अमेरिकाले फर्काएका नेपालीसँग प्रहरीको सोधपुछ

पठाउनेविरुद्ध मुद्दा दर्ता गर्न इच्छा देखाएनन्

 फागुन २१, २०८१ बुधबार १५:०:१२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोले अमेरिकाबाट निष्कासनमा परी स्वदेश फर्काइएका नेपालीहरूसँग सोधपुछ गरेको छ ।

अमेरिकी विमानको चार्टर्ड उडानमार्फत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आएलगत्तै अध्यागमनले प्रक्रिया पुर्‍याएर प्रहरीको जिम्मा लगाएको थियो । प्रहरीले मानव बेचबिखन अनुसन्धान ब्युरो लगेर उनीहरूलाई सोधपुछ गरिएको हो ।

ब्युरोका प्रवक्ता एवम् प्रहरी उपरीक्षक नरेन्द्र कुँवरका अनुसार प्रारम्भिक सोधपुछका क्रममा अध्यागमन कानून उल्लङ्घनको आरोपमा उनीहरूलाई फर्काएको पाइएको छ । फर्काइएकाहरूले अमेरिका पठाउनेमाथि मुद्दा दर्ता गर्न भने इच्छा नदेखाएको कुँवरले जानकारी दिनुभयो ।

आज बिहान अमेरिकाले आठ जनालाई चार्टर्ड विमानमार्फत काठमाण्डौ ल्याइदिएको हो । यस्तै एक जना नियमित उडानबाट आएकाले नौ जना सबैलाई प्रहरीको जिम्मा लगाएको विमानस्थल अध्यागमन कार्यालयका प्रमुख तीर्थराज भट्टराईले जानकारी दिनुभयो ।

डोनाल्ड ट्रम्पले राष्ट्रपतिको पदभार सम्हालेको मिति अर्थात् जनवरी २० तारिखयता आज आएका ९ जनासहित ३६ जना नेपाली डिपोर्ट भएका अध्यागन कार्यालयले जनाएको छ । अमेरिकाले आधिकारिक कागजात नभएका नेपालीलाई स्वदेश फर्काएको हो । अमेरिकाको सरकारी तथ्याङ्क अनुसार यसअघि सन् २०१९ देखि २०२४ सम्ममा पनि ३ सय ८९ जना नेपाली देश निकालामा परेका थिए ।

यसअघि राष्ट्रपति जो बाइडनको कार्यकालमा झन्डै पाँच हजार जना नेपाली अवैध रूपमा अमेरिका प्रवेश गरेका बताइएको थियो ।

अन्तिम अपडेट: फागुन २१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया