हुम्लाको अदानचुली र मुगुको सोरुमा ‘फोरजी’ सेवा पुगेपछि सहज

 फागुन १०, २०८१ शनिबार १२:१:० | रासस
unn.prixa.net

हुम्ला – हुम्लाको अदानचुली गाउँपालिका र मुगुको सोरु गाउँपालिकामा मोबाइल डाटा सेवा ‘फोरजी’ सञ्चालनमा आएपछि सहज भएको छ । सूचना आदान प्रदानसँगै दैनिक काममा भोग्दै आएको अप्ठारो हटेको सेवाग्राहीले बताएका छन् ।

२०७३ पुस १७ गतेदेखि नेपाल टेलिकमले काठमाण्डौ र पोखराबाट फोरजी सेवाको शुरूआत गरेको थियो । तर वषौँदेखि टेलिफोन तथा इन्टरनेटको समस्या झेलिरहेका हुम्ला, मुगुलगायतका जिल्लाका बासिन्दाले समस्या भोग्दै आएका थिए ।

अदानचुली गाउँपालिका–१ कल्खेका अम्मर रावलले मोबाइलमा कुरा गर्न कता अग्लो डाँडा छ भनेर खोज्दै हिड्नुपर्ने अवस्थाबाट अहिले घरमै बसेर आरामले कुरा गर्न सक्ने भएको बताउनुभयो ।

यसअघि वडा कार्यालय र गाउँपालिकाको कार्यालयमा गएर इन्टरनेटसम्बन्धी काम गर्नुपरेकोमा अब घरघरको कुनामै बसेर भिडियोकल नै गर्न पाउदाँ खुशीको सीमा नै नरहेको अदानचुली गाउँपालिका–५ का सिंह बोहराले बताउनुभयो ।

दुर्गम गाउँमा फोरजी सञ्चालनमा आएपछि हुम्लाको दक्षिणी क्षेत्र ताँजाकोट, अदानचुली र सर्केगाड गाउँपालिका तथा मुगुको सोरु गाउँपालिकासहित बाजुरा र मुगु आसपासका सबै गाउँमा ‘फोरजी’ सेवा सञ्चालन भएको नेपाल टेलिकमले जनाएको छ ।

गाउँमै फोरजी सेवासहितको इन्टरनेट र टेलिफोन सञ्चालनमा आएपछि पालिकाबाट गर्नुपर्ने दैनिक काममा समेत सहज भएको अदानचुली गाउँपालिकाका अध्यक्ष मोहनविक्रम सिंहले बताउनुभयो । ‘फोरजी’ सेवा विस्तारले गाउँमा सेवासुविधा तथा मनोरन्जन र सूचना आदान प्रदानको काम सहज भएको छ ।

त्यस्तै अदानचुली च्याममा राखिएको टावर आजदेखि सञ्चालनको तयारी छ । दुई वर्षदेखिको निरन्तर प्रयासमा सेवा सञ्चालनमा ल्याउन सफल भएको अदानचुली गाउँपालिकाका निवर्तमान प्रमुख प्रशासकीय अधिकृत हंस महताराले बताउनुभयो ।

अबदेखि विद्यालय डिजिटल शिक्षा, अनलाइन शिक्षा र स्वास्थ्यमा पनि अनलाइन सेवा शुरू गर्न सकिने अवस्था बनेको जनप्रतिनिधिले बताएका छन् ।   

अन्तिम अपडेट: फागुन १०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया