अझै मेटिएनन् द्वन्द्वका डोबहरु !

 असार १९, २०७६ बिहीबार १६:५७:३६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - द्वन्द्व पीडितहरुको न्यायका लागि भन्दै महिला कानुन र विकास मञ्चले बिहीबारदेखि एक हप्तासम्म द्वन्द्व पीडितहरुको फोटो प्रदर्शनी आयोजना गरेको छ ।   

प्रदर्शनीमा बेपत्ता भएका आफ्ना परिवारका सदस्यको पर्खाइमा रहेका परिवारका सदस्यलाई देखाइएको छ । त्यस्तै द्वन्द्वका बेला श्रीमान तथा छोरा गुमाएका, आफै अंगभंग भएका, बलात्कारमा परेकाहरु पीडित पक्षको दुःख र वेदनालाई कथा बनाएर ‘न्यायको प्रतीक्षा’ वृत्तचित्र समेत देखाइएको छ ।  

वृत्तचित्रमा विभिन्न जिल्लाका पीडितले वर्षौंदेखि भोगेका दुःख तथा न्याय प्राप्तिका लागि गरेका अपेक्षालाई प्रस्तुत गरिएको छ । 

बृत्तचित्रमा राज्यले आफ्नो छोरोलाई बेपत्ता बनाएर अहिलेसम्म उसको बारेमा कुनै जानकारी नदिएको भन्दै झुमादेवी ओलीले छोराको कि लाश कि सास देखाउन राज्यसँग माग गर्नुभएको देखाइएको छ ।  

यस्तै जगदीस यादवले त्यसबेला आफूलाई सुराकीको आरोप लगाउँदै तत्कालिन माओवादीले कुटपिट गरेर आफ्नो दुवै खुट्टा भाचिएको बताउनुहुन्छ । खुट्टाका हड्डिहरु टुक्राटुक्रा हुने गरी भाचिएका कारण यादव राम्रोसँग हिँडडुल गर्न सक्नुहुन्न । जिल्ला प्रशासन कार्यालय, स्थानीय शान्ति समिति तथा सत्य निरुपण आयोगमा पटक पटक राहत र न्यायका लागि धाएको भए पनि अहिलेसम्म कुनै सहयोग उपलब्ध नभएको उहाँको गुनासो छ । 

द्वन्द्वका समयमा राज्यपक्ष र तत्कालीन विद्रोही माओवादी पक्षको आक्रमणबाट झण्डै १७ हजार नागरिक मारिएका थिए । त्यसमध्ये राज्यपक्षबाट ११ हजार र तत्कालीन विद्रोही पक्षबाट ६ हजार नागरिकको ज्यान गएको तथ्यांक छ । 

संक्रमणकालीन न्याय प्रक्रियालाई पीडित केन्द्रित बनाइ द्वन्द्व पीडितहरुको न्याय र परिपूरणको आवश्यकतालाई सम्बोधन गर्नु अहिलेको आवश्यकता हो ।तत्कालीन विद्रोही माओवादी भन्दै राज्य पक्षबाट धेरै जसो दमनमा परे ।

माओवादी भएको आरोप लगाउँदै नेपाली सेना र प्रहरीले अनाहकमा सर्वसाधारण नागरिकलाई पनि दु:ख दिएको थियो । नेपाली सेनाले चरम यातना दिएर बालिका माया विकको बलात्कारपछि हत्या गरेको घटना तेतिबेलै खुलेको हो । तर यस्ता घटनामा संलग्न कोही पनि अझैसम्म कानुनी दायरामा आउन सकेका छैनन् भने पीडित र उनका परिवारले न्याय पाउन सकिरहेका छैनन् । 

तत्कालीन राज्य व्यवस्था तथा द्वन्द्वरत दुवै पक्षबाट पीडा भोगका नागरिकको न्यायको माग गर्दै ‘न्यायको प्रतीक्षा’ को विषयमा शैली थिएटरका कलाकारले नाटक मञ्चन पनि गरेका थिए ।  

बिहीबारबाट सुरु भएको कार्यक्रममा देखाइएका द्वन्द्व पीडितहरुको कथा, नाटक र फोटोहरुले उनीहरुले वर्षौंदेखि भोगेको दुःख र अन्यायलाई कारुणिक रुपमा प्रदर्शित गरेको छ । 

बबहरमहलस्थित नेपाल कला परिषदमा आयोजित कार्यक्रममा राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले न्याय सम्पादन गर्ने स्थानमा राजनीतिक भागबण्डा गर्न नहुने बताउनुभयो । 

उहाँले सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगको नेतृत्व र पदाधिकारीमा सक्षम र योग्य मानिसको छनोट गर्नुपर्नेमा जोड दिनुभयो । 

यस्तै मञ्चका अध्यक्ष वरिष्ठ अधिवक्ता मीरा ढुङ्गानाले विस्तृत शान्ति सम्झौता भएको १२ वर्षभन्दा बढी समय बिते पनि पीडितले अझै न्यायको अनुभूति गर्न नसकेकामा चिन्ता व्यक्त गर्नुभयो ।

मञ्चका कार्यकारी निर्देशक सविन श्रेष्ठले समयमा न्याय नपाउनु पनि अन्याय नै भएको बताउँदै पीडित नागरिकको भावनालाई सम्बोधन गरी न्यायको अनुभूति दिलाउनुपर्ने बताउनुभयो । 

कार्यक्रममा नेपालस्थित स्विजरल्याण्डकी राजदूत एलिजावेथ भोन क्याप्लर, द्वन्द्वपीडित साझा चौतारीका अध्यक्ष भागिराम चौधरी, द्वन्द्वपीडित राष्ट्रिय सञ्जालकी अध्यक्ष गीता रसाइलीलगायत विभिन्न नियोगका प्रमुखहरुको सहभागिता रहेको थियो ।  

कार्यक्रमकाबीच ‘नमेटिएका द्वन्द्वका डोबहरु’ पुस्तकको पनि विमोचन गरिएको थियो । 

अन्तिम अपडेट: माघ १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया