पाैडेलकाे बचाउ गर्दै प्रधानमन्त्रीले भने : राजाकाे शासनका बेला जमिन किन्नुभएकाे रहेछ

 वैशाख १७, २०७६ मंगलबार १७:६:१३ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै - प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारको जग्गालाई लिएर सिंगो पार्टीविरुद्ध भ्रम फैलाउने काम भएको बताउनुभएको छ । 

मंगलबार संघीय संसद भवनमा बसेको नेकपा संसदीय दलको बैठकलाई सम्बोधन गर्दे नेकपाका अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले धेरैले किनबेच गरिसकेपछि किनेका महासचिव विष्णु पौडेलले बालुवाटारको जग्गा नहडपेको बताउनुभयो ।

प्रधानामन्त्री ओलीले बालुवाटारको जग्गा किन्नका लागि महासचिव पौडेलले पदीय दुरुपयोग नगरेको भन्दै उहाँको बचाउ गर्नुभयो । उहाँले भन्नुभयो, '२०६१ सालमा राजाको शासनका बेला, हाम्रो सरकारको बेला होइन, जमिन किन्नुभएको रहेछ । धेरैले किनबेच गरिसकेपछि थाहा नपाएर अरुले गरेको किनबेच त्यो हडपेको होइन । त्यस सम्बन्धमा अहिले मैले केही भनिहाल्नु आवश्यक छैन ।'

उहाँले सरकारी सम्पत्ति जुसुकैले हडपेको भए पनि सरकारले त्यो फिर्ता गर्ने प्रतिबद्धता जाहेर गर्नुभयो । बालुवाटारको जग्गा सरकारी पर्छ कि पर्दैन भन्ने समयक्रमले देखाउने भन्दै उहाँले सरकारले हडप भएका सबै सार्वजनिक जग्गा फिर्ता ल्याउने दाबी गर्नुभयो । उहाँले भन्नुभयो, 'ललिता निवासको बेचिएको भनिएको जग्गाको तथ्य हाम्रो सरकारले बाहिर ल्याएको हो । अहिले सरकारविरुद्ध उल्टै प्रतिपक्षीहरु बोलिरहेका छन् । सरकारी सम्पत्ति जहाँसुकै जोसुकैले हडप गरेको होस् । त्यो जमिन दृढतापूर्वक, कडाइका साथ फिर्ता ल्याने छ । र फिर्ता ल्याउँदा कसलाई मर्का पर्छ हेरिने छैन ।'

प्रधानमन्त्री ओलीले भ्रष्टाचारविरुद्ध सरकार अझै कडा रुपले प्रस्तुत हुने बताउनुभयो । उहाँले वाइड वडी प्रकरणलगायत भ्रष्टाचारका काण्डहरुको सरकारले छानबिन गर्ने र दोषीलाई अनुहार नहेरी कारबाही गर्ने बताउनुभयो । सरकारी र सार्वजनिक जग्गा हडपन नदिने अभियानमा लागेको सरकारले खुला मञ्चको टहरा भत्काएको दाबी गर्नुभयो । उहाँले भन्नुभयो, 'भृकुटीमण्डप हामीले बेचेको हो ? रत्नपार्कमा हामीले टहरा ठड्याएको हो ? हामीले त्यहाँका टहरा भत्काएका छौँ । सरकारी जमिन फिर्ता पनि ल्याएका छौँ ।'

प्रधानमन्त्री ओलीले शान्ति सुरक्षा तथा अमनचैनमा खलल पर्ने गरी बम पड्काउने तथा आतंक फैलाउने कुनै पनि काम हुन नदिने भन्दै घुमाउरो शैलीमा नेत्रविक्रम चन्द विप्लव समूहमाथि लगाएको प्रतिबन्ध फिर्ता नहुने संकेत गर्नुभयो ।

उहाँले सरकार गठनको एक वर्षमा विकास र सम्मृद्धिका लागि आधार तय गरिसकेकाले मुलुक अब समृद्धिको बाटोमा अघि बढ्ने बताउनुभयो ।

विगतको सरकारको समयमा भन्दा आफ्नो नेतृत्वको सरकारको समयमा देशमा शान्ति सुरुक्षाको अवस्था मजबुत भएको दाबी पनि उहाँले गर्नुभयो । उहाँले अधिकारकर्मीहरुले निर्मला पन्तका परिवारलाई अनावश्यक दबाब दिने काम गरेको टिप्पणी गर्नुभयो ।

अन्तिम अपडेट: माघ १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया