यस वर्ष धान उत्पादन बढ्याे, ५९ लाख ५५ हजार मेट्रिक टन फल्याे

 पुष १९, २०८१ शुक्रबार १७:३०:१८ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – यस वर्ष पोहोरको तुलनामा धानको उत्पादन बढेको छ । आज सार्वजनिक भएको तथ्यांक अनुसार यस वर्ष ५९ लाख ५५ हजार ४ सय ७६ मेट्रिक टन धान उत्पादन भएको हो । यो पोहोरको तुलनामा ४ दशमलव ०४ प्रतिशतले धेरै हो । पोहोर ५७ लाख २४ हजार २ सय ३४ मेट्रिक टन धान फलेको थियो ।

समयमै मनसुन भित्रिँदा रोपाइ गर्न सहज, बेलैमा मलखादको व्यवस्थापन, उन्नत जातको बीउलगायतका कारणले यस वर्ष धानको उत्पादन बढेको हो । कृषि तथा पशुपक्षी विकास मन्त्रालयले धान बालीको उत्पादन अनुमान गरेभन्दा बढी भएको जनाएको छ । मन्त्रालयका प्रवक्ता एवम् सहसचिव डा. मतिना जोशी वैद्यले यस वर्ष धान बाली लगाएको क्षेत्रफलमा सामान्य कमी आउँदा पनि उत्पादकत्वमा वृद्धि भएको जानकारी दिनुभयो ।

बर्खे र चैते दुवै गरी १४ लाख २० हजार ६ सय ३६ हेक्टर क्षेत्रफलमा धान लगाइएको मन्त्रालयको अनुमान छ । यो गएको वर्षको तुलनामा १ दशमलव २८ प्रतिशत कम हो ।

त्यस्तै औसत उत्पादकत्व पनि बढेको मन्त्रालयले जनाएको छ । मन्त्रालयले निकालेको विज्ञप्तिमा औसत उत्पादकत्व ४ दशमलव १९ मेट्रिक टन प्रतिहेक्टरमा पुगी अहिलेसम्मको उच्च विन्दु कायम हुन पुगेको उल्लेख छ । चैते र बर्खे दुवै धानको उत्पादकत्व र उत्पादन बढेको छ ।

तथ्यांक अनुसार यस वर्ष चार वटा प्रदेशमा धानको उत्पादन बढेको छ भने तीन वटा प्रदेशमा घटेको छ । कोशी, मधेश, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा धानको उत्पादन बढेको हो । तर गण्डकी, बाग्मती र कर्णाली प्रदेशमा उत्पादन घटेको छ ।

रुकुम पश्चिममा धान बाली लगाइएको क्षेत्रफलमा कमी आएकाले कर्णालीमा धानको उत्पादन घटेको, नवलपरासी (पूर्व) को केही भागमा बर्खे धानको बाला नलाग्ने समस्या देखिँदा उत्पादनमा केही कमी आएको र लमजुङमा धान बाली लगाएको क्षेत्रफल परिमाण परिमार्जन हुँदा गण्डकीमा उत्पादन कम भएको कृषि मन्त्रालयले जनाएको छ ।

बाग्मतीसहित देशका केही ठाउँमा असोजको १०, ११ र १२ गतेको अविरल वर्षाका कारण धानबालीमा क्षति पुगेको थियो । अविरल वर्षा, कतै कतै रोगकीराको समस्या भए पनि समग्रमा धानको उत्पादन बढेको र यो सुखद रहेको कृषि मन्त्रालयले जनाएको छ ।

अन्तिम अपडेट: पुस २१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया