गृहमन्त्री थापालाई सांसदकाे प्रश्न : विस्फाेटमा मारिने नेपाली नागरिक नभए कुन देशका हुन् ?

 जेठ १३, २०७६ सोमबार १४:०:१७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसदहरुले राजधानीको बम विस्फोटमा मृत्यु भएका नागरिक सामान्य नागरिक नभएको भन्ने गृहमन्त्री राम बहादुर थापाको भनाइप्रति आपत्ति जनाएका छन् ।

प्रतिनिधिसभाको सोमबारको बैठकमा देशको शान्ति सुरक्षालगायत पछिल्ला घटनाबारे जानकारी गराउने क्रममा गृहमन्त्री रामबहादुर थापाले बम विस्फोटमा मारिनेहरु सामान्य नागरिक नभएको बताएपछि कांग्रेसका सांसदहरुले त्यसप्रति आपत्ति जनाएका हुन् । उनीहरुले घटनामा मारिने ‘कुन देशका नागरिक हुन् ’ भनी गृहमन्त्रीलाई प्रतिप्रश्न गरे ।

सांसद पुष्पा भुसालले शान्ति सुरक्षाको प्रत्याभूति गर्न नसक्ने सरकारले हठ नत्याग्ने र विप्लवले पनि आफ्नो हिंसा नत्याग्ने हो भने त्यसको पीडा सर्वसाधारणले कहिलेसम्म भोग्नुपर्ने भनी प्रश्न गर्नुभयो । उहाँले सोध्नुभयो 'गृहमन्त्रीले राजधानीमा भएको विस्फाेटमा परि मृत्यु भएका ४ जना नेपाली जनता होइनन्, नेपाली नागरिक होइनन् भन्नुभयो । उनीहरु नागरिक होइनन् भने को हुन् ?'

सांसद देवेन्द्रराज कँडेलले ‘हिजोको द्वन्द्वकालीन समयमा तात्कालिन सरकारले बोल्ने भाषा नै गृहमन्त्रीले प्रयोग गरेको भन्दै हिजोको सरकारले गरेको काम गलत थियो कि सही‘ भनी प्रश्न गर्नुभयो । उहाँले प्रश्न गर्नुभयो “जो मरे पनि के ती नेपाली नागरिक होइनन् ? हिजो मरेका पनि नेपाली नागरिक होइनन् ?'

सांसद डाक्टर मिनेन्द्र रिजालले सरकारलाई हठ छोड्न र विप्लवलाई हिंसा छोड्न आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, 'सशस्त्र द्वन्द्वमा बाँचे सत्तामा पुगिन्छ मरे नागरिकता जान्छ भन्ने गृहमन्त्रीको भनाइबाट समस्या समाधान हुँदैन । गम्भीर बन्नुहोस् । हिजोका आफ्ना दिन सम्झनुहोस् । भोलि नेपालीलाई थप दु:ख नदिनुस् । आग्रह गर्दछु ।'

सांसद राजेन्द्रकुमार केसीले बम विस्फोटसँगै राजधानीबासीहरु त्रसित भएको भन्दै शान्ति सुरक्षाको प्रत्याभुति कसरी गराउनुहुन्छ भनी प्रश्न गर्नुभयो ।

सांसद लक्ष्मी परियारले मृत्यु भएकाहरु नेपाली होइनन् भने को हुन् ? भनी प्रश्न गर्नुभयो ।

सांसद पार्वति डिसी चौधरीले बम विस्फाेटमा परि मृत्यु हुने नेपाली नभए को हुन् भनी प्रश्न गर्नुभयो ।

सांसद उमा रेग्मीले राजधानीको बमकाण्डले सबैलाई तात्कालिन माओवादीको झल्को दिलाएको भन्दै वार्ता मार्फत समस्याको समाधान खोज्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।

सांसद सुजाता परियारले बम विस्फोटमा मृत्यु भएका नेपाली नागरिक नभए को हुन् भनी गृहमन्त्रीसंग प्रश्न गर्नुभयो । उहाँले पाँचथर हत्याकाण्डमा संलग्न हत्यारा कहिले पत्ता लगाई कारवाही गर्नुहुन्छ भनी प्रश्न गर्नुभयो ।

सांसद देवप्रकाश तिमिल्सिनाले वार्तामार्फत समस्या समाधान खोज्न आग्रह गर्नुभयो ।

राजपाका सांसद शरदसिंह भण्डारीले राजनीतिक स्थायित्व र स्थिरतको जतिसुकै नारा लगाए पनि राजनीतिक समस्या अझै रहेको भन्दै त्यसलाई स्वीकार गर्न सरकारको ध्यानाकर्षण गर्नुभयो ।

त्यसैगरी, सांसद लक्षमणलाल कर्णले राजधानीको बम विस्फोटको घटनाले समग्र देशबासी नै चिन्तित रहेको भन्दै राजनीतिक रुपले समस्यामा समाधान खोज्न माग गर्नुभयो । उहाँले गिरीशचन्द्र लालको प्रतिवेदन प्रकासित किन नगरेको भनी प्रश्न गर्नुभयो । 

अन्तिम अपडेट: माघ १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया