मोदी आएपछि नेपाल–भारत सम्बन्ध राम्रो भएको छ : पूर्व राजदूत सिंह

 जेठ १४, २०७६ मंगलबार १५:१३:४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – प्रधानमन्त्री केपी शर्मा ओलीका परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराईले प्रधानमन्त्री ओली भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सपथ ग्रहण कार्यक्रममा सहभागी हुन जाँदा द्विपक्षीय महत्वबारे छलफल हुने बताउनु भएको छ  ।  प्रधानमन्त्री ओली बिहीबार दिउँसो भारत जाँदै हुनुहुन्छ । 

मंगलबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै सल्लाहकार डा. भट्टराईले भन्नुभयो, ‘भारतीय प्रधानमन्त्री मोदीको सपथ ग्रहणमा सहभागी हुनका लागि निम्ता आएको छ । बिमस्टेक राष्ट्रका सबै सदस्य सहभागी हुने कार्यक्रम छ । त्यसबाहेक किर्गिकिस्तानका राष्ट्रपति र मरिससका प्रधानमन्त्री पनि आउने कार्यक्रम छ भन्ने जानकारीमा आएको छ ।’ बिहीबार साँझ हुने सपथ ग्रहणमा सहभागी भएर ओली भोलिपल्ट (शुक्रबार) स्वदेश फर्कने कार्यक्रम रहेको भट्टराईले जानकारी दिनुभयो । 

डाक्टर भट्टराईले प्रधानमन्त्री ओली र भारतीय समकक्षी मोदीबीच भेटवार्ता हुने पनि बताउनुभयो । उहाँले भन्नुभयो, ‘प्रधानमन्त्रीको यो छोटो भ्रमण हो । नेपाल–भारत द्विपक्षीय महत्वका विषयमा उहाँहरुबीच सामान्य छलफल हुन्छ ।’ नेपाल र भारतबीच सदियौंदेखि घनिष्ठ सम्बन्ध रहेकोले आगामी दिनमा पनि सम्बन्ध सुमधुर हुने उहाँको विश्वास छ । 

भट्टराईले नेपाल र भारतबीच अरुको भन्दा बढी नै चासो रहेको पनि बताउनुभयो । उहाँले भन्नुभयो, ‘हामीबीच बहुआयामिक सम्बन्ध छ । धेरै विषय भएकोले समस्या पनि छन् । पछिल्लो समय समस्याहरुपनि समाधानतर्फ उन्मुख छन् ।’ सन् २०१८ मा तीन चार वटा विषयहरु समाधान गर्न सफल भएको उहाँको दाबी छ । 

फरक प्रसंगमा उहाँले नेपाल–भारत प्रबुद्ध व्यक्ति समूह (ईपीजी) ले तयार पारेको प्रतिवेदन दुवै देशका प्रधानमन्त्रीले छिट्टै बुझ्ने पनि बताउनुभयो । भट्टराईले भन्नुभयो, ‘हामी दुवै पक्षका सदस्यहरुले सर्वसम्मतिले प्रतिवेदन तयार पारेका हौँ । भारतमा चुनाव भएकोले मोदीको व्यस्तताका कारण प्रतिवेदन बुझाउन समय लागेको हो । अब छिट्टै बुझ्नुहुन्छ ।’

भारतका लागि पूर्व नेपाली राजदूत डा. दुर्गेशमान सिंहले भारतमा प्रचण्ड बहुमतका साथ भाजपाको पूनरोदय भएकोले प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो नेपाल नीतिलाई निरन्तरता नै दिने स्पष्ट पार्नुभयो । उहाँले भन्नुभयो, ‘मोदीले छिमेक नीतिलाई अझै बलियो र मजबुत बनाएर अघि बढाउनेछन् ।’ 

भारतमा मोदीको उदयसँगै नेपाल–भारत सम्बन्ध राजनीतिक तहमा समेत बलियो भएको सुनाउँदै यसले दुवै देशलाई हित गरेको पनि सिंहको दाबी छ । उहाँले भन्नुभयो, ‘मोदी आफ्नो पहिलो कार्यकालमा चार पटक नेपाल भ्रमणमा आउनुभयो । उहाँले नेपाललाई विशेष महत्व दिनुभएको छ । बास्तवमा भन्ने हो भने उहाँ प्रधानमन्त्री भएपछि भारतले नेपाललाई नयाँ रुपमा महत्व दिएको छ ।’

सिंहले मोदी प्रधानमन्त्री बन्नुपुर्व नेपाल–भारत सम्बन्ध कर्मचारीतन्त्रले चलाएको भए पनि मोदी आएपछि धेरै राम्रो भएको सुनाउनुभयो । उहाँले भन्नुभयो, ‘पहिले हामी भारतसामू निरीह थियौं, मोदी आएपछि धेरै सुमधुर सम्बन्ध भएको छ । अहिले सम्बन्ध राम्रो छ ।’

सिंहले नेपाल–भारत सम्बन्धमा अहिले बुद्धिष्ट, जानकीलगायतका सर्किटहरु सञ्चालनमा आउने भएकोले यसले पनि दुई देशबीच जनस्तरमा सम्बन्ध बलियो बनाउने बताउनुभयो । नेपालले पनि भारतसामू बोलेका कुराहरु पूरा गर्नुपर्ने उहाँको भनाइ छ । 


 

अन्तिम अपडेट: माघ १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया