सांसदहरुलाई भूमि मन्त्रीको सुझाव: पहिला ऐन कानुन बुझ्नुस्

 असार ६, २०७६ शुक्रबार १५:४०:५७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले ऐन कानुन बुझेर मात्र कुरा गर्न संसदहरुलाई सुझाव दिनुभएको छ । 

प्रतिनिधिसभाको शुक्रबारको बैठकमा गुठी सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक फिर्ताबारे चासो राखेका सांसदलाई मन्त्री अर्यालले कानुन बुझ्न र सूचना लिन सुझाव दिनुभएको हो ।

‘राष्ट्रियसभामा पेश भएको विधेयक प्रतिनिधिसभाबाट फिर्ता लिन मिल्दैन,’ उहाँले भन्नुभयो, ‘माननीय सदस्यहरुले पहिला नियम कानुन बुझ्नुपर्यो, राष्ट्रियसभामा पेश भएको विधेयक राष्ट्रियसभाबाटै फिर्ता लिनुपर्ने व्यवस्था छ ।’

विधेयक फिर्ता लिन बिहीबारमात्रै पनि मन्त्रिपरिषद् बैठकले निर्णय गरिसकेको र राष्ट्रियसभामा पनि आवश्यक प्रक्रिया अघि बढाइएको उहाँले जानकारी दिनुभयो । 

धर्म संस्कृति, परम्परा, जात्रा, पर्व, मठ, मन्दिरसँग जोडिएका भावनात्मक कुरामा सरकार कहीँ पनि विचलित नभएको भन्दै सबैसँग छलफल गरेर नयाँ विधेयक बनाउने काम पनि भइरहेको उहाँले बताउनुभयो ।  

संस्कृति सम्पदालाई कायम राख्दै त्यससँग जोडिएको विसंगतिको अन्त्य हुनेगरी अब गुठी विधेयक ल्याइने पनि उहाँले बताउनुभयो ।   

उहाँले मोहियानी हक स्थापित गर्ने सम्बन्धमा सरकार संवेदनशील रहेको र त्यससम्बन्धी कानुन निर्माणका लागि प्रकृया अघि बढिसकेको पनि जानकारी गराउनुभयो । भू–उपयोग ऐनमार्फत चक्लाबन्दीलाई जनस्तरबाट सुरुवात गर्ने गरी कानुन निर्माणमा सरकार लागेको उहाँले स्पष्ट पार्नुभयो ।

सरकारले अघि बढाएको १५ औँ योजनामार्फत मन्त्रालयले मुख्यगरी ५ वटा विषयलाई विशेष प्राथमिकतामा राखेर कार्यक्रम र योजना बनाएको पनि उहाँले बताउनु भयो । 

भूमिहीन सुकुम्बासी, दलित, मुक्तकमैया (हलिया, चरवा, कम्लरी) लगायत पिछडिएका र सिमान्तकृत वर्गको भूमि र भूमि स्रोतमा पहुँच पुर्‍याउने गरी काम भइरहेको उहाँले बताउनुभयो ।
 
 

अन्तिम अपडेट: माघ १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया