कोप–२९ मा ‘एनसीक्यूजी’ कार्यान्वयन प्रक्रिया स्पष्ट नभएको गुनासो
मंसिर १३, २०८१ बिहिबार
काठमाण्डाै – हेर्दाहेर्दै लोकतन्त्र आएको पनि १४ वर्ष लागिसकेको छ । जनआन्दोलनको बलमा लोकतन्त्र स्थापना भयो । लोकतन्त्रपछि गणतन्त्र आयो । देशमा संविधानसभाको चुनाव भयो । नागरिककै प्रतिनिधिले संविधान बनाए ।
संघीयता कार्यान्वयनसँगै गाउँगाउँमा सिंहदरबार पुगेको छ । घरदैलोमै जनप्रतिनिधि पुग्छन् । लोकतन्त्रकै बलमा यी सबैथोक भए पनि नागरिकले अझै लोकतन्त्रको अनुभूति गर्न पाइएन भन्ने गुनासो गर्छन् ।
जति नै ठूला-ठूला परिवर्तनकाे कुरा गरे पनि नागरिकले लाेकतन्त्रकाे आभाष गर्न पाएका छैनन् । दिनदिनै नेता र कर्मचारीका बेथिति र भ्रष्टाचारका समाचारले नागरिक वाक्कदिक्क मात्रै हाेइन, निराश हुँदै गएका छन् । त्यसैले हाेला बद्री पङ्गेनीले गीतमा भनेझैँ आम नेपाली भन्ने गर्छन्, 'अझै नि लाेकतन्त्र आ'काे छैन है ! जनताले भनेझैँ भा'काे छैन है !'
निराशा मात्रै लाग्छ : नवराज तिमिल्सिना (होटल व्यवसायी)
म १५ वर्षदेखि यही काम गर्दै आएको छुँ । यही होटल हो । पुल्चोकको आकाशे पुलमुनि नवराजको होटल भनेर अझै पनि धेरै साथी भाइहरु याद गर्छन् । कहिलेकाहीँ भेट्न आउँछन् ।
देशमा लोकतन्त्र स्थापनाको लागि संघर्ष भइरहेको बेला थियो । त्यतिबेला पनि म यही पसलमा चिया बेच्थेँ । मानिसहरु आउँथे । देशको शासन व्यवस्था राम्रो भएन भन्दै गफ गर्थे । अब विद्रोह गर्नुपर्छ भन्थे । देशमा लोकतन्त्र आएपछि कसैले गरिब हुनु नपर्ने, कोही बेरोजगार बस्नु नपर्ने भन्थे ।
ती दिनहरु अहिले मेरो दिमागमा झलझली आउँछन् । सम्झिँदा सबै कुरा बेकार हो जस्तो लाग्छ । विकास राजनीतिले दिने कुरा रहेनछ । देशमा जुनसुकै तन्त्र आए पनि सत्तामा भएका व्यक्तिहरुको आचरण ठिक नभएसम्म त्यसले देशबासीलाई दुःख दिन्छ । हाम्रो देशमा त्यस्तै भएको छ । त्यत्रो जनआन्दोलन भयो, यहीँ काठमाण्डौमा कति मानिसहरुले आन्दोलनमा ज्यान गुमाए । आखिर हामीले के पायौँ त अहिले ?
व्यापार व्यवसाय लोकतन्त्र अगाडि र पछाडिमा केही फरक लाग्दैन । देशको विकास राज्य सत्तामा पुग्नेहरुको इच्छाशक्तिमा भर पर्छ । उहाँहरुले चुनावको बेला ठूला ठूला कुरा गर्ने तर व्यवहारमा भने लागू नगर्दा निराशा लाग्दो रहेछ । त्यस्तो निराशा म मा पनि भएको छ ।
गरिबहरुसँग लगानी गर्ने पैसा नभए पनि राज्यले लगानी गरिदिएर स्तर माथि उठाउने काम गरोस् । करको दायरा बढाएकोे छ । वडामा, महानगरपालिकामा र प्यानमा गरी त्रिपक्षीय कर तिर्नुपर्ने बाध्यता छ । यस्तो त्रिपक्षीय करबाट छुटकारा मिलोस् । लोकतन्त्रमा नागरिकका समस्याको सम्बोधन होस् । देशमा असल शासन छ भन्ने हामी सबैलाई लागोस् । त्यही त हो नि ।
गरिबलाई गरिखान नदिने पनि लोकतन्त्र हुन्छ ? : सुस्मिता खड्का (चिया बिक्रेता)
सात वर्ष भयो बसन्तपुरमा थर्मसमा चिया बोकेर बेच्न थालेको । मेरा ८ वटा थर्मस त महानगरपालिकासँग होलान् । नगर प्रहरी एकाएक आउँछन् हातबाटै खोसेर लग्छन् । यता यसरी नबेच भन्छन् । टुरिस्टहरुलाई डिस्टर्ब हुन्छ रे । त्यसो भए हामीले के गर्ने ? उनीहरुसँग केही जवाफ हुँदैन ।
दिनप्रतिदिन देशको अवस्था बिग्रेको जस्तो लाग्छ । लोकतन्त्रको के कुरा गर्नुहुन्छ । मलाई केही थाहा छैन, यो लोकतन्त्र सोकतन्त्र भन्या । गरिबलाई गरिखान नदिने पनि कतै न्यायको कुरा हुन्छ ? लोकतन्त्र त त्यस्तै हो, बरु मलाई त निरंकुश शासन जस्तो लाग्छ । केही सानोतिनो काम गर्नुपरे पनि आफूले चिनेको मान्छे नभएसम्म त्यो कामै बन्दैन ।
देशको अवस्था हेर्दा आफूलाई नराम्रो चाहिँ लाग्छ । गरिब झन गरिब हुन थाले । नेता जति सबै धनी हुन थाले । हामीहरुको हालत यस्तै हो देखिहाल्नुभयो । सात वर्षदेखिको त्यही । दिनभर काम गरे पनि केही फरक छैन ।
पेशाको सम्मान भएन : धर्म श्रेष्ठ (ट्याक्सी चालक)
ट्याक्सी चलाउन थालेको १० वर्ष भयो । लोकतन्त्रमा महंगी बढाउने तर ट्याक्सी भाडा नबढाउने भन्ने कुरा लेख्या छ र ? अब तपाई नै भन्नुस् न, महंगीले आकास छोईसक्यो, पेट्रोलको भाउदेखि पाटपुर्जाको भाउ कति बढीसक्यो ।
तर ट्याक्सी चालकले भने २०६९ सालकै भाडा दर लग्नुपर्ने रे । अनि मिटरमा गएन भनेर लुट्यो भन्ने । यस्तै हो त लोकतन्त्रमा पेशाको सम्मान ?
खै हामीले हाम्रो पेशाको सम्मान पाएको ? अब त्यसमा चलेर हामीले के कमाउने, के बचाउने ? ट्याक्स बढायो त्यो हामीले मान्यौँ । कम्पनीमा दर्ता गर्नुपर्ने भन्यो त्यो पनि हामीले मान्यौँ । अब हामीले भनेको कुरा सरकारले नसुन्ने त ? लोकतन्त्र भन्ने हामी व्यवसायीको कुरा नसुन्ने हुन्छ त ? त्यही भएर हो के युवाहरु विदेशिने । नत्र आफ्नो देश छाडेर विदेशी भूमीमा पसिना बगाउने रहर कसको हुन्छ र ?
लोकतन्त्र होइन, लुटतन्त्र भयो : विष्णु सुवेदी (भूतपूर्व सैनिक )
उमेर ८० वर्ष पुग्यो । घर मेरो नुवाकोट । यो लोकतन्त्र होइन यो त लुटतन्त्र हो । भ्रष्टाचार नगरेर देशै चल्दैन । ज्यानमारालाई कसैले थुन्दैन । बलात्कारीहरु, सुन तस्करीहरु छाती फुलाएर हिँड्छन् । जेष्ठ नागरिकलाई के को सुविधा छ भन्नु ।
अस्ति म वीर अस्पतालमा उपचार गर्न गएको सित्तैमा औषधी पाइन्छ भन्छन् । तर के को पाइनु ? नर्सले त बाहिरबाट किनेर ल्याउनु बाजे भनेर कागजमा औषधी पो लेखेर दिन्छिन् । यही हो त लोकतन्त्र हामी बुढापाकाले उपचार पनि नपाउनु ? पहिला पाँच रुपैयाँको सामान कसैले ६ रुपैयाँमा बेचेको पाए पनि कारबाही हुन्थ्यो ।
त्यतिबेलाको सरकारले जेल हालिदिन्थे । अहिले हेर्नुहोस् त पचासको सामानलाई पाँच हजारमा बेच्दा पनि आँखा चिम्लेर बस्छ सरकार । जति विकास भयो राणाकालमै भएको हो । अहिले जति पनि ठूलाठूला सरकारी कार्यालय छन्, त्यतिबेलै बनेका घरहरुमा बसेका छन् । के सिंहदरबारको कुरा के अरु कार्यालयको कुरा । अहिले त्यस्ता घर बनाएका देख्नुभएको छ तपाईंले ?
उल्टै त्यतिबेला बनाएका भवनहरु भूकम्पमा भत्किएको पनि चार वर्ष भइसक्यो, खै त बनाउन सकेको ? आज नेपालको भनेको भूमी भोलि बिहानसम्म भारतको भइदिन्छ । जङ्गेपिल्लर सारेकोमा सरकारको ध्यानै जाँदैन ।
काम गरेर त खान पाइँदैन, केको लोकतन्त्र ? : शान्ता तिमिल्सिना (फोटोकपी व्यवसायी)
लोकतन्त्र आयो भने काम पाइन्छ होला । विदेश जान पर्दैन होला भन्ने लाग्थ्यो । मलाई के थाहा त लोकतन्त्रमा पनि गरिखान खोज्नेहरुले पनि गरिखान पाउँदैनन् भन्ने ? फोटोकपी मेशिन त राख्न दिंदैन । कतिपटक त हटाउ भनेर पनि भन्यो ।
तर आफ्नो काम गर्ने साधन नै हटायो भने के खाने ? परिवारलाई कसरी पाल्ने ? के यही हो त लोकतन्त्र । मैले त सुनेको विदेशमा सरकारले नै काम गरेर खाउ भनेर पैसादेखि ठाउँ पनि खोजिदिन्छ रे । त्यसै माथि काम गर्न नसक्नेहरुलाई भत्ता पनि दिन्छ रे । तर हाम्रो देशमा सरकारले ल काम गरेर खाउ भनेर केही सहयोग गरेको देख्नुभएको छ तपाईंले ? मैले त देख्या छैन है ।
लोकतन्त्र आयो भन्ने त थाहा थियो नि । तर अहिले लोकतन्त्र भन्या त केही रहेनछ जस्तो लाग्छ । त्यतिबेला साथीहरु त आन्दोलनमा गएका थिए । म त गाउँमा भएर आन्दोलनमा गइँन । उनीहरु अहिले गाउँमै मजदुरी गरेर बसिरहेका छन् । आखिर उनीहरुले के पाए त ? जसले पायो नेताहरुको तलुवा चाट्नेले नै पायो ।
निमुखाहरुले ठगिनुपर्ने अवस्था हटेको छैन : रेमन्त बुढाथोकी (मजदुर)
उमेर २२ वर्ष भयो । खै कस्तो लाग्यो भन्नु र लोकतन्त्र । दुःख कम भएको छैन । हुनेखानेहरुले ठग्ने, निमुखाहरुले ठगिनुपर्ने अवस्था हटेको छैन । पहिले नुवाकोटमा यस्तै मजदुरी काम गरेको थिएँ ।
त्यहाँको ठेकेदारले त आफूलाई डन हुँ पैसा नमाग भनेर पैसा नै दिएन । हामीले कसलाई भन्ने कसैले सुने पो । ठेकेदारहरुले मजदुरहरुलाई समयमै पैसा नदिएर झुलाउने गर्छन् ।
केही गर्छु भन्दा पनि गर्न सकिँदैन । आफूसँग पैसा छैन, सहयोग गर्नका लागि सरकारले त भन्छ । तर त्यो पनि पहुँचवालाले मात्र पाउने रहेछन् । हामीलाई त यो मिलेन त्यो मिलेन भनेर टार्ने काम मात्र गर्छन् सरकारी कर्मचारीले पनि । बाध्य भएर लेबर काम गर्नुपरेको हो ।
लोकतन्त्रमा मजस्ता धेरै नपढेका युवाहरुले बेरोजगार बस्नु नपर्ने हो र ? यहाँ त पढेलेखेका पनि मजदुरी गर्न विदेश जान्छन् । अब कसलाई रहर हुन्छ र दुईचार महिनाको छोरालाई घरमै छाडेर विदेशिन र्? तर यस्तै छ हालत । मजदुरी गरेर केही पैसा जम्मा गरेपछि अर्को सालसम्म विदेश जाने कि भन्ने सोचेको छु ।
भनेजस्तो भएन : रीता तामाङ
२०६२/६३ को आन्दोलनमा म बानेश्वरमा बस्थें । आन्दोलनमा त कति हिँडियो कति हिसाबै छैन । झण्डैले मलाई चोट लागेन, सँगै हिँडेका कति साथीहरु त पुलिसको पिटाइले घाइते भए । आन्दोलनमा जानुपर्यो भनेर घरमै आउँथे । अहिले आन्दोलनमा गएन भने पछि सेवासुविधा केही पनि पाइँदैन, बेरोजगार बस्नुपर्दैन, छोराछोरीलाई सित्तैमा पढाइदिन्छ सरकारले भन्थे ।
के के न शासन आउन थाल्यो जस्तो लाग्थ्यो । काठमाण्डौ त अब अमेरिका जस्तै हुन्छ होला भन्दै हामी साथीभाइहरु एकआपसमा गफ गथ्र्यौँ । यसरी बाटोमा मकै पोल्नुपर्ने होला भनेर त्यतिबेला काँ सोचिएको थियो र ? सरकारले रोजगार नि दिने रे, कसैलाई गरिब हुन नपर्ने रे । खै त ?
नामको मात्र लोकतन्त्र भयो : माधव प्रसाद भण्डारी
जनयुद्धकालमा धेरै दुःख पाइयो । एकपटक त माओवादीले समातेरै लग्यो, गाउँभरि म मरिसक्यो भन्ने हल्ला समेत चल्यो । पहिले म पनि राजनीतिमा सक्रिय थिएँ । इमान्दारी राजनीति गर्दा गरिखान पनि धौधौ हुनेजस्तो लागेपछि मैले आफ्नो बाटो बदलेँ ।
केही समय ठेकेदारी गरेपछि आफ्नै बाउको बिँडो थाम्नुपर्ने भयो । म कर्मकाण्डतिर लागेँ । बलात्कारीहरु उम्किन्छन्, अपराधीहरु दुई दिनमै जेलबाट मुक्त हुन्छन् । लोकतन्त्रको मान्यता के यही हो र ?
देशबासीहरु यस्तो व्यवस्थाप्रति असन्तुष्ट छन् । देशले नयाँ शक्ति खोजिरहेको छ । त्यो नयाँ शक्ति भनेको नयाँ व्यवस्था भन्दा पनि यही व्यवस्थालाई इमान्दारी ढंगले व्यवहारमा लागू गर्ने शक्ति भनेको हो । भाषणले मात्र देश चल्छ भन्ने नराम्रो छाप बसिसकेको छ, त्यसलाई बदल्नुपर्ने हुन्छ । यो त नामको मात्र लोकतन्त्र हो । व्यवहारमा महसुस हुनुपर्ने हो नि, त्यस्तो केही पनि छैन ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
उज्यालाेमा कार्यरत बेदानन्द जाेशी वैदेशिक रोजगारी र समसामयिक विषयमा कलम चलाउनुहुन्छ।