आईसीसी वरीयतामा पारस दुई स्थान तल, सोमपाल र वसन्तको सुधार

 पुष ८, २०७५ आइतबार २०:२६:४२ | रासस
unn.prixa.net

काठमाडौं – अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले आइतबार सार्वजनिक गरेको टी–२० क्रिकेटको नयाँ वरीयतामा नेपालका कप्तान पारस खड्का दुई स्थान तल झरेका छन् ।

यसअघि आईसीसीले सार्वजनिक गरेको वरीयतामा ब्याटिङतर्फ ९५ औँ स्थानका पारस नयाँ वरियतामा दुई स्थान तल झर्दै ९७ औँ स्थानमा पुगेका छन् । कप्तान पारस अलराउन्डरतर्फ एक स्थान झरेका छन् । यसअघि ४१ औँ स्थानका पारस नयाँ वरीयतामा ४२ औँ स्थानमा छन् ।

त्यसैगरी अलराउन्डरतर्फ नेपालकै सोमपाल कामी ६४ औँ स्थानमा यथावत छन् । अघिल्लो महिना उनी ६४ औँ स्थानमै थिए । बलिङतर्फ नेपालका वसन्त रेग्मी र सोमपाल क्रमशः ३९७ र ३३८ अङ्क प्राप्त गर्दै ७४ औँ र ९२ औँ स्थानमा छन् । 

ब्याटिङ वरीयताको शीर्ष स्थानमा पाकिस्तानका बाबर आजम, दोस्रो स्थानमा न्यूजिल्याण्डका कोलिन मुन्द्रो, तेस्रो अष्ट्रेलियाका एरोन फिन्च, चौथो वेष्ट इण्डिजका एभिन लेविस र पाकिस्तानका फखर जमान पाँचौ स्थानमा छन् ।

बलिङतर्फ अफगानिस्तानका राशिद खान पहिलो स्थानमा रहँदा पाकिस्तानका शदाब खान दोस्रो, भारतका कुलदीप यादव तेस्रो, इग्ल्यान्डका आदिल राशिद चौथो र अष्ट्रेलियाका एडम जम्पा पाँचौ स्थानमा छन् ।

अलराउन्डरतर्फ अष्ट्रेलिया ग्लेन म्याक्सवेल शीर्ष स्थानमा रहँदा बङ्गलादेशका शाकिब अल हसन दोस्रो स्थानमा छन् । अफगानिस्तानका मोहमद नाबी तेस्रो, बङ्गलादेशका मोहमद महमुदुल्लाह चौथो र दक्षिण अफ्रिकाका जेपी डुमिनी पाँचौ स्थानमा छन् ।

अघिल्लो वर्ष नेपालले एक दिवसीय मान्यता पाएसँगै गएको साउनमा पहिलो अन्तर्राष्टिय एक दिवसीय खेल खेलेपछि नेपाली खेलाडी वरीयतामा समावेश भएका हुन् । 

अन्तिम अपडेट: मंसिर १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया