चार वर्षमा नमुना भक्तपुर बनाउँछु : सांसद एवं पूर्वमन्त्री बस्नेत

 मंसिर २२, २०७५ शनिबार ९:७:५५ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

भक्तपुर – प्रतिनिधिसभाका सदस्य एवं पूर्व उद्योगमन्त्री महेश बस्नेतले आफूले प्रतिनिधिसभामा प्रतिनिधित्व गरेको आफ्नो एकवर्षे कार्यकाल भक्तपुरको विकास र समृद्धिका लागि खर्चेको बताउनु भएको छ । 

प्रतिनिधिसभामा निर्वाचित भएको एक वर्ष पूरा भएको सन्दर्भमा प्रेस विज्ञप्ति जारी गर्दै उहाँले आफ्नो एक वर्षको समय समग्र भक्तपुरको विकास र समृद्धिका लागि अवसर र चुनौतीका रुपमा अगाडि बढेको बताउनुभयो । 

भक्तपुर निर्वाचन क्षेत्र नम्बर २ बाट निर्वाचित जनप्रतिनिधिका रुपमा संघीय संसदमा राष्ट्रिय तथा जिल्लाका विभिन्न जनसरोकारका बिषयबस्तुमा संघीय संसदमार्फत आम नागरिकका प्रतिनिधिमूलक आवाज उठाउँदै र जिम्मेवारी बहन गर्दै आएको बताउँदै सांसद बस्नेतले भन्नुभयो, ‘मैले संघीय संसदसमक्ष सपथ लिएपछि जनप्रतिनिधिका हैसियतले राष्ट्रिय राजनीतिदेखि जिल्लाको समग्र विकास एवं समृद्धिमा क्रियाशील हुँदै आएको सर्वविदितैै छ ।’

‘मेरा हरेक दिन एउटा विकासको थालनी’ भन्ने नारालाई आत्मसाथ गर्दै सांसद बस्नेतले गएको असार २७ गते बाढीबाट भक्तपुर डुबानमा अकल्पनीय क्षतिलाई न्यूनीकरण गर्न उल्लेख्य भूमिका निर्वाह गरेको, ८१ करोडको लागतमा हनुमन्ते करिडोर निर्माणको पहिलो चरणको कार्य थालनी भएको, ढल व्यवस्थापन गर्नेदेखि सयौं सौर्य बत्ती जडान गर्दै उज्यालो भक्तपुरको सपनालाई साकार पार्ने अभियान सुरु गरेको, हनुमन्ते नदी सरसफाइ अभियानले ४० हप्ता पार गर्नु र अरनिको राजमार्गलाई व्यवस्थित र सुरक्षित बनाउने अभियान अन्तर्गत एकमहिने राजमार्ग सरसफाइ अभियान संचालन हुनु आफ्नो उपलब्धि भएको बताउनुभयो ।

आफ्नो एक वर्षे कार्यकालमा मध्यपुर थिमिको गठ्ठाघरमा अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र बनाउने निर्णय हुनु, कोटेश्वर र साँगामा सुरुङमार्ग निर्माण प्रक्रिया अगाडि बढनु, पेप्सीकोला सल्लाघारी २० मिटरको सडक निर्माण, सूर्यविनायकदेखि धूलिखेलसम्मको ६ लेनको सडक लगायत सडक सञ्जाल निर्माण कार्य अगाडि बढ्नु, मनोहरा खोलामा ३ वटा तथा हनुमन्ते नदीमा ५ वटा पूल निर्माण तथा जिल्लामा विभिन्न ९ वटा पूल र ३ वटा झोलुङ्गे पुल, ४ वटा ट्रष्ट ब्रिज बनाउने कार्य अगाडि बढ्नु आफ्नो कार्यकालको उपलब्धि भएको सांसद बस्नेतले बताउनुभयो । 

आफ्नो एक वर्षे कार्यकालमा दर्जनौँ खानेपानी आयोजनामा बजेटको व्यवस्था हुनु, जिल्लामा दीर्घकालिन खानेपानीको व्यवस्थापन गर्न साँगा र मुहान पोखरीमा ठूलो ड्याम निर्माण गर्ने र बालकोटदेखि जगातीसम्म मध्यपुरको खानेपानी व्यवस्थापन गर्न बजेट विनियोजन गर्न आफू सफल भएको उहाँको भनाई छ । 
यसैगरी ठिमीको निलवाराही क्षेत्रलाई पर्यटनको गन्तव्य घोषणा गर्दै बजेट व्यवस्थापन गराउन, नगरकोटदेखि साँगा–नैचाल–घ्याम्पेडाँडा र अनन्तलिङ्गेश्वर क्षेत्रलाई ग्रामीण पर्यटकीय क्षेत्र घोषणा गरी भ्यू टावर, होम स्टे, बञ्जी जम्प, पराग्लाइडिङलगायतको व्यवस्थापन गर्ने कार्यका लागि  प्रक्रिया अगाडि बढाउन आफू सफल भएको बताउनुभयो । 

उहाँले विश्वसम्पदा सूचीमा रहेको भक्तपुर दरबार क्षेत्र, चाँगु नारायण र मध्यपुर ठिमीको बालकुमारी, चपाचो, बोडे, नगदेश र सूर्यविनायकको सम्पदा एवं बस्ती व्यवस्थापन गर्न श्रोत व्यवस्थापन गर्न पहल गरेको बताउदै भूकम्पबाट क्षतिग्रस्त १४ वटा विद्यालय र २२ वटा मठमन्दिर, गुम्बा निर्माण प्रक्रिया आफ्नै पहलमा अगाडि बढेको बताउनुभयो । 

एक वर्षे कार्यकालमा जिल्लामा दुईवटा स्मार्ट सिटीको डिपिआर निर्माण सम्पन्नको चरणमा रहेका, सिपाडोल, नंखेल, ताथली, सुडालमा नयाँ शहर र हनुमन्ते करिडोरको लोकन्थलीदेखि राधेराधेसम्मको क्षेत्रलाई समेटेर नयाँ शहर निर्माण गर्ने योजना अगाडि बढाएको, भक्तपुरमै वीर अस्पताल निर्माण गर्ने डिपिआर प्रक्रिया सकिएको, भक्तपुर स्वास्थ्य विज्ञान प्रतिष्ठान निर्माण गर्ने र सामुदायिक विद्यालयको शिक्षाको गुणस्तर वृद्धि गर्दै निजी क्षेत्रको सहकार्यमा शिक्षामा व्यापक सुधार प्रक्रिया अगाडि बढेको बस्नेतले बताउनुभएको छ । 

चालू आर्थिक वर्षका लागि सांसद विकास कोषको लागि विनियोजित ४ करोड रकम भक्तपुर क्षेत्र नम्बर २ अन्तर्गतका दुईवटा नगरपालिका सूर्यविनायक तथा मध्यपुरको विभिन्न क्षेत्रको भौतिक विकासका निम्ति समानुपातिक रुपमा विनियोजन गरिएको बताउदै उहाँले आगामी चारवर्षमा भक्तपुरको विकासमा आफ्नो समय खर्चँदै विकासको नमूनाको क्षेत्र बनाउने अठोट व्यक्त गर्नुभयो । 
 

अन्तिम अपडेट: माघ १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया