कांग्रेसको चेतावनी : माओवादीको बन्दुकले त तर्सिएन कांग्रेस, सानातिना घटनाले के तर्सिन्छ ?

 माघ २, २०७५ बुधबार १४:३९:२१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले तनहुँको जिपी कोइराला राष्ट्रिय स्वासप्रश्वास केन्द्र र सुशील कोइराला प्रखर क्यान्सर अस्पताल बाँकेलाई केन्द्र सरकारभन्दा बाहिर राख्ने सरकारको निर्णयप्रति  गम्भीर आपत्ति जनाउँदै निर्णय सच्याउन माग गरेको छ । 

स्वास्थ्य मन्त्रालयले देशभरका ११ वटा स्वास्थ्य संस्था केन्द्र सरकारको मातहतमा रहने पत्राचार गरिरहेका बेला सरकारले मन्त्रिपरिषद बैठकमार्फत ९ वटा अस्पताल मात्रै केन्द्रले लिने र बाँकी दुईको जिम्मेवारीबाट पन्छने निर्णय गरेको भन्दै कांग्रेसले त्यसमा आपत्ति जनाएको हो । 

ती दुई संस्थाको जिम्मेवारीबाट सरकार पन्छिन नमिल्ने दाबी कांग्रेसले गरेको छ । राष्ट्रियसभाको बुधबारको बैठकमा प्रमुख प्रतिपक्षी दलका नेता सुरेन्द्रराज पाण्डेले दुई संस्थालाई मात्रै केन्द्र सरकार मातहत नरहने गरी सरकारले निर्णय गरेकोमा गम्भीर आपत्ति जनाउनुभएको हो । दुई संस्थाको जिम्मेवारीबाट पन्छिनुपर्नुको कारण स्पष्ट पार्न पनि उहाँले माग गर्नुभयो । नेता पाण्डेले प्रश्न गर्नुभयो, ‘केबल गिरिजाप्रसाद र सुशील कोइरालाको नामसँग, नेपाली कांग्रेसको नेतासँग जोडिएको कारणले हो कि ? वा के कारणले आफ्नो जिम्मेवारीबाट अलग राख्न खोजिरहेको छ ?’

कांग्रेसले निर्णय पुनर्विचार गर्न माग गर्दे त्यसबारे अर्को बैठकमा जानकारी गराउन माग गरेको छ । दुई संस्थालाई केन्द्रको मातहत राख्ने र केन्द्रीय सरकारले नै सञ्चालन गर्ने व्यवस्था नभए संसदभित्र र बाहिर संघर्ष गर्ने चेतावनी पनि कांग्रेसले दिएको छ ।

संस्थासँग रहेको नाम मेटाउँदैमा नेताहरुले देशका लागि पुर्‍याएको योगदानमा कमी नहुने भन्दै नेता पाण्डेले प्रतिपक्षी दलप्रति राजनीतिक असहिष्णुता देखाउने काम बन्द गर्न सरकारलाई चेतावनी दिनुभयो  । उहाँले प्रतिपक्षी दलप्रति यस्तै व्यवहार गर्दै जाने हो भने देश अराजकता र संघर्षको बाटोतर्फ जाने खतरा रहेको तर्फ पनि सरकारको ध्यानाकर्षण गराउनुभयो ।

उहाँले भन्नुभयो, ‘यदि सरकारको रबैया प्रतिपक्षीको नामसँग पनि उसलाई एलर्जी हुने, नामसँग पनि उसलाई दुश्मनी हुने हो भने भोलिका दिनमा हामीले पनि त्यस्तै खालको व्यवहार सरकारलाई गर्नुपर्ने आवश्यकता पर्न जान्छ ।’

उहाँले सधैँ एउटै पार्टीको नेतृत्वमा सरकार नरहने तर्फ पनि सरकारलाई सचेत गराउनुभयो । उहाँले भन्नुभयो, ‘सत्ता परिर्वतन होइन सरकार परिर्वतन भएको हो । आज नेपाल कम्युनिष्ट पार्टीको नेतृत्वमा सरकार छ । भोलिअर्कै पाटीकोे नेतृत्वमा सरकार हुन्छ । यदि हरेक पार्टीले अर्को पार्टीको नेतृत्वमा नेताहरुको नाममा रहेका संस्थाहरुलाई विघटन गर्दै जाने हो, भने के यत्रो योगदान गरेका कुनै पनि पार्टीका नेताहरुको नाममा रहेका संस्थाहरुको अब रहन्छ त कुनै नेताहरुको नाम ?’
 
प्रतिपक्षीलाई हरेक ठाउँमा ‘हामी ठेगान लगाउँछौ’ भन्दै सरकारले निषेधको राजनीति गरेको टिप्पणी उहाँले गर्नुभयो । उहाँले भन्नुभयो, ‘आज नेपाली कांग्रेसको नेताहरुको नाममा खुलेका संस्थाहरु कम्युनिष्ट पार्टीको सरकारले विघटनको अवस्थामा पुर्‍याउने हो भने, भोलि कांग्रेसको सरकार आउँदा कम्युनिष्टका नेताहरुका नाममा खुलेका संस्थाहरुलाई त्यहीँ व्यवहार गरियो भने  के नेताहरुप्रति न्याय हुन्छ ? यो यथोचित निर्णय हुन सक्छ । त्यसैले जुन रिभेन्जको भावना सरकारले लिइरहेको छ । यसले देशलाई अराजकतातर्फ लैजान्छ ।’

प्रतिपक्षी दलप्रति बदलाको भावना लिएर अघि बढेको सरकारले कांग्रेसलाई धम्क्याउने तर्साउने काम गरेको उहाँले दाबी गर्नुभयो । उहाँले भन्नुभयो, ‘धेरैले कांग्रेसलाई तर्साउन खोजेका थिए । पञ्चायतले तर्साउन खोजेका थिए । माओवादीको बन्दुकले पनि तर्साउन खोजेको थियो । तर तर्सिएन । त्यसैले यस्ता घटनाले तर्साउन खोजेर कांग्रेस तर्सिँदैन । र कांग्रेसका नेताहरुको इतिहासका नेताहरुलाई सानातिना घटनाले नाम मेट्न खोज्दैमा मेटिँदैन ।’
 

अन्तिम अपडेट: माघ १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया