त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आजदेखि दैनिक १६ घण्टा सञ्चालनमा
माघ १९, २०८१ शनिबार
काठमाण्डाै - नेपाली कांग्रेसका सांसद मिनेन्द्र रिजालले विकास, पूर्वाधार तथा रोजगारीको सन्दर्भमा सरकारले आधारविहीन सपना बाँड्ने काम गरेको बताउनुभएको छ ।
प्रतिनिधिसभाको आइतबारको बैठकमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा सहभागी हुँदै उहाँले नाराबाट नभइ संसदमा राजनीतिक दलहरुसँग संवाद गरेर सहमतिको बाटोबाट मुलुकको विकास गर्न सुझाव दिनुभयो । सगरमाथा संवाद गर्ने सरकारलाई उहाँले दलहरुसँगको सम्वादलाई प्राथमिकतामा राख्न सुझाव दिनुभयो । सिंचाई र तटबन्धको ठुला ठुला कुरा गरेर मात्रै कृषिमा आत्मनिर्भर हुन नसकिने भन्दै उहाँले योजनाबद्ध आधारशिला तयार पार्नुपर्नेमा जोड दिनुभयो ।
उहाँले गणतन्त्र र संघीयता कमजोर बनाउने बाटोमा, लोकतन्त्रलाई बलियो बनाउने नभइ आधारभूत संरचनालाई कमजोर बनाउने र नीतिगत स्पष्टता नराखी लामो फेहरिस्त राखेर सरकारले नीति तथा कार्यक्रम ल्याएको टिप्पणी गर्नुभयो ।
नीति तथा कार्यक्रम प्रस्तुत गर्दा भाषा, शैली र सम्बोधनलाई विगतकै राजतन्त्रको परम्परमा हिँड्ने काम गरेको आरोप लगाउनुभयो । उहाँले भाषागत र शैलीको कुरा मात्रै नभइ प्रधानमन्त्रीले राष्ट्रपतिलाई विवादमा ल्याउने र आम जनताकाबीच शंका र आलोचनाको पात्र बनाउने काम गरेको भन्दै त्यसो नगर्न आग्रह गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘गणतन्त्रलाई यो सरकारले जोगाउँछ कि जोगाउँदैन भनेर साँच्चै आंशका पैदा भएको छ । यो सरकार नेपालको सरकार हो । नेपालको संविधानले नेपालको कार्यकारिणी अधिकार नेपाल सरकारको नाममा प्रयोग हुने भनेर लेखेको छ । कसैको मेरो सरकारको नाममा होइन । जनतालाई आश्वस्त गर्नुहोस् । नत्र जनताले विश्वास गर्दैनन् ।’
उहाँले सरकारले संघीयताको पक्षमा एउटा पनि ठोस प्रतिबद्धता जाहेर नगरेको टिप्पणी गर्नुभयो । उहाँले लोकतन्त्रप्रति नै सरकार इमान्दार नभएको दावी गर्नुभयो । उहाँले भन्नुभयो, ‘संघीयतालाई कमजोर बनाउँदा देश कमजोर हुन्छ । राष्ट्रियता कमजोर हुन्छ । यो गल्ती नगरोस् ।’
नीति तथा कार्यक्रममा उल्लेख गरिएको शब्द र भाषा प्रति पनि उहाँले आपत्ति जनाउनुभयो । उहाँले भन्नुभयो, ‘’लोकतन्त्रको शब्दसँग सरकारलाई घृणा हो कि के हो ? हरेक स्थानमा लोकतन्त्रको शब्द हटाएर कि त नयाँ विशेषण दिइन्छ, कि त शब्द हटाएर अर्को लेखिन्छ । समाजवादको नयाँ परिभाषा गर्ने अधिकार नीति कार्यक्रमलाई छैन । सरकारलाई छैन । सरकारले होस् पुर्याओस् । संविधानको संरचनालाई भाँच्ने, भत्काउने र कमजोर बनाउने काममा हामी मूकदर्शक भएर बस्दैनौँ ।’
सुन तस्करी र वित्तीय अपराध कानुनी दायरामा ल्याउने भनिएको भन्दै उहाँले सरकारलाई प्रश्न गर्नुभयो, ‘३३ किलो सुन कहाँ गयो सरकार ? कानुनी दायरामा आएको हो भने नेपाली जनताले थाहा पाओस् ।’
महिलामाथि हिंसा हुन दिइने छैन भन्ने सरकारले अझै पनि निर्मला पन्तको हत्यारा पत्ता लगाउन नसकेको भन्दै उहाँले व्यवहारमा देखाउन चुनौती दिनुभयो । उहाँले भन्नुभयो, ‘अब महिला हिंसा हुन दिनेछैन भन्ने मेरो सरकारले निर्मला पन्तको हत्यारा पत्ता लगाउँछ कि अहिले पनि भाग्ने बाटोमा हिड्छ? जिम्मेवारी होइन सरकारको ?’
२३ जना सांसदले नीति तथा कार्यक्रममाथि दर्ता गराएको संयुक्त संशाेधनकर्ताको तर्फबाट कांग्रेसका सांसद रिजालले आफ्नो धारणा राख्नुभएको हो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।