काम खोज्दै विदेश जाने नेपाली ३९ प्रतिशतले घटे, तर रेमिटयान्स बढेर साढे ६ खर्ब पुग्यो

 जेठ ५, २०७६ आइतबार १९:५६:४२ | अर्जुन पोख्रेल
unn.prixa.net

काम खोज्दै विदेशिने नेपाल घटेका छन् । नेपाल राष्ट्रबैंकले सार्वजनिक गरेको नौ महिनाको आर्थिक तथा वित्तिय अवस्थामा विदेश जाने नेपालीको संख्यामा उल्लेख्य कमी आएको देखाएको छ ।

अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) का आधारमा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या अघिल्लो वर्षको नौ महिनाको तुलनामा यो वर्षको नौ महिनामा ३९ दशमलव ३ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको नौै महिनामा विदेश जाने नेपालीको संख्या ६ दशमलव ८ प्रतिशतले घटेको थियो ।

यस्तै पुनः श्रम स्वीकृतिका आधारमा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या आर्थिक वर्ष २०७५-७६ को नौ महिनामा ४ दशमलव ६ प्रतिशतले बढेको छ । तर वर्ष अर्थात आर्थिक वर्ष २०७४-७५ को पहिलो नौ महिनामा पुन श्रम स्वीकृतिका आधारमा विदेश जाने नेपाली ३ दशमलव १ प्रतिशतले घटेका थिए ।

विदेश जाने घटे पनि रेमिट्यान्स भने बढेको बढ्यै

अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) का आधारमा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या अघिल्लो वर्षको नौ महिनाको तुलनामा यो  बर्षको नौ महिनामा ३९ दशमलव ३ प्रतिशतले घटेको छ । तर विदेशबाट नेपाल आउने रेमिट्यान्स भने बढेको छ । 

चालु आर्थिक वर्षको नौ महिनामा रेमिट्यान्स पोहोरको तुलनामा २० दशमलव ९ प्रतिशतले बढेको छ । नौ महिनाको अवधिमा ६ खर्ब ५३ अर्ब १९ करोड रुपैयाँ रेमिट्यान्स नेपाल भित्रिएको राष्ट्रबैंकले जनाएको छ । अघिल्लो वर्ष रेमिट्यान्सको बृद्धिदर ५ दशमलव ६ प्रतिशत रहेको थियो ।

यस्तै अमेरिकी डलरमा रेमिट्यान्स ९ दशमलव ५ प्रतिशतले वृद्धि भएको छ । अघिल्लो वर्ष यो ९ दशमलव ६ प्रतिशतले बढेको थियो । नौ महिनामा खुद ट्रान्सफर आय २० दशमलव ९ प्रतिशतले बढेर ७ खर्ब ४६ अर्ब ४ करोड पुगेको छ ।

विदेश जाने नेपाली घटे पनि रेमिट्यान्स बढ्नुको यसको मुख्य कारण डलरको भाउमा आएको वृद्धि हो । नेपालीहरु विदेशमा काम गर्न जाने सबैजसो देशका मुद्रा बलियो हुँदा नेपालीले पठाएको रेमिट्यान्स पनि बढेको नेपाल राष्ट्र बैंकको भनाइ छ । 

‘डलरको भाउ १ सय १८ रुपैयाँ ३ पैसासम्म पनि पुगेको थियो, त्यो बेलामा फाइदा हुने भएकाले धेरै नेपालीले रेमिट्यान्स पठाए, डलरको भाउसँगै अरु विदेशी मुद्राको भाउ पनि बढेको छ, रेमिट्यान्स बढ्नुको मुख्य कारण यही हो ।’ नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक तथा अनुसन्धान विभागका प्रमुख गुणाकर भट्टले उज्यालो अनलाइनसँग भन्नुभयो । 

आर्थिक वर्ष सुरु हुने महिना साउनमा अमेरिकी डलरको भाउ १ सय ९ रुपैँया ९४ पैसा रहेको थियो, २०७५ चैत मसान्तमा अमेरिकी डलर एकको खरिद विनिमय दर १ सय १० रुपैयाँ ३५ पैसामा पुगेको  छ थियो । बीचमा अमेरिकी डलरको भाउ १ सय १८ रुपैयाँसम्म पुगेको थियो ।

२०७५ असार मसान्तको तुलनामा २०७५ चैत मसान्तमा नेपाली रूपैयाँ अमेरिकी डलरसँग ० दशलमव ९ प्रतिशतले अवमूल्यन भएको छ । अघिल्लो वर्षको नौ महिनाको अवधिमा नेपाली रुपैयाँ १ दशमलव २ प्रतिशतले अवमूल्यन भएको थियो ।

यस्तै धेरै नेपाली वैदेशिक रोजगारीमा जाने देश कतारी रियालको भाउ आर्थिक वर्षको सुरुमा ३० रुपैँया ६ पैसा रहेकोमा बीचमा बढ्दै अहिले ३० रुपैयाँ ९४ पैसामा रोकिएको छ । यस्तै आर्थिक वर्षको सुरुमा कुवेती दिनार ३ सय ६२ रुपैयाँ रहेकोमा अहिले ३ सय ७०रुपैयाँ पुगेको छ ।

रेमिट्यान्स बढ्नुको अर्काे कारण सरकारले सुन र अरु खुद्रा सामान आयातमा गरेको कडाइ पनि हो । यसअघि विदेशबाट फर्केने नेपालीले भन्सारमा धेरै छुट पाउने भएपछि सामान धेरै ल्याउँथे तर अहिले भन्सारमा कडाइ भएपछि सामानको साटो पैसा नै ल्याउने गरेका छन् ।

यस्तै नेपालका बैंकले दिने ब्याजदर बढाएको र पैसाको कारोबार गर्ने वित्तीय संस्थाले विदेशी देशमा शाखा खोलेर नेपाल पैसा पठाउन सजिलो बनाएका कारण पनि रेमिट्यान्स बढेको राष्ट्र बैंकको भनाइ छ ।
 

अन्तिम अपडेट: मंसिर ९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

अर्जुन पोख्रेल

उज्यालोमा कार्यरत अर्जुन पोख्रेल आर्थिक विषयमा कलम चलाउनु हुन्छ।  

तपाईको प्रतिक्रिया