मन्त्री र नेतालाई एक दिनको रमाइलो : किसानलाई सधैंको पिरलो

 असार १५, २०७५ शुक्रबार १९:४७:३१ | उज्यालो सहकर्मी

काठमाडौं – वास्तविक किसानले भन्दा बढी हिलो खेलेर मन्त्री, नेता र युवायुवतीले १५ असार मनाएका छन् ।

कपिलवस्तुको तिलराकोट पुगेर कृषि मन्त्री चक्रपाणि खनालले खेतलासँगै नाच्दै गाउँदै धान रोप्नुभयो र केहीबेर खेत पनि जोत्नुभयो । 

उपप्रधानमन्त्री इश्वर पोखरेल काठमाडौंको बुढानिलकण्ठमा, गृहमन्त्री रामबहादुर थापा बादल काठमाडौंको झोरमा, सञ्चारमन्त्री गोकुल बाँस्कोटा झापामा, पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा भक्तपुरको भद्रकालीमा र अर्का पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई गृहजिल्ला गोरखाको सिरानचोकमा भएको रोपाइँ कार्यक्रममा सहभागी भए ।

अरु धेरै नेता कार्यकर्ता, सरकारी कर्मचारी र विद्यार्थीले पनि यसैगरी हिलोमा पसेर रमाइलो गरे । कतिपय ठाउँमा हिलोमा दौडने प्रतियोगिता नै भयो । 

 

काठमाडौंदेखि देशका ठाउँठाउँमा भएको रोपाईं कार्यक्रमको दृश्य हेर्दा खेतीमा भन्दा पनि रमाइलोमा धेरैको ध्यान केन्द्रित भएको देखिन्थ्यो ।

वास्तविक किसानभन्दा नेता, मन्त्री र युवायुवतीलाई १५ असार आएजस्तो लाग्थ्यो । किनकी अझै पनि राम्रोसँग पानी पर्दा धेरै ठाउँमा रोपाईं हुन सकेको छैन । १५ असारको बेला किसान चिन्तामा छन् । 

सिँचाइ अभावले चितवनमा अघिल्लो वर्षभन्दा आधामात्रै रोपाइँ भएको छ । जिल्ला कृषि विकास कार्यालय चितवनका प्रमुख सुधीर श्रेष्ठले यस वर्ष मौसम सक्रिय नहुँदा जिल्लामा ११ प्रतिशतमात्रै रोपाइँ भएको जानकारी दिनुभयो । 

अघिल्लो वर्ष असार १५ सम्म २० प्रतिशत रोपाइँ भएको चितवनमा यसवर्ष त्यसको आधामात्रै रोपाइँ भएको हो । किसानले कतिपय ठाउँमा रोपाइँका लागि खेत ठिक्क बनाएर राखे पनि वर्षाको अभावमा धान रोप्न सकिएको छैन् । 

यद्यपि चितवनको पूर्वी भेगमा अलि बढी रोपाइँ भएको छ । पश्चिम र पहाडी भेगमा रोपाइँ हुन सकेको छैन । डोटीको दिपायलमा त पानी नपरेकाले किसानले बीउसमेत राख्न पाएका छैनन् ।

धेरै धान उत्पादन हुने चितवनको कुमरोजमा यसपालिको चैते धान रोगले सखाप पारेपछि यहाँका किसान चिन्तित छन् । राज्यले पनि धान उत्पादन गर्ने किसानलाई राम्ररी प्रोत्साहन गर्न नसकेको किसानको गुनासो छ । 

सिरहामा अहिलेसम्म पाँच प्रतिशत जग्गामा मात्र धान रोपाइँ भएको छ । लामो समयदेखि वर्षा नभएपछि असार १५ सम्ममा ९५ प्रतिशत जग्गामा अझै धान रोपाइँ हुन सकेको छैन ।

लामो समयदेखि वर्षा रोकिएको तथा सिँचाइको सुविधासमेत नभएका कारण असार १५ सम्ममा करीब पाँच प्रतिशत जग्गामा मात्र धान रोपाइँ हुन सकेको जिल्ला कृषि विकास कार्यालय सिरहाले जनाएको छ । 

अरु ठाउँको अवस्था पनि यस्तै छ । काठमाडौंकै कतिपय ठाउँमा खोलाको पानी पाइपबाट तानेर रोपाइँ भैरहेको छ । 

 

प्रचार र रमाइलो मात्र धेरै, भातको लागि विदेशकै भर


धानको परनिर्भरता घटाउन र किसानलाई हौसला दिन भन्दै १५ वर्षदेखि १५ असारको दिन राष्ट्रिय धान दिवस मनाउन थालिएको हो । तर नेपालीले दुई छाक भात खानकै लागि पनि अरु देशकै भर पर्नुपर्छ । 

अहिले प्रतिमहिना दुई अर्ब रुपैयाँको चामल बाहिरबाट आयात हुन्छ । भात खानुपर्ने बानी र बढ्दो जनसंख्याकै कारण चामलको माग बढ्दै गएको हो ।

तथ्याङकमा विगत दश वर्षदेखि धानको उत्पादन सन्तोषजनक छैन । 

नेपालमा सरदर धानको उत्पादन ५० देखि ५२ लाख मेट्रिक टन हुने गरेको छ । प्रतिवर्ष ६० लाख मेट्रिक टन धानको माग हुने भएकाले अझै ८ देखि १० लाख मेट्रिक टन धानको उत्पादन हुनुपर्छ ।

तर धान उत्पादन बढाउनेभन्दा वर्षमा एकदिन हिलोमा रमाउनेतिर मात्र सम्बन्धित निकायको ध्यान केन्द्रित भएको देखिन्छ ।

तस्बिरहरु: नवदीप अजनवी–नुवाकोट, गोपाल भण्डारी– कपिलवस्तु, केशवप्रसाद भट्टराई– ताप्लेजुङ

अन्तिम अपडेट: मंसिर ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया