एमसीसीले झन्डै ७ अर्ब रुपैयाँ अनुदान थप्ने
पुस १९, २०८१ शुक्रबार
काठमाण्डाै – इस्वी संवत्काे नयाँ वर्ष २०२५ आज मध्यरातदेखि शुरुआत हुँदैछ । सन् २०२४ को बिदाइ र नयाँ वर्षको स्वागत गर्न विश्वभर कार्यक्रम भइरहेका छन् । बित्न लागेको वर्ष सन् २०२४ मा मुख्यगरी विश्वमा के–कस्ता घटना–परिघटना भए त ?
सन् २०२४ सकिनै लाग्दा भएका केही दुःखद घटना
वर्ष सन् २०२४ को अन्तिम हप्तामा मुख्य तीन वटा दुःखद घटना भएका छन् । गएको बिहीवार भारतका पूर्वप्रधानमन्त्री मनमोहन सिंहको ९२ वर्षको उमेरमा निधन भयो । उहाँको निधनमा त्यहाँको सरकारले सात दिनको राजकीय शोक मनाउने घोषणा गरेअनुसार नयाँ वर्षको पहिलो दिन भोलिसम्म भारतमा राष्ट्रिय शोक छ । सिंह भारतको शीर्ष पदमा पुग्ने पहिलो शिखसमेत हुनुहुन्थ्यो । सन् २००४ देखि २०१४ सम्म प्रधानमन्त्रीको कार्यभार सम्हाल्नुभएका उहाँलाई आर्थिक उदारीकरणका शिल्पकार मानिन्थ्यो ।
सिंहको निधन भएको तीन दिनपछि अमेरिकाका पूर्व .राष्ट्रपति जिमी कार्टरको अस्ति आइतवार निधन भयो । कार्टर अमेरिकी इतिहासमा सबैभन्दा लामो समय बाँच्ने पूर्वराष्ट्रपति हुनुहुन्थ्यो । उहाँ सन् १९७७ देखि १९८१ सम्म अमेरिकाको ३९औं राष्ट्रपति बन्नुभएको थियो । नेपालप्रेमी कार्टरले सन् २००२ मा नोबेल शान्ति पुरस्कार प्राप्त गर्नुभएको थियो । नेपालमा शान्ति स्थापना कायम गर्न जिमी कार्टरको महत्त्वपूर्ण भूमिका रहेको छ ।
यस्तै अस्ति आइतवार दक्षिण कोरियामा विमान दुर्घटना हुँदा विमानमा रहेका एक सय ८१ मध्ये एक सय ७९ जनाको ज्यान गयो । जेजु एअरको विमान थाइल्यान्ण्डको बैंककबाट फर्किएको थियो र अवतरण गर्ने क्रममा मुआन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटना भएको हो । यो दुर्घटनामा दुई जनाको भने जीवितै उद्धार गरिएको थियो ।
डिसेम्बरमै अजरबैजानको जहाज काजकिस्तानमा दुर्घटना हुँदा ३८ जनाको ज्यान गयो भने २९ जना बाँच्न सफल भए । रुसले यो जहाज भुलवश खसालेको भन्दै आलोचना भएपछि राष्ट्रपति भ्लादिमिर पुटिनले माफी माग्नुभएको छ ।
सन् २०२४ मा धेरै ठाउँमा द्वन्द्व, हत्या, हिंसाका घटना
यो वर्ष मध्यपूर्व द्वन्द्व निकै चर्चाको विषय रह्यो । इजरायलले गाजामा आफ्नो युद्ध जारी राख्यो । इजरायलको आक्रमणबाट ज्यान गुमाउने प्यालेस्टिनीहरूको सङ्ख्या ४५ हजार जना नाघेको छ । इजरायलले लेबनान र यमनमा पनि आक्रमण गरेर हजारौंको ज्यान लिएको छ । इजरायलले हमासका नेता र अक्टोबर ७ तारिखमा मुख्य योजनाकार याह्या सिनवार, हमासका कमान्डर इस्माइल हानिया, हिजबुल्लाहका कमान्डर हसन नसरुल्लाहलगायतको हत्यासहित धेरै रणनीतिक विजय प्राप्त गर्याे । यद्यपि द्वन्द्वको निकास निस्किसकेको छैन । इजरायल र इरानबीचको मिसाइल हानाहानले तेस्रो विश्वयुद्ध हुने डर पैदा गरेको थियो ।
त्यसैगरी सिरियामा २४ वर्षदेखि सत्तामा रहेका बशर अल–असदको सरकार अपदस्थ भयो । इस्लामवादी विद्रोही समूहले नोभेम्बर २७ तारिखमा शुरू गरेको आक्रमणपछि राष्ट्रपति बशर अल–असद देशबाट भाग्न बाध्य हुनुभयो ।
यो वर्ष पनि रुस–युक्रेनबीचको लडाइँले मानवीय तथा भौतिक क्षति पुर्याएको छ । सन् २०२२ फेब्रुअरी २४ तारिखदेखि रुसले युक्रेनको भूमि कब्जा गर्दै आएकोमा यो वर्ष भने संसारका धेरैलाई चकित तुल्याउनेगरी युक्रेनले पनि रुसी भूमि कुर्स्क कब्जा गर्याे । तर यो वर्ष रुसले युक्रेनका एक सय ९० वटाभन्दा धेरै गाउँ कब्जा गरेकाले युक्रेनको कब्जालाई सफलता मान्न नसकिने विश्लेषण हुँदै आएको छ । यही नोभेम्बरमा युक्रेनले अमेरिका र बेलायतको स्वीकृति पाएपछि पहिलो पटक रुसी भू–भागमा पश्चिमाले दिएको लामो दूरीको क्षेप्यास्त्र प्रयोग गरेको थियो । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनलाई हतियार उपलब्ध गराउने देशहरूमा आक्रमण गर्ने चेतावनीसमेत दिनुभएको छ ।
केही समय रोकिएको सुडान युद्ध यो वर्ष पनि चलिरह्यो । द्वन्द्वले अरू क्षतिसँगै एक करोड १० लाख जना मानिसलाई विस्थापित गरेको छ ।
डोनाल्ड ट्रम्पको पुनरागमनदेखि अरू राजनीतिक घटना
सन् २०२४ मा विश्वका ८० वटा देशमा चुनाव भए । यसमा विश्वका शक्तिशाली र ठूला देश पनि थिए । अमेरिकी राष्ट्रपतिका लागि यस वर्ष भएको चुनावमा डोनाल्ड ट्रम्पको पुनरागमन भएको छ । राष्ट्रपतीय चुनावमा जो बाइडेन पछि हटेपछि उम्मेदवारी दिनुभएकी डेमोक्रेट कमला ह्यारिसलाई ट्रम्पले पराजित गर्नुभयो । विभिन्न अभियोग र आपराधिक सजायको सामना गर्ने ७८ वर्षीय ट्रम्पमाथि दुई असफल हत्या प्रयास पनि भएका थिए । ट्रम्प अबको केही दिनपछि अर्थात् सन् २०२५ को जनवरी २० तारिखमा ह्वाइट हाउस फर्कनुहुनेछ ।
यस्तै भारतमा भएको चुनावबाट प्रधानमन्त्री नरेन्द्र मोदीले तेस्रो कार्यकाल शुरू गर्नुभयो । सरकार बनाउन मोदीको भारतीय जनता पार्टी (भाजपा) अन्य साना दलसँगको गठबन्धनमा निर्भर रहनुपर्याे ।
बङ्गलादेशमा सरकारी जागिरमा कोटाको व्यवस्थालाई लिएर महिनौंदेखि चलेको विद्यार्थी आन्दोलनले प्रधानमन्त्री शेख हसिनाले देश छोड्नुपर्यो । बङ्गलादेशमा नोबेल पुरस्कार विजेता अर्थशास्त्री मोहम्मद युनुसको कामचलाउ सरकार गठन भयो ।
बेलायतमा लेबर पार्टीका कर स्टार्मरले कन्जर्भेटिभ दललाई सत्ताबाट बाहिर पुर्याएको अवस्था छ ।
यस्तै डिसेम्बरमा भएको अविश्वासको मतदानमा हार बेहोरेपछि फ्रान्समा माइकल बार्नियरको सरकार ढल्यो ।
सेप्टेम्बरमा भएको चुनावले जर्मनीको सत्तारूढ गठबन्धनलाई सरकारबाट बाहिर पुर्यायो ।
श्रीलङ्कामा वाम दलहरूले दुई तिहाइ बहुमत ल्याए । कम्युनिस्ट नेता अनुराकुमारा दिशानायके राष्ट्रपति बन्नुभएको छ ।
आज सकिँदै गरेको वर्ष २०२४ मा दक्षिण कोरियाको राजनीतिमा पनि निकै उचारचढाव आयो । राष्ट्रपति यून सुक योलले एकाएक सैन्य कानून लागू गर्नुभयो । तर उहाँको यो कदम ६ घन्टा पनि टिकेन । आजमात्रै दक्षिण कोरियाका निलम्बित राष्ट्रपति योलविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । अन्तर्राष्ट्रिय समाचार संस्था अलजजिराका अनुसार दक्षिण कोरियामा राष्ट्रपतिविरुद्ध पक्राउ पुर्जी जारी भएको यो पहिलो घटना हो ।
विपद्का घटना र क्षति
सन् २०२४ लाई सम्झिँदा प्राकृतिक विपद्का घटना र क्षति पनि भएका छन् । वर्षको शुुरुआत नै प्राकृतिक विपद्बाट भयो । नयाँ वर्षको पहिलो दिनमा जापानको नोतो प्रायद्वीपमा विनाशकारी भूकम्प गयो । यस भूकम्पमा परेर दुई सय ५० जनाको ज्यान गएको थियो ।
विषम मौसमी अवस्थाको कहर विश्वभर नै देखा परिरह्यो । मार्च र अप्रिलमा अचानक आएको बाढी र बेमौसमी वर्षाका कारण अफगानिस्तान र पाकिस्तानमा एक हजार जनाभन्दा धेरैको ज्यान गयो । ब्राजिल, इन्डोनेसिया, स्पेन र केन्यामा विनाशकारी बाढी आयो । पपुवा न्युगिनीमा गएको पहिरोमा परेर ६ सय जनाभन्दा धेरैले ज्यान गुमाए ।
त्यस्तै सन् २०२४ अहिलेसम्मको रेकर्डमा सबैभन्दा तातो वर्ष भएको छ । सन् २०२४ मा पहिलो पटक औसत विश्वव्यापी तापमान पूर्व–औद्योगिक समयको तुलनामा एक दशमलव पाँच डिग्री सेल्सियस बढी थियो ।
स्पेनमा आएको बाढीमा दुई सय ५० जनाभन्दा धेरैको ज्यान गयो ।
सन् २०२४ को पहिलो १० महिनामा अमेरिकामा मौसमसम्बन्धी आएका २४ वटा प्राकृतिक प्रकोपले कम्तीमा एक अर्ब डलरको क्षति पुर्याएको थियो । रेकर्ड खडेरीले उत्तरी दक्षिण अमेरिकालाई तहसनहस पारेको छ ।
सेप्टेम्बरमा हेलेन नामको आँधीले दक्षिण–पूर्वी अमेरिकामा प्रहार गर्याे । हालै सम्पन्न जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन कोप–२९ ले विकासशील देशहरूलाई उत्सर्जन कटौती र जलवायु अनुकूलनका लागि आर्थिक सहयोग गर्नमा केही प्रगति गरेको अवस्था छ ।
खेलकुद क्षेत्र
ग्रीष्मकालीन ओलम्पिक यसै वर्ष फ्रान्सले सफलतापूर्वक सम्पन्न गर्याे । यसपटक पनि अमेरिका र चीनबीच सर्वाधिक स्वर्ण जित्ने होडबाजी चल्यो । त्यस्तै अमेरिकाले वेस्ट इन्डिजसँग मिलेर पहिलो पटक आईसीसी टी–२० विश्वकप आयोजना गर्याे । नेपालले १० वर्षपछि विश्वकप खेल्यो । यो विश्वकपको उपाधि भारतले उचाल्यो । एकै वर्ष युरो तथा कोपा अमेरिका फुटबल प्रतियोगिता आयोजना भयो । स्पेनले युरो कपको र अर्जेन्टिनाले कोपा अमेरिकाको उपाधि जित्यो । टेनिसका राफेल नाडालले यसै वर्ष सन्न्यास लिएका छन् । यस्तै बक्सिङका पूर्वहेभिवेट च्याम्पियन माइक टाइसन १९ वर्षपछि रिङमा फर्किनुले पनि यो वर्ष अन्तर्राष्ट्रिय खेलकुदमा चर्चा कमायो ।
अन्तरिक्ष अन्वेषणका लागि सन् २०२४ निकै महत्त्वपूर्ण
अन्तरिक्ष अन्वेषणका लागि सन् २०२४ निकै महत्त्वपूर्ण रह्यो । जनवरीमा चन्द्रमाको क्रेटरमा जापानी यान स्लिम अवतरण भयो अनि तीन महिनासम्म यसले त्यहाँ सङ्कलन गरेको तथ्यलाई पृथ्वीमा पठाइरह्यो । चीनले अहिलेसम्म कोही पुग्न नसकेको चन्द्रमाको हिस्साबाट माटोको नमूना सफलतापूर्वक ल्यायो ।
चन्द्रमाको दक्षिणी ध्रुवमा चन्द्रयान विक्रम ल्यान्डरको सफल अवतरण गराएर भारत पनि चन्द्रमामा पुग्ने चौथो देश बन्यो । गएको जुनमा ८ दिनका लागि मात्रै भनेर अन्तर्राष्ट्रिय स्पेस स्टेशनमा गएका दुई जना अमेरिकी अन्तरिक्षयात्री त्यहीँ अलपत्र परेका छन् । सन् २०२५ को फेब्रुअरीमा अमेरिकी खर्बपति व्यापारी एलन मस्कको अन्तरिक्ष अन्वेषण कम्पनी स्पेसएक्सको यानमा बसेर पृथ्वीमा फर्किने भनिए पनि यो निश्चित भइसकेको छैन ।
यस्तै यो वर्ष नासाको अन्तरिक्षयानले सूर्यको सबैभन्दा नजिक पुगेर इतिहास रचेको छ । पार्कर सोलार प्रोब नामको नासाको अन्तरिक्षयान एक हजार सात सय डिग्री फरेनहाइट अर्थात् नौ सय ३० डिग्री सेल्सियसभन्दा बढीको तापक्रमको सामना गर्दै सूर्यको सबैभन्दा नजिक पुगेको हो ।
एजेन्सीकाे सहयाेगमा
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।