आज राष्ट्रिय एकता तथा मेलमिलाप दिवस : कांग्रेस र भ्रातृ सङ्घसंस्थाले विभिन्न कार्यक्रम गरी मनाउँदै

 पुष १६, २०८१ मंगलबार ६:१६:४४ | रासस
unn.prixa.net

काठमाण्डौ – प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपी कोइराला राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिई स्वदेश फर्कनुभएको सम्झनामा आज मेलमिलाप दिवस मनाइँदैछ । दिवसको अवसरमा आज कांग्रेस र उसका भ्रातृ एवम् शुभेच्छुक संस्थाले विभिन्न कार्यक्रम गर्दैछन् ।

२०३३ साल पुस १६ मा नेपाली कांग्रेसका संस्थापक नेतासमेत हरेका बीपी कोइरालाको नेतृत्वमा सर्वोच्च नेता गणेशमान सिंह, नेत्री शैलजा आचार्यलगायत नेता/कार्यकर्ता राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिई झण्डै आठ वर्ष लामो निर्वासित जीवन त्याग गरी स्वदेश फर्कनुभएको थियो ।

भारत निर्वासनमा रहँदा सिक्किम भारतमा विलय भएको घटना नजिकबाट देख्नुभएका कोइरालासहितका नेताले राष्ट्रियता एकता तथा मेलमिलापको नीति लिई स्वदेश फर्कनुभएको हो ।

२०१७ साल पुस १ मा तत्कालीन राजा महेन्द्रको शाही ‘कु’ पछि प्रथम जननिर्वाचित प्रधानमन्त्री कोइरालालाई झण्डै तीन महिना सिंहदरबारमा बन्दी बनाइएको थियो ।

त्यही वर्ष फागुन २६ गते सुन्दरीजल बन्दी गृहमा स्थानान्तरण गरिएको थियो । आठ वर्षपछि २०२५ सालमा उपचारका लागि बीपीलाई रिहा गरिएको थियो । रिहापछि उपचारका लागि भारत पुग्नुभएका कोइरालाले त्यहाँ निरङ्कुश पञ्चायती व्यवस्थाविरुद्ध राजनीतिक क्रियाकलाप शुरू गर्नुभएको थियो ।

त्यसबेला भारतले सिक्किमलाई गाभेको, भारतबाट पाकिस्तान अलग्गिएको र एशियाका अन्य देशमा पनि विखण्डन शुरू भएको देखेर राष्ट्रियता कमजोर हुन नदिन राष्ट्रिय मेलमिलाप तथा एकताको नीति लिइ ४९ वर्षअघि आजैका दिन उहाँलगायत नेता नेपाल फर्कनुभएको हो ।  तर त्रिभुवन विमानस्थलमा ओर्लिनेबित्तिकै कोइराला, नेता गणेशमान सिंहलगायतलाई फेरि सुन्दरीजलमा लगेर बन्दी बनाइएको थियो ।

२०३४ साल जेठ २७ गते मिति खाली राखी उपचारपछि फिर्ता भई कारागारमा फर्कने गरी बीपी कोइरालालाई रिहा गरिएको थियो ।

यसपछि एक पटक सुन्दरीजल बन्दी गृह फर्काइ प्रहरी तालिम केन्द्र महाराजगञ्जमा उहाँलाई बन्दी बनाइएको थियो । चौबिस रोपनी क्षेत्रफलको बन्दीगृहलाई २०६१ भदौ २४ गते बीपी सङ्ग्रहालयमा परिणत गरिएको छ ।

सुन्दरीजलको बन्दीगृहमा बसेका बेला कोइरालाले ‘श्वेतभैरवी’ कथासङ्ग्रह, ‘सुम्निमा’, ‘बाबुआमा र छोरा’, ‘तीन घुम्ती’, ‘मोदिआइन’ र ‘हिटलर र यहुदी’ उपन्यास, ‘आफ्नो कथा’ (आत्मजीवनी) र जेल बस्दाको दैनिकी (पछि ‘जेल जर्नल’शीर्षकमा प्रकाशित) लेख्नुभएको थियो ।

बन्दीगृहमा बस्नुअघि २००८ सालमा उहाँको ‘दोषी चस्मा’ कथा सङ्ग्रह प्रकाशन भएको थियो । कोइराला नेपाली आख्यानमा यौन मनोवैज्ञानिक धाराको प्रवर्तकका रूपमा चिनिनुहुन्छ ।

२०३३ पुस १६ गतेको मेलमिलाप नीति लिई फर्केपछि फेरि सुन्दरीजल बन्दी गृहमा बन्दी बनाएपछि लेखिएको दैनिकी पनि ‘फेरि सुन्दरीजल’ नामबाट प्रकाशित भएको थियो ।

अन्तिम अपडेट: पुस १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया