चितवनमा धान उत्पादन घट्यो
मंसिर ६, २०८१ बिहिबार
कास्की – ‘काठमाडौं : गिद्धैगिद्धको सहर, हेर्दा लाग्छ रहर ।’ निश्चल बस्नेत निर्देशित चलचित्र ‘लूट’ को चर्चित संवाद हो यो । चलचित्रमा सौगात मल्लले बोलेको यो संवादले धेरै कुरा बोल्छ । नेपालको सामाजिक अर्थव्यवस्था, राजनीति, विकास, अवसर सपना सबैसबै ।
यहाँ गिद्धलाई बिम्बका रुपमा हेर्न पनि सकिन्छ । त्यसो त काठमाडौंमा आजकल खासै गिद्ध देखिँदैनन् । पहिले पहिले नारायणहिटी आसपासका अग्ला रुखहरुमा गिद्ध देखिन्थे । आजकल रुख पनि बुढा भए । गिद्ध पनि हराउँदै गए । गिद्धको आहारा पनि सकिँदै गयो होला सायद । आहारा सीमित अनि गिद्ध धेरै भएपछि बिस्तारै समस्या नआउने त कुरै भएन ।
हो, काठमाडौंलाई आहारा बनाउने हामी हौँ वा गिद्ध उस्तै हो । आहारा भए पनि नभए पनि हामीलाई काठमाडौंकै रहर, यहीँकै सपना र यहीँकै अवसर चाहिने । सबैलाई काठमाडौं चाहिने । काठमाडौं सहरको सपना हरेक नेपालीले सजाएको हुन्छ । सबैभन्दा बढी त अवसरको खोजी वा सपना पूरा गर्ने कुरामा सबै नेपालीको पहिलो रोजाई बन्छ काठमाडौं । यसका पछाडि अनेकौँ कारण हुन सक्छन् । हाम्रो विकास प्रक्रियामा विकेन्द्रीकरणको कमीदेखि भएभरका अवसरलाई एकै ठाउँमा सीमित बनाउनु । विश्वविद्यालयदेखि कला, साहित्यसम्मका संरचनालाई काठमाडौंमा मात्रै केन्द्रित गरिनुले पनि यो सहरको सपना ठूलो थियो र छ ।
आ–आफ्ना सपना पूरा गर्ने ध्येयले त हामी सहर पस्छौँ । कतिले सपना चकनाचुर हुन्छन् र अर्कै बाटो रोज्छन् । कतिले विभिन्न आरोह अवरोहको सामना गर्दै विरानो सहरसँग पौँठेजोरी खेल्दै आफ्नो सपना पूरा गर्न सफल हुन्छन् ।
आइतबार सातौँ नेपाल साहित्य उत्सवमा गाउँबाट आएर सहरसँग पौँठेजोरी खेल्दै आफ्ना सपना पूरा गर्ने तीन जना व्यक्तिले ‘सहर, साथी र सपना’ बारेमा आफ्ना अनुभव र भोगाई सुनाए ।
एकजना कालिकोट, अर्का भोजपुर र अर्काचाहिँ स्याङ्जाबाट आफ्नो सपना पूरा गर्न काठमाडौं छिरे । भोजपुरबाट आएका दयाहाङ राई अहिले नेपाली चलचित्र उद्योगमा एउटा छुट्टै पहिचान बनाउन सफल भएका छन् । कालिकोटबाट आएका बुद्धिसागर नेपाली साहित्यिक क्षेत्रमा एउटा अग्लो नाम बनिसकेका छन् । कर्णाली ब्लूज र फिरफिरेमाफर्त उनले नेपाली पाठकको मन जित्न सफल भएका छन् । अर्का हुन् स्याङ्जाका खगेन्द्र लामिछाने, जो लेखन र कलाकारिता दुवै क्षेत्रमा जमेका व्यक्ति हुन् । तीनै जनाले काठमाडौंमा भोगेका दुःख र संघर्ष उस्तैउस्तै छन् । उनीहरुको संघर्ष धेरैको प्रतिनिधि घटना पनि हुन सक्छ ।
तीनैजना झण्डै १८ वर्षअघि आ–आफ्ना सपना बोकेर काठमाडौं आए । अहिले उनीहरुको सहर, साथी र सपना कस्तो छ त ?
बुद्धिसागर – खगेन्द्रसँगको भेट त ठ्याक्कै याद छैन तर दयासँगको भेटको प्रसंग भने रोचक छ । म पनि कुनै समयमा कलाकार बन्न चाहन्थेँ । एकजनाले ‘तिमी हेर्दा राम्रै देखिन्छौ, कलाकार बन्ने हो’ भन्नुभयो । तर नाटकबाट सुरु गर्नुपर्छ भन्नुभयो । नाटककार विजय विस्फोटलाई कलाकार चाहिएको थाहा पाएपछि म अडिसन दिन गएँ । दयासँग मेरो भेट त्यहीँ भएको हो । उ पनि कलाकार बन्न अडिसन दिन आएको ।
दयाले पछिल्लो चरणमा नेपाली चलचित्रमा परम्परावादी नायकको मान्यता भत्काएको हो । तर त्यो बेलाको सोचमा म फिट हुने रहेछु । त्यही भएर मैले राजकुमारको रोल पाएँ । दयाले चाहिँ दरबानको रोल थियो । तर रिहर्सल हुँदै गएपछि मेरो रोल छोटिँदै र दयाको बढ्दै गएर उ राजकुमारको रोल पाउनेभयो, मचाहिँ दरबानको भूमिकामा खेल्नु पर्नेभयो । त्यसपछि म यो नाट्य क्षेत्रबाट भागेँ । जब कर्णाीली ब्लूज बजारमा आयो । निर्देशक विस्फोटले भन्नुभएछ, यो केटोले भागेरै ठिक गर्याे ।
खगेन्द्रसँग कलाकारभन्दा पनि लेखकको रुपमा चिनेको हो उसलाई । उसले पत्रपत्रिकामा धेरै कथाहरु लेख्थ्यो । स्याङ्जाबाट आएको खगेन्द्र लामिछानेले सुरुसुरुमा धेरैले खला भनेरसमेत जिस्काए । खगेन्द्र, तिमी खलाबाट खगेन्द्र लामिछाने बन्नुमा कति संघर्ष गर्यौ ?
खगेन्द्र – मेरो नाम अप्ठ्यारो त होइन, तर कतिपय साथीभाइले मायाले भने होलान् । कतिपयले चाहिँ हेपेर पनि भने होलान् । त्यसमा चाहिँ कुनै गुनासो छैन । तर संघर्षका दिनहरुमा केही हासिल नगरेको अवस्थामा चाहिँ निकै कठिन हुन्छ । काठमाडौंमा मात्रै होइन, गाउँमै पनि यसले के पो गर्ला र भन्नेहरु थिए । तर त्यही कुरामा चित्त दुखाएर म अड्किएर बसेको भए मेरो बाटो पनि बदलिन्थ्यो होला सायद । अरुका कुरालाई बेवास्ता गर्दै अगाडि बढेकै कारण होला, म खलाबाट खगेन्द्र लामिछाने बनेको ।
बुद्धिसागर – कवि श्रवण मुकारुङको वल्लो डाँडामा घर, दयाहाङ राईको घर पल्लो डाँडामा । श्रवण मुकारुङले मसँग एकपटक भन्नुभएको थियो, ‘मेरो घरमा बिहानै घाम आउँछ र बेलुकासम्मै रहन्छ तर दयाको आँगनमा घामै आउँदैन । घामै नदेखेको एउटा केटो आएर कलाकारिताको माध्यमबाट उज्यालो छरिरहेको छ ।’ दया तिम्रो काठमाडौं सपना चाहिँ के हो ?
दयाहाङ – श्रवण दाइले भनेझैँ मेरो घरमा बिहान १० बजेतिर एकछिन झुलुक्क देखा पर्छ घाम । पुर्खाहरुले नै त्यस्तो ठाउँ रोजे । काठमाडौं आउनुको सपना त्यही घाम खोज्नु थियो होला सायद । काठमाडौं आइसकेपछि मलाई आनन्द लागेको त्यही घाम थियो कि जस्तो लाग्छ । काठमाडौंमा हामी तीन जनाको संघर्ष उस्तै रह्यो होला ।
बुद्धिसागर – काठमाडौं आउने पहिलो मेरो सपना रचना छाप्ने नै थियो । मलाई आफ्नो नाम छापिएको हेर्ने ठूलो रहर थियो । कालिकोटमा प्रेस आएपछि मैले आफ्नो नामको ढड्डा नै छापेको थिएँ । मैले रेडियोमा पनि अति धेरै कविताहरु पठाउँथेँ । मेरो घरबाट काठमाडौं कोही पनि नआएको । मलाई चाहिँ काठमाडौं जान्छु जान्छु भन्ने हुटहुटी थियो । त्यसपछि काठमाडौं आउनका लागि मैले उच्च शिक्षामा पत्रकारिता विषय लिएर पढ्छु भनेँ । अरु विषय त सुर्खेतमै पनि थिए । पत्रकारिता पढ्न काठमाडौं नै जानुपर्ने ।
बुवालाई मैले पत्रकारिता पढ्छु भनेर कन्भिन्स गराएँ । रेडियोमा पनि नाम आउने, लेख्न पनि मन पराउने भएको भएर बुवाले मलाई पढ्न त भन्नुभयो । उहाँ म काठमाडौं जानुपर्ने भएपछि आफ्नै वचनमा पिल्सिन थाल्नुभयो । एसएलसीको मार्कसिटमा थरको आई छुटेकाले म काठमाडौँ आएँ । त्यसैबेला मैले आरआर कलेजमा भर्ना गरेँ ।
घर छाड्ने बेलामा आमाले मसँग भन्नुभयो, ‘हेर बाबु, काठमाडौं ठूलो सहर छ । आफन्त कोही पनि छैनन् । दुःख पर्दा रुने ठाउँ पनि हुँदैन । बिरामी पर्दा सहयोग गर्ने मान्छे पनि कोही हुँदैनन् ।’ तर ५–६ वर्षसम्म यस्तो अवस्था आयो कि कुनै बेला मैले तीन दिनसम्म पनि खाना खाइनँ । तीन दिनसम्म खाना नखाएको मलाई छिमेकी कोठाबाट प्रेसर कुकरमा सिट्ठी लागेर खानाको बास्ना आउँदा पनि अति प्रिय लाग्थ्यो । त्यो बेला चाहिँ आमाले भनेजस्तै लाग्यो । त्यसबेला मेरो संगत चाहिँ पाका व्यक्तिहरुसँग भएका कारण आफूलाई अगाडि बढाउने प्रेरणा पाएँ । अग्रज व्यक्तिहरुले पनि थुप्रै दिन भोकै बसेका र संघर्ष गरेका कुराहरु सुनाएपछि मैले अगाडि बढ्ने शक्ति पाएँ ।
त्यसबेला मैले निकै कविता पनि लेखेँ । त्यही कविताले पनि मलाई निराशामा जान दिएन । मेरो त त्यस्तो संघर्ष थियो, १८ वर्षको अन्तरालमा खगेन्द्रले चाहिँ कस्ताखाले संघर्ष गर्नुपर्याे ।
खगेन्द्र – काठमाडौंमा मेरो पनि जीवन चाहिँ असहज नै थियो । बुद्धिसागर र दयाहाङले जस्तै नै संघर्ष गरेको भए पनि मैले भोकै चाहिँ बस्नु परेन । काठमाडौंमा मेरा चाहिँ आफन्तहरु थिए । पढ्न बसेका दाजुभाइहरु थिए मेरा । म उनीहरुसँगै बस्थेँ । २ वर्ष पोखरा बसेँ म । नाटक र कलामा मोह जागेपछि मेरो सपनाको सहर काठमाडौं होला जस्तो लाग्यो र काठमाडौं गए । २०५७ साल कात्तिक ९ गते मैले बुवाले दिएको ५० वटा सयको आईसी नोट बोकेर काठमाडौं गएँ । त्यही पाँच हजार भारुबाट मेरो संघर्षका दिन सुरु भए । पछि बुवासँग पैसा माग्न पनि सकिएन, आफूले केही गर्न पनि सकिएको छैन । छोरोले के गर्छ ? भनेर गाउँमा परिवारलाई सोधिन्थ्यो । नाटक खेल्छ भन्दा ‘कामचाहिँ के गर्छ ?’ भनेर सोध्ने पनि थिए ।
ऋणले अत्याएपछि बुवाले केही जग्गा पनि बेच्नुभयो । त्यसपछि मैले बुवालाई ‘विदेश जान्छु’ भनेँ । त्यसपछि बुवाले भन्नुभयो, ‘काम गर्न पनि विदेश जान्छन्, विदेश त घुम्न जाने हो ।’ बुवाको त्यो भनाईले मलाई ठूलो शक्ति दियो । म पासपोर्ट बनाएर पनि विदेश गइनँ । म फेरि काठमाडौं फर्किएँ । तीन वर्षसम्म दसैँमा म घर पनि गइनँ । बुवालाई मैले एकैदिनमा तपाईँको ऋण तिरिदिन्छु भनेको थिएँ । काठमाडौंमा मैले राम्रै काम पाएँ । बीबीसी मिडिया एक्सनमा आफैलाई मन पर्ने काम पाएँ । आफूले कमाएको जम्मा गरेर, बैंकबाट अलिकति ऋण निकालेर मैले बुवाको ऋण एकैदिनमा तिरिदिएँ । त्यतिबेला चाहिँ एउटा चरणको संघर्षबाट पार पाएँ जस्तो लाग्यो । तर जीवन सधैँ संघर्षमै हुन्छ ।
बुद्धिसागर – दयाहाङ पनि एउटा लुकेको कवि । संघर्षकालमा हामी दुइटै कवि । दयाहाङ कवि भएन कविता भयो । उमाथि संगीत श्रोताले निकै राम्रो कविता लेखेका पनि छन् । दया तिमी त कवि हुन हिँडेको मान्छे, हिरो कसरी भइयो ?
दयाहाङ – सायद सहर हेर्ने सपना थियो होला । मैले एसएलसी एकैपटकमा पास गरेको भए अर्कै हुन्थ्यो होला कुरा । विद्यालयमा म चौथो हुन्थेँ । तर मलाई विज्ञान विषय लाग्यो । असारको मौसम थियो । बुवा र म खेतका आली कोट्याउँदै थियौँ । मेरो भाइले रिजल्ट लिएर आउँदै थियो । उसले नसुनाउँदै मैले थाहा पाएँ कि म फेल भएको रहेछु भन्ने । उ बहुत निराश हुँदै आएको थियो । मलाई चाहिँ अंग्रेजी नै लाग्यो होला भनेको थिएँ तर विज्ञान लागेछ ।
त्यो वर्ष मैले घरको खेतका मात्रै होइन, अरुका खेतका आली पनि कोट्याएँ । त्यहीबेला यति धेरै भावुक भएँ कि कविता कोर्न थालेँ । एक वर्ष कुरेर विज्ञान विषयको परीक्षा दिएँ र पास भएँ । बुवाआमा भन्नुहुन्थ्यो, ‘राम्रो नम्बर ल्याएर पास गरेको भए तँ पनि विराटनगर पढ्थिस् होला, काठमाडौंमै जान्थिस् होला ।’ त्यतिबेला आफूलाई अभिव्यक्त गर्ने माध्यमका रुपमा कविता रोजेँ । त्यसपछि मैले जिल्ला सदरमुकाममै पढ्न थालेँ । १८ वर्षको उमेरमा अर्को अचम्म पनि भयो । पहिलो पटक मैले चतरामा गाडी देखेँ । मैले जोग्राफी पढेको थिएँ । टुरका लागि म बागलुङ गएँ । तर जोग्राफी पढेको मान्छे मैले काठमाडौंलाई मापन गर्नै सकिनँ । निकै टाढा लाग्थ्यो ।
काठमाडौं चाहिँ आफूलाई अलि धेरै अभिव्यक्त गर्न सकिन्छ कि भनेर आएँ । हुटहुटीकै कारण कविता लेख्थेँ । तर सुनाउने हिम्मत चाहिँ हुन्थेन । आफू के बन्ने भन्ने त खोज्दै जाने कुरा रहेछ । घामै नदेखेको मैले सपनै पो देखिन होला । तर नाम खोज्दै जाँदा काठमाडौंमा विजय विस्फोटको कार्यशालामा सहभागी भएँ । लेखक बन्छु भनेर कार्यशाला गएको पछि म अभिनयमै रुची र दख्खल भएजस्तो लाग्यो । अनि लेखनबाट अभिनयमा लागेँ ।
बुद्धिसागर – हामी तीनजनाले काठमाडौंमा उस्तैउस्तै संघर्ष गर्यौँ । तर हामीले आफूभन्दा अग्रज व्यक्तिको संगत गर्यौँ त्यसले पनि केही सहज भयो ।
हामी तीन जनामा दया र मलाई चाहिँ बाइक चलाउन आउँदैन । खगेन्द्रलाई चाहिँ बाइक पनि आउँछ, गाडी पनि आउँछ । मलाई त लेखकका रुपमा गाडी वा बाइकको अवाश्यकता पर्दैन । मैले त बाइकबिनै प्रेम गरेँ र बिहे गरेँ । त्यसैले अहिले आएर किन चाहियो जस्तो पनि लाग्छ । मलाई त चाहिन्न । कलाकारका रुपमा त दया तिमीलाई त चाहिन्छ नि । यत्रो समयमा पनि तिमीले बाइक चढ्ने आँट चाहिँ किन नगरेको ?
दयाहाङ – आँट भएको भए त चढिहाल्थेँ नि ? १८ वर्षको उमेरमा त पहिलो पटक गाडी देखेको । ‘कबड्डी’ चलचित्रमै पनि बाइक चलाउन पर्छ भनेका थिए । विजय बरालले चलायो । मैले एउटा डायलग नै बोलेँ, ‘यो मेसिनसँग चाहिँ नसकिने रहेछ ।’ यो मेरो लागि नै बनाइयो । ‘पुरानो डुङ्गा’ का लागि बाइक सिक्नैपर्छ भनेपछि म सिक्न पनि गएँ । त्यति नै बेला मेरो एकदमै मिल्ने साथी कलाकार रविन पाण्डे मोटरसाइल दुर्घटनामा परेर बितेपछि, मेरो मन नै चुँडियो । म पनि साथीहरुसँग हिँड्दा दुई पटक सानोतिनो दुर्घटनामा परेकाले आँटै आएन । सबैभन्दा बढी मलाई डर नै लाग्छ ।
एयरपोर्ट पछाडि सिक्न पनि गएँ । तर सकिनँ । रातभरी सपनमा पनि कालो घोडाले लखेटेको लखेट्यै गर्याे । त्यसपछि मैले रामबाबु गुरुङलाई भनेँ । उहाँले उपाय निकाल्छु भन्नुभयो । त्यसपछि अर्को मिक्सिङ जोडेर बाइक चढेको दृश्य तयार भयो ।
बुद्धिसागर – खगेन्द्रलाई त सबै आउँछ है ?
खगेन्द्र – सबै त आउँदैन । घोडादेखि चाहिँ डर लाग्छ ।
दयाहाङ – घोडादेखि चाहिँ मलाई डर लाग्दैन । दुई पटक लडेको पनि छु । घोडा त जनावर हो नि त्यही भएर मलाई डर लाग्दैन ।
बुद्धिसागर – खगेन्द्रको एउटा स्वभावचाहिँ सहन नसक्ने । उसको आक्रोश एक्कासि बढ्छ । यस्तो स्वभाव हुनुको पछाडि केही कारण त होला पक्कै ?
खगेन्द्र – मेरो स्वभाव कसरी यस्तो भयो भन्ने त ठ्याक्कै मलाई थाहा छैन । तर म सानोदेखि नै प्रतिक्रिया जनाउने खालको थिएँ । बुवासँगै पनि मेरो अत्यन्तै घनिष्ठ र अत्यन्तै शत्रुतापूर्ण सम्बन्ध थियो । बुवाले मलाई ट्रयाकमा ल्याउन एकदमै कुट्नुहुन्थ्यो । बुवालाई मलाई पढाउने रहर, मचाहिँ कसरी पढ्नु पर्दैन भन्दै भाग्दै हिँड्ने । बुवाले कुट्नुहुन्थ्यो, तर बुवासँग नै प्रतिक्रिया जनाइहाल्ने । त्यसरी नै मेरो स्वभाव बन्दै गयो होला ।
मेरो स्वभाव कसैको नराम्रो नचाहने छ । सबैको राम्रो होस् भन्ने चाहन्छु । त्यसैले कसैले मेरो कुभलो चिताएको वा मलाई खसाल्न केही गरेको थाहा पाएँ भने निकै नराम्रो लाग्छ । त्यस्तो अवस्थामा कडा स्वभाव प्रस्तुत गर्छु । कतिपय अवस्थामा मैले दयाहाङहरुसँग पनि त्यस्तै व्यवहार गरेको छु ।
बुद्धिसागर – १८ वर्षको अन्तरालमा विभिन्न व्यक्तिकोहरुको प्रेरणा प्राप्त गर्दै खगेन्द्र अनि दयाहाङ यहाँसम्म आइपुगे । लेखकका रुपमा म अन्तर्राष्ट्रिय लेखकहरुसँग कुराकानी गरेर प्रेरणा लिने प्रयासमा हुन्छु । तिमीहरु चाहिँ अहिले कसको प्रेरणा लिन्छौँ ?
खगेन्द्र – प्रेरणाको स्रोत भन्ने कुरा समयअनुसार हुने रहेछ । एकसमय अग्रज व्यक्तिहरुको प्रेरणामा अगाडि बढिन्छ । तर आफूले केही गर्न थालिसकेपछि भने प्रेरणाका स्रोत व्यक्ति फरक हुने रहेछन् । कलाकारिता क्षेत्रमा त सामान्य व्यक्तिहरु प्नि प्रेरणाका स्रोत बन्छन् ।
बुद्धिसागर – खगेन्द्र भावुक पनि छन् । उनको चलचित्र ‘पशुपति प्रसाद’ सँगै हेर्न गयौँ । चलचित्र हेर्दाहेर्दै कुनाबाट सुँक्कसुँक्क आवाज आयो । यसो हेरेको त खगेन्द्र नै पो रुँदै रहेछ । किन रोको भनेको त ‘यसपछि सिरियस सिन छ त्यही भएर’ भन्ने जवाफ आयो ।
खगेन्द्र – म चलचित्र हेर्दा मात्रै होइन, लेख्दा पनि रुन्छु । आफैलाई छोएको कुराले दर्शकलाई पनि छुन्छ ।
बुद्धिसागर – हामी त रोएका छौँ । तर दया रोएकोचाहिँ सम्झना छैन । दया तिमी अभिनेताका रुपमा त रोएका छौ, फिल्म हेर्दा पनि रुन्छौ होला । व्यक्तिका रुपमा चाहिँ कत्तिको रुन्छौँ ?
दयाहाङ – नरुने मान्छे त को नै होला र ? तर म मेरो आँसुलाई लुकाउन चाहन्छु । मेरो परिवारको जिम्मेवार मान्छे आफै भएकाले म रोएँ भने परिवारका सदस्य कमजोर हुन्छन् भन्ने ठानेर रुँदिनँ । रुनै परे पनि एकान्तमा रुन्छु म । सबैले गर्छन् होला त्यस्तो । सिनेमा हेर्दा पहिले त रुन्थेँ । आजकल चाहिँ रुँदिनँ । एक्टर हो नि त । एक्टिङ गर्दिन्छु नरोएको ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
उज्यालोमा कार्यरत उपेन्द्रराज पाण्डेय कला, साहित्य र संस्कृतिमा कलम चलाउनुहुन्छ ।