श्रीलङ्का आक्रमणः ज्यान गुमाउनेको संख्या ३५९ पुग्यो

 वैशाख ११, २०७६ बुधबार १४:४:६ | एजेन्सी
unn.prixa.net

श्रीलङ्काको राजधानी कोलम्बोका तीन वटा पाँचतारे होटल र दुई वटा गिर्जाघरमा गत आइतबार भएको शृङ्खलाबद्ध बम विस्फोटमा मृत्यु हुनेको संख्या बुधबार मध्यान्हसम्म ३ सय ५९ जना पुगेको प्रहरीले जनाएको छ । 

मृत्यु हुनेमा भारत, अमेरिका, बेलायत र जापान समेतका ३७ जना विदेशी नागरिक रहेको श्रीलङ्काको विदेश मन्त्रालयले जनाएको छ । विस्फोटबाट झण्डै ५ सय व्यक्ति घाइते भएका छन् । उपचार गराइरहेका घाइतेमध्ये अझै केही व्यक्तिको स्वास्थ्य अवस्था गम्भीर रहेको अस्पतालहरुले जनाएका छन् ।

राजधानी कोलम्बोको सेन्ट एन्थोनी चर्च र राजधानी नजिकको नेगोम्बोस्थित सेन्ट सेबास्टियन चर्चमा बिस्फोट गराइएका थिए । यस्तै राजधानीका पाँचतारे होटलहरु साङ्ग्रिला, सिनमन ग्रान्ड र किङ्सबरीमा पनि विस्फोट भएका थिए । मुलुकको पूर्वी क्षेत्र बाट्टिकोलोवा नगरको चर्चमा समेत शक्तिशाली विस्फोट भएको थियो । 

विस्फोटको जिम्मेवारी इस्लामिक स्टेट समूहले लिएको छ । तर सरकारले श्रीलङ्कामै सामान्य सक्रिय समूह नेसनल थोहित जमाथको संलग्नताको आशङ्का गरेको छ । यो समूहलाई अन्तर्राष्ट्रिय आतङ्कवादी समूहले मद्दत गरेको हुनसक्ने श्रीलङ्का सरकारको अनुमान छ ।

प्रधानमन्त्री रनिल विक्रमासिङ्घेले पनि मङ्गलबार राति सञ्चारकर्मीसँग कुरा गर्दै देशको सुरक्षा संयन्त्रले घटनामा विदेशी संलग्नताको आशङ्का गरेको र केही तथ्य प्रमाणले त्यही देखाएको बताउनुभयो ।

गए राति पनि श्रीलङ्काली प्रहरीले खोज अभियान सञ्चालन गरेको र त्यसक्रममा १८ जनलाई नियन्त्रणमा लिएको जनाएको छ । हालसम्म झण्डै ६० जनालाई पक्राउ गरिसकिएको छ । 

बौद्धमार्गीको बहुलता रहेको श्रीलङ्कामा झण्डै ६ प्रतिशत क्याथोलिक सम्प्रदायका मानिस छन् । गिर्जाघरहरुमा विस्फोट हुँदा इसाई धर्मावलम्बीहरु इस्टर पर्वका अवसरमा आयोजित धार्मिक कार्यक्रममा सहभागी भइरहेका थिए ।

अन्तिम अपडेट: पुस १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया