कांग्रेस बैठक : सर्वसम्मत रुपमा सभापति चयन गर्ने प्रस्ताव पेश

 मंसिर १८, २०७५ मंगलबार १७:३७:२२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – नेपाली कांग्रेस केन्द्रीय कार्य समितिको जारी बैठकमा पार्टी सभापति सर्वसम्मत चयन गर्ने व्यवस्था विधानमै गर्नुपर्ने प्रस्ताव पेश गरिएको छ ।

पार्टीको मंगलबार पनि जारी केन्द्रीय कार्य समितिको बैठकमा विधान संशोधन मस्यौदामाथिको छलफलमा भाग लिँदै केन्द्रीय सदस्य जीवनबहादुर शाहीले पार्टी सभापति सर्वसम्मत चयन हुनुपर्ने व्यवस्था विधाननै गर्नुपर्ने प्रस्ताव अघि सार्नु भएको हो ।

पार्टी भित्रको गुट, उपगुटलाई अन्त्य गरेर पार्टीलाई एक ढिक्का बनाएर लैजाने पनि सभापति सर्वसम्मत चयन हुनुपर्ने उहाँको तर्क छ । त्यसैगरी अर्का केन्द्रीय सदस्य धनराज गुरुङले पार्टीलाई विधिसम्मत ढंगले अघि बढाउने किटानी व्यवस्था विधानमै गर्नुपर्ने आवश्यक्ता औंल्याउनुभयो । पार्टी विधिसम्मत ढंगले अघि नबढेका कारण कांग्रेस कमजोर हुन पुगेको उहाँको भनाई थियो ।

केन्द्रीय सदस्य गुरुङले पार्टीलाई विचार प्रदान गराउन पनि बाध्य बनाउने व्यवस्था विधानमा गर्न उपयुक्त हुने धारणा राख्नुभयो । केन्द्रीय सदस्य उमाकान्त चौधरीले विधानमा पदाधिकारीको संख्या बढाउनुपर्ने माग गर्नुभयो । केन्द्रीय सदस्य बढाउनुपर्ने प्रावधान विधान मस्यौदामा राखिए पनि पदाधिकारी संख्या भने बढाउने प्रस्ताव नगरेकोमा उहाँको असन्तुष्टि छ ।

नेपाली कांग्रेस केन्द्रीय कार्य समितिको जारी बैठकमा पार्टीको विधान मस्यौदामाथिको छलफल जारी छ । पार्टीको आगामी मंसिर २८ गतेदेखि सुरु हुने महासमिति बैठकमा पेश गरिने विधान संशोधन मस्यौदामा केन्द्रित भएर बैठक चलिरहेको हो ।

महामन्त्री पूर्णबहादुर खड्का नेतृत्वको विधान संशोधन मस्यौदा समितिले केन्द्रीय समितिमा पेश गरेको मस्यौदामा वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले असहमति जनाउँदै सभापतिलाई दिइएको अधिकार कटौटी गर्नुपर्ने, पदाधिकारी संख्या बढाउनुपर्नेलगायतका माग राखेको छ ।

बैठकमा असहमतिका पक्षलाई पनि छलफल गरेर सो मस्यौदालाई टुंगो लगाउने तयारी गरिएको छ । बैठकमा राजनीतिक प्रतिवेदन, आर्थिक प्रतिवेदन, सांगठनिक प्रतिवेदनमाथि पनि छलफल गरी आगामी २८ गतेदेखि काठमाडौमा सुरु हुने महासमिति बैठकमा पेश गर्ने कांग्रेसको तयारी छ ।

महासमिति बैठकका लागि आवश्यक राजनीतिक, सांगठनिक र अर्थ नीतिसम्बन्धी प्रस्ताव तयार हुन लागेको र त्यसलाई पनि चालू केन्द्रीय कार्य समिति बैठकबाटै टुंगो लगाउने पनि प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिनुभयो ।
प्रस्तावित विधान मस्यौदामा ‘एक व्यक्ति, एक पद’ को प्रस्ताव गरिएको छ । त्यसैगरी केन्द्रदेखि टोलसम्म ८ वटा संरचना प्रस्ताव गरिएको छ ।
त्यसैगरी केन्द्रीय अनुशासन समिति र लेखा समितिको पनि छुट्टै व्यवस्था गरिएको छ । केन्द्रीय अनुशासन समिति अन्तरगत प्रदेश र जिल्लामा पनि अनुशासन समिति रहने व्यवस्था पनि विधान मस्यौदामा उल्लेख गरिएको छ ।

अन्तिम अपडेट: माघ १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया