ट्रम्प तिमीले गल्ती गर्‍याै : खोमेनी, इरानी संसदमा ‘अमेरिका मुर्दावाद’

 वैशाख २७, २०७५ बिहीबार १०:१९:३ | उज्यालो सहकर्मी
unn.prixa.net

वैशाख २७ – इरानका सर्वोच्च नेता आयोतुल्लाह अली खोमेनीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कडा आलोचना गरेका छन् । 

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसगको परमाणु सम्झौतामा अमेरिकाले आफूलाई अलग गरेको घोषणापछि खोमनीले भने, ‘ट्रम्प तिमीले गल्ती गर्‍याै ।’
इरानका सर्वोच्च नेता खोमेनीले ट्रम्पको घोषणालाई निकै तल्लो स्तरको बताउँदै त्यसको कुनै अर्थ नरहेको बताएका छन् ।

इरानी संसदमा परमाणु सम्झौताको एकप्रति पनि जलाइएको थियो । सांसदहरु अमेरिकाको विरोध गरिएका ब्यानर बोकेर ‘अमेरिका मुर्दावाद’ नारा पनि लगाइरहेका थिए । त्यसभन्दा पहिले इरानी राष्ट्रपति हसन रुहानीले आफ्नो देश बहुराष्ट्रिय परमाणु सम्झौतामा अडिग रहने बताएका थिए । 

इरानमाथि प्रतिबन्ध

अमेरिकाले तत्कालै इरानमाथि कुनै पनि नयाँ प्रतिबन्ध नलगाउने बताएको छ । अमेरिकाले ९० देखि १८० दिनभित्रमा केही निर्णय गर्ने जनाएको छ । 

अमेरिकाले सन् २०१५ को सम्झौताअनुसार नै इरानी उद्योगमाथि प्रतिबन्ध लगाउने जनाएको छ । यसमा इरानको पेट्रोलियम सेक्टर, विमान निर्यात, बहुमूल्य धातुको व्यपार तथा अमेरिकी डलर खरिद प्रक्रिया रहेका छन् । 

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले देखावटी रुपमा मात्रै परमाणु कार्यक्रम रोकेको अरोप लगाएका छन् । परमाणु कार्यक्रम रोक्न पाएको एक सय अर्ब अमेरिकी डलर हतियार बनाउन तथा चरमपन्थीलाई बढावा दिनका साथै मध्यपूर्वमा दमनका लागि प्रयोग गरेको आरोप ट्रम्पले इरानमाथि लगाएका छन् । 

इरानसँगको परमाणु सम्झौतामा सहभागी भएका फ्रान्स, जर्मनी तथा बेलायतले अमेरिकी कदमको विरोध गरेका छन् । फ्रान्सका राष्ट्रपति इम्मानुएल मेक्रोनले इरानसँगको परमाणु सम्झौता त्याग्ने अमेरिकी निर्णय दूर्भाग्यपूर्ण रहेको बताएका छन् । 

युरोपेली युनियनका विदेश मामिला प्रमुख फेडेरिका मोघेरिनीले युनियर परमाणु सम्झौतालाई संरक्षित गर्नका लागि प्रतिबद्ध रहेको जनाएकी छिन् । 

के थियो सम्झौता ?

सन् २०१५ को जुलाईमा ओबामा प्रशासनको कार्यकालमा भएको सम्झौतामा इरानलाई हतियार किन्न पाँच वर्ष प्रतिबन्ध लगाइएको थियो । साथै मिसाइल प्रतिबन्धको समयसीमा आठ वर्ष पुर्‍याइएको थियो । 

इरानले सम्झौतालाई मान्दै आफ्नो परमाणु कार्यक्रमको ठूलो हिस्सा बन्द गरेको थियो । साथै बाँकी कार्यक्रमको निगरानीका लागि अन्तर्राष्ट्रिय निरीक्षकको जिम्मा लगाउन इरान तयार भएको थियो । सम्झौतामा हस्ताक्षर गर्ने बेलायत, फ्रान्स तथा जर्मनीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई सम्झौताबाट पछि नहट्न आग्रह गरेका थिए । फ्रान्सका राष्ट्रपतिले आफ्नो अमेरिकी भ्रमणका बेला पनि ट्रम्पलाई इरानसँगको सम्झौता ‘बेष्ट’ नभए पनि यसको कुनै विकल्प नभएको बताएका थिए । 

यी तीन देशले अमेरिकाले जे गरे पनि आफूहरु तीन वर्ष पुरानो सम्झौताबाट पछि नहट्ने बताएका छन् । इरानका राष्ट्रपति हसन रुहानीले पनि अमेरिकी राष्ट्रपति ट्रम्पले इरानसँगको परमाणु सम्झौता रद्ध गरेमा उसले ऐतिहासिक गल्ती गर्ने र पछिसम्म पछुताउनुपर्ने बताएका छन् । 

अन्तिम अपडेट: मंसिर १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया