पदबाट स्वतः निलम्बित भएका छन् । संसद्बाट महाभियोग प्रस्ताव पारित भएसँगै यूनले अब संवैधानिक अदालतमा मुद्दाको सामना गर्नुपर्नेछ । दक्षिण कोरियाको संवैधानिक अदालतलाई उनको राजनीतिक भविष्यबारे निर्णय गर्न एक सय ८० दिनको समय हुनेछ । त्यसले उनलाई पदबाट हटाउन पनि सक्छ वा पुनर्बहाली पनि गर्नसक्छ ।

संवैधानिक अदालतको अन्तिम निर्णयसम्मका लागि दक्षिण कोरियाका प्रधानमन्त्री हान डक–सो कार्यवाहक राष्ट्रपति बन्नुभएको छ । उहाँले स्थिर शासन दिन आफूले सकेको गर्ने बताउनुभएको बीबीसीले जनाएको छ । राष्ट्रपति यून सुक येओले १२ दिन अघि मार्सल कानुन लागू गरेका कारण उनीमाथि महाअभियोग लागेको हो । उनको 'मार्सल ल' केही घण्टा मात्रै टिकेको थियो ।

सैन्य शासन घोषणा गर्ने आफ्नो कदमका लागि यूनले क्षमायाचना गरिसकेका छन् । यसअघिको महाभियोग असफल भएपछि आज दोस्रो पटक प्रस्तावमा मतदान हुँदा पारित भएको हो । दक्षिण कोरियाको संसद् भवनबाहिर यो निर्णयप्रति खुसी व्यक्त गर्दै प्रदर्शनहरू भइरहेका छन् ।

राष्ट्रपति यून र उनका सहयोगीहरूमाथि अहिले देशद्रोह गरेको आशंकामा अनुसन्धान भइरहेको छ । यो कसुरमा मृत्युदण्डसम्मको सजाय हुने कानूनी व्यवस्था छ ।      

अन्तिम अपडेट: पुस ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया