‘मैले जवाफ दिएँ भने बुद्धिजीवी थला पर्छन्’ भन्ने प्रधानमन्त्रीलाई कांग्रेसले जवाफ दिन सक्नुपर्छ : शर्मा

 मंसिर २९, २०७५ शनिबार १५:३१:१४ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाडौं – नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं प्रवक्ता विश्वप्रकाश शर्माले महासमिति बैठकबाट एकतासहितको देश बनाउने सपना साकार पार्ने प्रतिवद्धता आउनु जरुरी रहेको बताउनुभएको छ । 

शनिबारदेखि राजधानी काठमाडौंमा सुरु महासमिति बैठकको उद्घाटन सत्रलाई सम्बोधन गर्दे प्रवक्ता शर्माले महासमिति बैठकले जनअपेक्षालाई सम्बोधन हुने गरी एकताको सन्देशसहितको देश बनाउने प्रतिवद्धताको सन्देश दिन सक्नुपर्ने बताउनुभएको हो । महासमितिले दिने सन्देशबारे देशभर चासो भएको भन्दै उहाँले सबै क्षेत्र, वर्ग र सरोकारलाई सम्बोधन गर्न सक्नुपर्ने उल्लेख गर्नुभयो ।

उहाँले महासमितिको बैठकबाट देश बनाउने सपना साकार पार्न सक्छौँ भन्ने प्रतिवद्धतासहित १५ वर्षभित्र लगातार तीन वटा निर्वाचन जितेर देशलाई सम्वृद्ध बनाउँछौँ भनी संकल्प गर्नुपर्ने आवश्यकता रहेको औँल्याउनुभयो ।

पुराना कार्यकर्ता, माओवादीबाट मारिएका परिवार, वैदेशिक रोजगारीमा रहेका कांग्रेसका शुभचिन्तक, सरकारको व्यवहारबाट असन्तुष्ट सत्तारुढ दलकै कार्यकर्ता ,मधेसी, जनजातिलगायत सबैलाई आशा पलाउने गरी महासमिति बैठकले सन्देश दिनुपर्नेमा उहाँले जोड दिनुभयो ।

सपनाको स्वर्ग नै भेटिन्छ भनेर कम्युनिष्ट पार्टीलाई मत दिएका हजारौँ नेपालीले सरकार पनि भेटिएन भनी प्रतिक्षा गरिरहेका र न्यायको पर्खाईमा बसेका नेपाली चेलीहरुका लागि कांग्रेसले महासमिति बैठकमार्फत सकारात्मक सन्देश दिन सक्नुपर्ने तर्क उहाँको थियो ।

उहाँले ‘मैले जवाफ दिएँ भने बुद्धिजीवी थला पर्छन् भन्ने प्रधानमन्त्रीलाई’ जवाफ दिन सक्ने सन्देश महासमितिले दिनुपर्नेमा पनि उहाँले जोड दिनुभयो ।

उहाँले नेपाली कांग्रेसले कार्ल मार्क्सले छोडेर गएको दर्शन नभई जननेता बीपीले छोडेर गएको लोकतान्त्रिक समाजवादमा विश्वास गर्ने र त्यही विश्वासको माध्यमबाट देशलाई बदल्ने सामर्थ्य राख्ने बताउनुभयो ।

नेपाल कांग्रेस समय अनुकुल आफूलाई बदल्ने संकल्पमा रहेको भन्दै त्यसमा आवद्ध हुन पनि उहाँले आग्रह गर्नुभयो । उद्घाटन सत्रको सभापति शेरबहादुर देउवाले बिरुवामा जल सिंचन गरेर उद्घाटन गर्नुभएको थियो । कार्यक्रममा सभापति देउवाले नेपाली कांग्रेसको एक दशकका तस्बिरहरु पनि सार्वजनिक गर्नुभएको थियो ।

अन्तिम अपडेट: माघ १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया