निर्मला पन्तको हत्यारालाई सरकारले नै बचाउन खोजेको छ : सभापति देउवा

 मंसिर २९, २०७५ शनिबार १९:३२:५५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कञ्चनकपुरकी निर्मला पन्तको हत्यारालाई सरकारले नै बचाउन खोजेको आरोप लगाउनुभएको छ ।

शनिबारदेखि काठमाडौंमा सुरु महासमिति बैठकको उद्घाटन सत्रलाई सम्बोधन गर्दै उहाँले शान्ति सुरक्षा कायम गराउन नसकेको सरकार स्वयंम निर्मला पन्तको हत्यारा बचाउन लागि परेको दाबी गर्नुभएको हो ।

देशभर हत्या हिंसाका घटना बढ्दै गएको तथा निर्मला पन्तको तस्बिर टाँस्नेलाई समेत नियन्त्रणमा लिने सरकारका क्रियाकलाप सर्वत्र आलोचित भएको उहाँले उल्लेख गर्नुभयो । संघियता नै असफल बनाउने षड्यन्त्रमा सरकार लागेको उहाँले दाबी गर्नुभयो ।

वर्तमान सरकारले नागरिकलाई लोकतन्त्रको उपहारको रुपमा मंहगी दिएको, बुढी गण्डकी आयोजना निर्माणको जिम्मा बिना प्रतिष्पर्धा सुम्पिएको, मिडियामा हस्तक्षेप बढेको भन्दै उहाँले त्यसविरुद्ध सशक्त प्रतिकार गर्नुपर्ने बताउनुभयो ।

महासमिति बैठकबाट पार्टीलाई एकतावद्ध र संगठित बनाई बलियो प्रतिपक्षीको रुपमा देशभर सरकारका क्रियाकलापविरुद्ध आवाज बुलन्द पार्नुपर्नेमा पनि उहाँले जोड दिनुभयो । देशका ठूला राजनीतिक परिर्वतनमा नेपाली कांग्रेसको ठूलो योगदान रहेको चर्चा गर्दै उहाँले आन्तरिक द्धन्द्धका कारण कतिपय अवस्थामा उम्मेदवारहरु पराजित हुनुपरेको यथार्थ भने स्वीकार गर्नुभयो ।

पार्टीभित्र विधि र पद्धतिलाई बलियो बनाउन नसक्दा पार्टीकै आन्तरिक कारण र आन्तरिक द्धन्द्धले उम्मेदवारहरु पराजित हुनुपरेको र एक पटक जित्ने र अर्को पटक हार्ने काम हुँदै आएको पनि उहाँले उल्लेख गर्नुभयो ।

उहाँले पार्टीभित्र अनुशासन कायम गर्दै विश्वास र एकताका साथ पुनः एक नम्बरको पार्टीमा स्थापित गराउने विश्वास व्यक्त गर्नुभयो । पार्टीलाई मिलाएर लैजानुपर्छ र कसैले पनि पार्टी छोड्ने अवस्था नआओस् भन्नेमा नेतृत्व सचेत रहेको भन्दै उहाँले महासमिति बैठकले पार्टीलाई नयाँ उत्साह र उर्जा भर्ने विश्वास व्यक्त गर्नुभएको छ ।

अन्तिम अपडेट: माघ १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया