‘केयरगिभर’मा उत्तीर्ण भएका सबै नेपाली श्रमिकलाई इजरायलले क्रमशः लैजाने

 मंसिर १३, २०८१ बिहीबार ८:५८:७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – इजरायलले ‘केयरगिभर’मा उत्तीर्ण सबै नेपाली श्रमिकलाई क्रमशः लैजाने प्रतिबद्धता जनाएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीसँग हिजो भएको भेटमा नेपालका लागि इजरायली राजदूत शुमलिक एरी बासले यस्तो प्रतिबद्धता जनाउनुभएको हो ।

भेटवार्तामा नेपाल र इजरायलबीच भएको द्विपक्षीय श्रम सम्झौताको कार्यान्वयन, ‘केयरगिभर’का रूपमा छनोट भएका नेपाली कामदारहरूलाई यथाशीघ्र इजरायल पठाउने र कामदारको स्रोत देशका रूपमा नेपाललाई इजरायलले सूचीकृत गर्ने विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका सहायक प्रवक्ता वसन्तबहादुर बोहराले मन्त्री भण्डारी र राजदूत बासबीच  कृषि, निर्माणलगायत अन्य क्षेत्रमा नेपाली कामदार पठाउनका लागि पहल गर्ने, कृषि प्रविधि हस्तान्तरण गर्ने, सीप विकास, भाषा तालिम, स्वास्थ्य परीक्षण, श्रमिकको हकअधिकार संरक्षण र सुरक्षालगायत विषयमा दुवै देशबीच थप कूटनीतिक पहल गर्ने विषयमा छलफल भएको जानकारी दिनुभयो ।

राजदूत बासले नेपाली कामदार केयरगिभिङका क्षेत्रमा उत्कृष्ट रहँदै आएको र हाल इजरायलमा युद्ध विरामसमेत घोषणा भइसकेको हुँदा उत्तीर्ण भएका सबै नेपाली कामदारहरूलाई क्रमशः लैजाने जानकारी गराउनुभएको थियो । उहाँले नेपाली कामदारहरूलाई कृषि, निर्माणलगायत अन्य क्षेत्रमासमेत लैजान सकिने बताउनुभयो ।

मन्त्री भण्डारीले इजरायल जान छनोट भई पर्खाइमा रहेका नेपाली कामदारलाई यथाशीघ्र पठाउन परराष्ट्र मन्त्रालयसँग समन्वय र पहल गर्ने बताउनुभयो ।
 

अन्तिम अपडेट: पुस १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया