कोप–२९ मा ‘एनसीक्यूजी’ कार्यान्वयन प्रक्रिया स्पष्ट नभएको गुनासो
मंसिर १३, २०८१ बिहिबार
काठमाण्डाै – ‘श्रीमान सगरमाथा चढ्ने दिन कहिल्यै पनि राति राम्रोसँग सुत्न सक्दिनँ, यसपटक पनि बिहान ३ बजे नै उठेर भगवानलाई पूजा आराधना गरेँ, पानी चढाएँ र धुप बालेँ’ २४ पटकसम्म सगरमाथा चढेका कामीरिता शेर्पाकी श्रीमती ल्हाक्पा जाङ्मु शेर्पाको भनाइ हो, यो । कामीरिताले चुचुरोमा पुगेर सबैभन्दा बढी पटक सगरमाथा आरोहण गरेको आफ्नै कीर्तिमान तोड्दै गर्दा घरमा उहाँकी श्रीमती यसैगरी भगवानको पुकार गर्दै हुनुहुन्थ्यो । श्रीमान सगरमाथा आरोहण गर्न थालेदेखि नै आफूले भगवानको नाम जप्ने गरेको श्रीमती ल्हाक्पाको भनाइ छ ।
सोलुखुम्बुको फोर्चे गाउँकी पासाङ डोमा शेर्पाले पनि यसै गर्नुहुन्छ । सगरमाथा आरोहीकी श्रीमती शेर्पा भन्नुहुन्छ, ‘श्रीमान हिमाल पुगेपछि म हरेक साँझ गुम्बामा बत्ति बालेर श्रीमान् सकुशल फर्किउन भन्दै प्रार्थना गरिरहन्छु, श्रीमान आधार शिविरबाट उकालो लागेपछि पेटमा भोक र मनमा शान्ति दुवै हराउँछ ।’
श्रीमान् हिमाल चढ्ने दिन बिहान उज्यालो नहुँदै गुम्बा घुम्न पुग्ने ल्हाक्पा जाङ्मु र पासाङ डोमा मात्र हैन हिमाल चढ्न, बाटो बनाउन वा सामान ओसार्न गएका हरेकका परिवार चिन्तामा हुन्छन् । आरोही पीके शेर्पा भन्नुहुन्छ ‘हिमालमा कतिबेला के हुन्छ केही टुङ्गो हुँदैन, त्यहाँ सकेण्ड भरमा मौसम परिवर्तन भएर हावाहुरी चल्न सक्छ, हिमपहिरो खस्न सक्छ, खर्पसमा पर्न सकिन्छ, चिप्लेर लडिन्छ, त्यत्ति मात्र हैन उचाइका कारण लेक लागेर पनि ज्यान जान सक्छ, त्यसैले घरपरिवार त चिन्तामा हुने नै भए ।’
खुम्बु पासाङ ल्हमु गाउँपालिकाको फोर्चे गाउँ त्यस्तो गाउँ हो, त्यहाँ रहेका ८० भन्दा बढी घरधुरीमा हरेक घरमा कम्तिमा एक जना मानिस कामका लागि हिमालतिर जान्छन् । कोही आरोहीलाई स्याहार्दै शिखरतर्फ जान्छन् भने कोही आरोहीको खाना पकाउने, कोही सामान ओसार्ने त कोही हिमालमा बाटो बनाउने काममा खटिएका हुन्छन् । आरोहण याममा गाउँ नै रित्तो बनाएर पुरुषहरु र पछिल्लो समयमा केही महिलाहरु पनि हिमालतिर जान्छन् भने घरमा रहेकाहरु उनीहरु सकुशल फर्किउन् भनेर पूजा आराधना गरिरहेका हुन्छन् ।
खुम्बु पासाङल्हामु गाउँपालिकाका धेरैजसोको जीवनयापन हिमालमै जोडिएको छ । कोही होटल व्यवसाय गर्छन् भने धेरैजसो हिमालतिर गएका हुन्छन् । हिमालकै आम्दानीले परिवार चलेको हुन्छ । तर त्यही हिमालले धेरैको जिन्दगी उजाडिदिएको पनि छ । तर पनि अरु विकल्प नभएकोले हिमालतिर जानु नै छ ।
हिमालतिर गएकाहरु जोखिम उठाएर कष्टका साथ काम गरिरहेका हुन्छन् भने हरेक पल मृत्युसँग पौंठेजोरी खेलिरहेका हुन्छन् । अनि घरमा रहेकाहरु भगवानको प्रार्थना गर्दै बत्ती बालेर रात कटाइरहेका हुन्छन् ।
खुम्जुङकी फुरदिकी शेर्पाका श्रीमान मिङमार शेर्पा र निमा डोमा शेर्पाका श्रीमान छिरिङ वाङछु शेर्पाले सगरमाथामा ज्यान गुमाए । यस वर्ष दुवैजना खुशी खोज्दै सगरमाथा आरोहणमा गए । सगरमाथा आरोहणमा जानुअघि उज्यालोसँगको कुराकानीमा फुरदिकी शेर्पाले भन्नुभयो ‘हिमालमा गएकाहरुको परिवार सँधै चिन्तामा हुन्छन्, सकुशल फर्किउन भनेर हर साँझ बिहान बत्ति बालेर भगवानसँग प्रार्थना गरेर बस्छन् ।’
बुद्ध धर्मावलम्बीहरुले हिमाललाई भगवानकै रुपमा पुज्छन् । त्यसैले आफन्तलाई केही नहोस् भनेर प्रार्थना गर्ने गरेको निमा डोमा शेर्पाले बताउनुभयो । उहाँले भन्नुभयो, ‘तर पनि सबैको प्रार्थना भगवानले कहाँ सुन्छन् र ? मेरो प्रार्थना सुनेनन्, त्यसैले मेरो जिन्दगी हिमालले उजाडिदियो’, फुरदिकीले भप्नुभयो ‘हिमालमा गएका थुप्रैले जीवनलीला हिमालमै मेटिँदा घरपरिवारको बिचल्ली भएको छ, कति अपाङ्ग भएर पनि फर्किएका छन्, निकै जोखिम छ, त्यसैले आत्म शान्तिको लागि भगवानको प्रार्थना गरेर बस्छौँ ।’
हुन त पछिल्लो समयमा हिमालमा जानेहरुले तालिम लिने, त्यहाँको वातावरणमैत्री उपकरण र कपडा, उद्दारको लागि प्रविधि तथा हेलिकप्टरको सहज उपलब्धता लगायतको कारण हिमालमा ज्यान गुमाउनेको संख्या घटिरहेको छ । तथापी डर घटेको छैन । आधार शिविर भन्दा माथि गएपछि अहिले पनि जुनसुकै बेला खतरा रहेकोले ज्यान मेरो भन्न नपाउने कीर्तिमानी आरोही कामीरिता शेर्पा बताउनुहुन्छ ।
जोखिम निकै भएकै र हिमालको काम कष्टपूर्ण भएकोले आफूले छोराछोरीलाई हिमालमा नपठाउने निधो गरेको कामीरिता शेर्पा बताउनुहुन्छ । आफूले दुःख गरेर भए पनि सन्तानलाई शिक्षा दिएर अरु नै काम गर्न प्रेरित गरिरहेको शेर्पा बताउनुहुन्छ । त्यसो त पहिलो पटक सगरमाथा शिखरमा मानव पाइला पुग्दाको समूहका एक मात्र जीवित व्यक्ति कान्छा शेर्पाले पनि आफ्ना छोराछोरीलाई हिमालमा पठाउनुभएन ।
कान्छा शेर्पा भन्नुहुन्छ ‘त्यहाँ धेरै जोखिम छ, त्यसैले मैले छोराछोरीलाई पठाइनँ, हिमालमा कष्ट भोगेकाहरु सकेसम्म सन्तानलाई पठाउन मान्दैनन् ।’ सबैले चिन्ता गरेर हिमाल आरोहणमा कोही नजाने त ? देशमा पर्यटक आगमन र राजश्व बढाइरहेको हिमाल आरोहण कार्यलाई संकटमा पार्ने ?
हिमाल आरोहण पेशामा संलग्नहरु भन्छन् ‘सरकारले आरोहीलाई सम्मान गर्नुपर्छ, सुरक्षाको लागि आवश्यक व्यवस्था गर्न सहजीकरण गर्नुपर्छ र यदि केही भैहालेमा उनीहरुका घर परिवारलाई सहयोगको ग्यारेन्टी हुनुपर्छ, हिमाल विशिष्ट क्षेत्र हो भनेर सरकारले त्यहाँ काम गर्नेहरुलाई विशेष सुविधा दिनुपर्छ ।’
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।