मदननगरमा घन्कियाे कन्हैया कुमारका ‘नारा’

 जेठ ३, २०७६ शुक्रबार १२:२१:४६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – नेपाली कम्युनिष्ट आन्दोलनलाई विश्वस्तरमा पुर्याएका मदन भण्डारी र जीवराज आश्रितको आज २६ औँ स्मृति दिवस । तत्कालीन नेकपा माओवादी र तत्कालीन नेकपा एमालेबीचको एकतापछि बनेको नेपाल कम्युनिष्ट पार्टी(नेकपा) ले मदननगर बल्खुमा २६औँ मदन–आश्रित स्मृति मनायो । 

पार्टीका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायत पार्टीका केन्द्रीय नेतृत्वसहित उपस्थित भएको स्मृति सभामा फेरि एकपटक नेपाली कम्युनिष्ट आन्दोलनको वर्तमान र भविष्यबारे विमर्श अघि बढाइएको छ ।

अध्यक्ष प्रचण्डले मदन भण्डारी समयअनुकुल रणनीति बनाएर अघि बढ्ने नेता भएको बताउँदै भण्डारीका विचारलाई आधार बनाउँदै नेपाली कम्युनिष्ट आन्दोलनलाई अघि बढाउनु पर्नेे बताउनुभयो ।

मदन भण्डारीजस्तै परिस्थितिअनुसार नेपाली कम्युनिष्ट आन्दोलनलाई अगाडि बढाउनुपर्ने उहाँले बताउनुभयो । उहाँले नेपाली कम्युनिष्ट आन्दोलनले मार्क्सवादलाई कुनै धर्मशास्त्रका रुपमा बुझ्न पनि नहुने बताउनुभयो ।

उहाँले मार्क्सवादलाई डग्मा(जडसूत्रवादी वा अति सैद्धान्तिक) र प्राग्मा (व्यवहारिक) हिसाबले मात्रै हेर्न नहुने स्पष्ट पार्नुभयो । मार्क्सवादलाई विज्ञान मानेर कम्युनिष्ट आन्दोलन अघि बढाउनु पर्ने उहाँले बताउनुभयो । 


त्यस्तै नेकपाका अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पनि मदन भण्डारीका विचारलाई नै अन्तिम सत्य मानेर अघि हिँड्नु भन्दा पनि त्यसलाई विकसित गर्दै कम्युनिष्ट आन्दोलन अगाडि बढाउनु पर्ने बताउनुभयो । प्रचण्डले झैँ उहाँले पनि आफूहरुको रणनीति समाजवादउन्मुख नै भएको स्पष्ट पार्नुभयो । 

घन्कियाे कन्हैयाका नारा 

मदन–आश्रित स्मृति दिवस मनाइरहँदा मदन भण्डारी स्कुल अफ एसियाका विद्यार्थीहरुले भने भारतमा लोकप्रिय रहेका कन्हैया कुमारका नारा लगाइरहेका थिए ।

त्यस्तै उनीहरुले ‘लङ लिभ सोसलिज्म’, ‘बाई–बाई क्यापिटालिज्म’, गाउँगाउँबाट उठ, बस्ती–बस्तीबाट उठ’ जस्ता नारा लगाएका थिए । 

उनीहरुले भारतीय विद्यार्थी नेता कन्हैया कुमारले जवाहरलाल नेहरु विश्वविद्यालयमा लगाएको नाराको ‘नेपाली भर्जन’ का नारा लगाएका थिए ।

कन्हैयाको ‘हम क्या चाहते– आजादी’ जस्ता नारा अहिले भैरहेको भारतीय लोकसभा चुनावमा निकै प्रयोग भएको थियो ।

उनले गरिबी, भोकमरी, पितृसत्ता, बेरोजगारी, दमनलगायतका विभेदकारी नीति तथा कार्यक्रमबाट स्वतन्त्र हुन पाउनु पर्ने भन्दै नारा लगाएका थिए । 
 

अन्तिम अपडेट: माघ १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया