पानी जहाजमा काम गर्ने नेपालीका लागि सरकारले अब ‘सी म्यान’ राहदानीको व्यवस्था गर्ने

 पुष २९, २०७५ आइतबार १४:४५:१९ | उज्यालो सहकर्मी

काठमाण्डाै - सरकारले पानी जहाजमा काम गर्ने नागरिकहरुका लागि ‘सी म्यान’ राहदानीको व्यवस्था गर्ने भएको छ ।

परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले पानी जहाजमा काम गर्ने नागरिकहरुका लागि ‘सी म्यान’ राहदानीको व्यवस्था गर्न लागिएको जानकारी गराउनु भएको हो ।

आइतबार संघीय संसदको विधायन व्यवस्थापन समितिको बैठकमा ‘राहदानीसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक,२०७५’ माथिको छलफलमा भाग लिँदै उहाँले पानी जहाजमा काम गर्ने नेपाली नागरिकहरुको अभिलेख राख्न पनि सो साहदानी दिने कानुनी व्यवस्था गर्न लागिएको स्पष्ट पार्नु भयो ।

परराष्ट्रमन्त्री ज्ञवालीले राहदानी दुरुपयोग हुन नदिन विद्युतीय राहदानीको व्यवस्था गर्न लागिएको पनि बताउनु भयो । राहदानी मुलुकको प्रतिष्ठासँग जोडिएको दस्तावेज भएकाले यसको स्तरोन्नति पनि गर्ने मन्त्री ज्ञवालीको योजना छ ।

बैठकमा समितिका सदस्यहरुले सांसदहरुलाई कूटनीतिक राहदानी लिन अप्ठयारो बनाउने गरी विधेयकमा प्रावधान राखिएको भन्दै सरकारको चर्को आलोचना गरेका थिए । समितिका सदस्य एवं नेपाली कांग्रेसका सांसद जितेन्द्रनारायण देवले कानुनले परिभाषित गरेका ‘सांसदहरुलाई पनि कूटनीतिक राहदानी लिन संसद सचिवालयको सिफारिस चाहिने’ भनि विधेयकमा गरिएको व्यवस्थाप्रति आपत्ति जनाउनु भएको हो ।

उहाँले कानुनी मान्यता प्राप्त सांसदहरुलाई सांसद भएकै मितिबाट जहिले पनि कूटनीतिक राहदानी लिन पाउने सहज व्यवस्था गर्न सरकारको गम्भीर ध्यानाकर्षण गराउनु भयो ।

समितिका अर्का सदस्य राधेश्याम अधिकारीले स्पष्ट ऐनमै व्यवस्था गर्नुपर्ने कतिपय विषयलाई पनि सरकारले निर्देशिका र कार्यविधिको भरमा अघि बढाउने गरी सो विधेयक आएको भन्दै असन्तुष्टि व्यक्त गर्नु भयो । उहाँले राहदानीको कानुनी व्यवस्था गर्दा नियमावली र कार्यविधितर्फ भर नपर्ने प्रावधान राख्न पनि सरकारलाई सचेत गराउनु भयो ।

समितिका सदस्यहरुले राहदानीको दुरुपयोग हुन नदिन पनि सरकारलाई सचेत गराएका थिए ।

अन्तिम अपडेट: माघ १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया