धुलिखेल क्षेत्रका क्षतिग्रस्त खानेपानी आयोजनालाई जर्मन सरकारले एक लाख युरो सहयोग गर्ने

 पुष १९, २०८१ शुक्रबार १५:१४:३४ | रासस
unn.prixa.net

फाइल फाेटाे

काभ्रेपलाञ्चाेक – गएको असोज दोस्रो हप्ताको बाढी पहिरोले क्षतिग्रस्त काभ्रेको धुलिखेल नगरपालिकामा सञ्चालित खानेपानी आयोजनालाई जर्मन सरकारले एक लाख युरो सहयोग गर्ने भएको छ ।

धुलिखेल नगरपालिकाले गएको कात्तिक पहिलो हप्ता नेपालका लागि जर्मनी राजदूत डा. थोमस प्रिन्जसँग भेट गरी क्षतिग्रस्त आयोजनाको पुनर्निर्माणका लागि प्रस्ताव गरेको थियो । प्रस्तावित विषयमा जर्मन सहयोग नियोग (जीआईजेड) मार्फत नेपालमा रहेको दूतावासले एक करोड ४२ लाख २५ हजार रुपैयाँ सहयोग गर्न धुलिखेलका मेयर अशोक ब्याञ्जू र जीआईजेडका तर्फबाट तीर्थ सिन्हाले सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको छ ।

सम्झौतानुसार केही दिनमै धुलिखेल खानेपानी तथा सरसफाइ उपभोक्ता समितिलाई सहयोग रकम प्रदान गरिने मेयर ब्याञ्जूले जानकारी दिनुभयो । उहाँका अनुसार यो रकमबाट आयोजनाको इन्टेक, पाइप तथा अन्य भौतिक संरचनाको पुनर्निर्माण गरिनेछ ।

बाढी पहिरोले आयोजना क्षतिग्रस्त हुँदा नगरको वडा नम्बर ३, ४, ५, ६ र ८ का उपभोक्ता तथा सदरमुकाममा रहेका सरकारी कार्यालयमा अहिलेसम्म खानेपानी आपूर्तिमा समस्या रहेको छ ।

यसबीचमा क्षतिग्रस्त धुलिखेल खानेपानी आयोजनाको आंशिक पुनर्निर्माणपछि नगरमा पानी वितरण भएको छ । गएको दुई हप्तामा अस्थायी रूपमा क्षतिग्रस्त मुख्य ठाउँमा पाइप जडान गरिएपछि धुलिखेलका उपभोक्ताको घरमा पानी वितरण थालिएको समितिले जनाएको हो । बाढी पहिरोले तीन दशक अघिदेखि सञ्चालनमा रहेको आयोजनामा ठूलो क्षति पुगेको थियो ।

अन्तिम अपडेट: पुस २१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया