आज राति अत्यधिक उल्का वर्षा हुँदै
पुस १९, २०८१ शुक्रबार
दैलेखमा पेट्रोलियम पदार्थ अन्वेषणको काम अन्तिम चरणमा पुगेको छ । दैलेखको भैरवी गाउँपालिका–१ जलजले क्षेत्रमा गएको वैशाख २८ गतेदेखि पेट्रोलियम पदार्थ र प्राकृतिक ग्यास अन्वेषणका लागि कुवा खन्ने अर्थात् ‘ड्रिलिङ’ प्रारम्भ भएको थियो । चीन सरकारको दुई अर्ब ५० करोड रुपैयाँ अनुदानमा यो परियोजना कार्यान्वयनमा छ । खानी तथा भूगर्भ विभागका अनुसार तीन हजार नौ सय ५१ मिटर ड्रिलिङ सम्पन्न भएको छ । अब ४९ मिटर हाराहारी मात्र खन्न बाँकी छ । आउँदो हप्ताभित्रै ड्रिलिङ को काम सक्ने विभागले जनाएको छ । यसअघि पनि सरकारले मोरङमा कुवा खनेको थियो तर त्यहाँ कुनै पनि पेट्रोलियम पदार्थ नरहेको पाइएको थियो । अहिले भने दैलेखमा केही आशाका संकेत दिएका छन् । यसै विषयमा अर्जुन पोख्रेलले खानी तथा भूगर्भ विभागको पेट्रोलियम अन्वेषण परियोजनाका वरिष्ठ भूगर्भविद् डाक्टर गणेशनाथ त्रिपाठीसँग गरेको संक्षिप्त कुराकानी –
दैलेखमा पेट्रोलियम पदार्थ अन्वेषणका लागि काम भइरहेको छ, अहिलेसम्मको ड्रिलिङबाट के कस्ता कुराहरू पत्ता लागेका छन् ?
चीन सरकारको आर्थिक र प्राविधिक सहयोगमा गएको वैशाख २८ गतेदेखि पेट्रोलियम पदार्थ र प्राकृतिक ग्यास अन्वेषणका लागि ड्रिलिङको काम शुरू भएको थियो । खन्नुपर्ने कुल चार हजार मिटरमध्ये अहिलेसम्म तीन हजार नौ सय ५१ मिटरको काम सकिएको छ । अब जम्मा ४९ मिटरमात्रै खन्न बाँकी रहेको छ ।
अहिलेसम्मको ड्रिलिङले चाहिँ प्राकृतिक ग्यास हुनसक्ने सम्भावनालाई पुष्टि गरेको छ । प्राकृतिक ग्यास भएका स्पष्ट संकेत देखा परेपछि हामी उत्साहित छौँ । अब चाँडै नै ड्रिलिङको काम सकिएपछि थप नतिजा प्राप्त हुनेछन् ।
ड्रिलिङको क्रम चलिरहँदा त्यहाँ थोरै मात्रै परिमाण छ, या धेरै नै छ भन्ने केही संकेतहरू देखिएका छन् ?
अहिले चिनियाँ पक्षले गरिरहेको ड्रिलिङ अन्वेषणात्मक हो । यसको उद्देश्य नै पेट्रोलियम पदार्थ भए/नभएको अन्वेषण गर्नु हो । विगतमा हामी त्यहाँ पेट्रोलियम पदार्थ छ कि छैन भन्नेमा धेरै नै दोधारमा थियौँ । आगोको ज्वाला बले पनि पुष्टि गर्ने थप आधार थिएनन् । त्यसैले अहिले भइरहेको ड्रिलिङले भरपर्दो अन्वेषण गरिरहेको छ । यसको मुख्य उद्देश्य भनेको चाहिँ विगतमा भएको अध्ययनले देखाएको सम्भावनालाई पुष्टि गर्नु हो । पेट्रोलियम पदार्थ छ अथवा छैन भनेर पुष्टि गर्नु यसको मुख्य काम हो । तर कति र कस्तो अवस्थामा पेट्रोलियम पदार्थ रहेको छ भन्ने यो अन्वेषणको काम होइन । कति परिमाणमा छ भन्ने विषय पत्ता लगाउनका लागि अर्को अध्ययन गर्नुपर्छ । त्यो काम अहिलेको ड्रिलिङ सकिएपछि गर्नुपर्ने हुन्छ ।
अहिलेलाई हामी उत्साहित हुनुपर्छ । किनकि त्यहाँ प्राकृतिक ग्यास हुनसक्ने सम्भावनालाई यसले थप बल प्रदान गरेको छ । विभिन्न तहहरूमा प्राकृतिक ग्यास रहेको भन्ने देखियो । ड्रिलिङका विभिन्न मेशिनहरूमा ग्यास भएको कुरा प्रष्टै देखिएको छ । 'इकुपमेन्टहरूमा डिटेक्ट' भएको हुनाले प्राकृतिक ग्यासको भण्डार हुनसक्छ भन्ने यसले संकेत गरेको छ ।
त्यहाँ पेट्रोल र डिजेलको सम्भावना बढी देखिएको छ कि ग्यासको सम्भावना बढी देखिएको छ ?
हामीले ड्रिलिङको थालनी गर्दा पेट्रोल पनि हुने शंका धेरै थियो । खन्दै जाँदा त्यहाँ पेट्रोल वा डिजल (जसलाई हामी कच्चा तेल पनि भन्छौँ) भएको खासै संकेत भेटिएका छैनन् । प्राकृतिक ग्यास भएको सम्भावना धेरै देखिएको छ । दैलेखमा कच्चा तेल होइन, ग्यास चाहिँ छ भन्ने अवस्था ड्रिलिङले देखाएको छ ।
यो सम्झौताअनुसार जम्मा चार हजार मिटर गहिरो उत्खनन हुने हो । अब ४९ मिटरमात्रै खन्न बाँकी छ । अहिलेसम्म नभेटिएको कच्चा तेल अब भेटिन्छ भन्ने लाग्दैन । आउने हप्ताभित्रमा ड्रिलिङको काम सम्पन्न हुन्छ ।
प्राकृतिक ग्यास रहेका प्रशस्तै संकेत देखिए भन्नुभयो, व्यावसायिक रूपमा उत्पादन गर्न सम्भव छ कि छैन भनेर कहिलेसम्म पत्ता लाग्ला ?
अहिले चीन सरकारले गरिरहेको कामले व्यावसायिक रूपमा उत्खनन सम्भव छ कि छैन भनेर हेर्दैन । अहिलेको अध्ययनको मुख्य लक्ष्य नै दैलेखमा पेट्रोलियम पदार्थ छ कि छैन भनेर पत्ता लगाउनु मात्रै हो । अहिलेको ड्रिलिङले व्यापारिक महत्त्वका बारेमा विश्लेषण वा अध्ययन गर्ने कुरालाई समेटेको छैन । भण्डार छ या छैन भन्ने पुष्टिसम्मको विषय चाहिँ यो सम्झौताअन्तर्गतको अध्ययनले दिन्छ ।
भण्डार रहेको भन्ने कुरा पुष्टि भएपछि अर्को चरणमा कुन पदार्थ कति मात्रामा भण्डार रहेको हो, त्यो भण्डार व्यापारिक महत्त्वको छ कि छैन, त्यसको उपयोगिता के कति हुन्छ लगायतका विषयमा अध्ययन र अनुसन्धान हुन्छ । यहाँको उत्खनन व्यापारिक हिसाबले कत्तिको उपयोगी हुन्छ भन्ने कुरा पनि अर्को चरणको अध्ययन/अनुसन्धानपछि मात्रै थाहा हुनेछ ।
अर्को चरणमा पनि अहिले जस्तै मेहनत, अहिले जत्तिकै उपकरण र यति नै समय लाग्ला कि योभन्दा केही कम हुन्छ ?
अहिले भइरहेको ड्रिलिङ र अध्ययन हाम्रा लागि निकै महत्त्वपूर्ण छन् । एक किसिमले यसले विभिन्न आधार तयार पारिसकेको छ । अर्को चरणमा पनि धेरै परीक्षणहरू अहिले खनिएकै कुवामा हुन्छन् । त्यस कारणले गर्दा यत्तिको जटिल हुँदैन । आउँदा दिनमा गर्ने कार्यहरूको लागि चाहिँ अहिलेसम्मको अनुभवले पनि निकै सहज नै हुन्छ । अहिलेको जस्तो जटिल हुँदैन भनेर विश्वास गर्न सकिन्छ ।
हामी आशै आशामा छौँ, व्यावसायिक रूपमा उत्खनन गर्न मिल्ने जति परिमाण फेला पर्यो भने के कस्ता पूर्वाधार र के कति लगानी चाहिएला ? हाम्रो स्रोत साधनले भ्याउने अवस्था होला कि नहोला ?
अहिले हाम्रा लागि त्यहाँ ग्यासको भण्डार रहेको प्रष्ट संकेत देखिनु नै सकारात्मक पक्ष हो । अब चिनियाँ पक्षले ड्रिलिङको काम सकेर हामीलाई रिपोर्ट दिन्छ । त्यसपछि हामीले अर्को चरणमा त्यहाँ कति मात्रामा ग्यास छ भनेर अध्ययन÷अनुसन्धान गर्नुपर्छ । यदि व्यावसायिक रूपमा पनि सफल हुनेखालको भण्डारण रहेको पुष्टि भएमा बल्ल उत्खननको काम हुने हो । यो काम सरकारले गर्दैन । संसारभर नै पेट्रोलियम पदार्थको उत्खनन निजी क्षेत्रबाट हुँदै आएको छ । यदि दैलेखमा पनि ठूलो मात्रामा ग्यास रहेको पाइएमा अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरेर उत्खनन गर्न सकिन्छ । यहाँको व्यावसायिक सम्भावना हेरेर विदेशी कम्पनीले लगानी गर्छन् ।
हामीले त्यसका लागि पेट्रोलियम पदार्थको उत्खनन र व्यापारबारे ऐन र नियमावली बनाइसकेका छौँ । त्यसमा चाहिँ पेट्रोलियमको अन्वेषण र उत्पादन अनि व्यापारसम्मका विषय समावेश छन् ।
अहिले भइरहेको ड्रिलिङ पेट्रोलियम अनुसन्धानको इतिहासमा नेपाल एक कदम अगाडि बढेको अवस्था चाहिँ पक्कै हो । झन्डै ३५ वर्ष अगाडि यस्तै खालको ड्रिलिङ मोरङमा भएको थियो । तर त्यहाँ चाहिँ कुनै पेट्रोलियम पदार्थ फेला नपरेको भनेर निष्कर्षसहित त्यो कुवा बन्द गरिएको थियो ।
खानी तथा भूगर्भ विभागको पेट्रोलियम परियोजना प्रमुख पदलाई एकैछिन बिर्सनुहोस् । मानौँ, तपाईं त्यहाँ एक स्वतन्त्र विज्ञका रूपमा खटिनुभएको छ । यस्तो अवस्थामा त्यहाँ भइरहेको काम हेर्दा नेपालमा अब ग्यास उत्पादन हुन्छ भन्ने लाग्छ ? सरकारी कर्मचारीको चश्मा हटाएर स्वतन्त्र विज्ञका रूपमा भन्नुप¥यो भने हामी आमनेपाली दैलेखमा भइरहेको अन्वेषणको कामबाट उत्साहित हुने ठाउँ छ ?
म सरकारी पदमा बसेर निराशाका कुरा गर्न सुहाउँदैन । तर मैले एकैछिन आफूलाई स्वतन्त्र विज्ञका रूपमा राखेर हेर्दा पनि दैलेखमा भइरहेको अन्वेषणले धेरै नै आशा र सम्भावना देखाएको छ । किनकि त्यहाँ प्राकृतिक ग्यास भएका संकेतहरू देखिएका छन् । अब आउँदा दिनमा हामीले पेट्रोलियमको क्षेत्रमा लगानीको आह्वान गर्दाखेरि त्यसमा लगानीकर्ताहरू आकर्षित हुने सम्भावना चाहिँ यसले पक्कै पनि बढाएको छ ।
तपाईंले भनेजस्तै म तटस्थ भएर सोच्दा पनि आशावादी हुने ठाउँ प्रशस्तै देख्छु । किनकि हामीले यसअघि मोरङमा अन्वेषणको काम गर्दा ‘हात लाग्यो शून्य’ भएको थियो । अहिले त कमसेकम ग्यास भएका थुप्रै संकेत र प्रमाण भेटिएका छन् ।
अन्तिममा एउटा प्रश्न, अब दोस्रो चरणको अध्ययन गरेर दैलेखमा भएको ग्यासको परिमाण पत्ता लगाउनुभयो र प्रशस्तै देखियो भने कहिलेदेखि व्यावसायिक उत्पादन होला ? आधा दशक वा एक दशक कति समय लाग्ला ?
अहिलेको ड्रिलिङले धेरै आधार दिने हुनाले दोस्रो चरणको अध्ययन अनुसन्धानमा धेरै लामो समय नलाग्ला भन्ने हाम्रो अनुमान हो । दोस्रो चरणको अध्ययन गरेपछि धेरै कुरा पत्ता लाग्नेछन् । यदि ठूलै भण्डारण भेटियो भने हामीले एक दशक कुर्न नपर्ला । आधा दशक अर्थात् पाँच वर्षभित्रमा ग्यास उत्खनन हुन सक्छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
उज्यालोमा कार्यरत अर्जुन पोख्रेल आर्थिक विषयमा कलम चलाउनु हुन्छ।