हल्लै हल्लाका भरमा संसदीय समितिले आइफा अवार्ड राेक्याे : सञ्चारमन्त्री बाँस्काेटा

 असार १९, २०७६ बिहीबार १८:२५:५८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले होहल्लाको भरमा संसदीय समितिले जे पायो त्यही भाषा प्रयोग गरेर आइफा अवार्ड रोक्न निर्देशन दिनु राम्रो नभएको भन्दै आक्रोस व्यक्त गर्नु भएको छ । 

मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा उहाँले सरकारले बलिउड चलचित्रको अवार्ड (आइफा) कार्यक्रम गर्न दिएको सैद्धान्तिक सहमतिलाई अनावश्यक उचालेर के-के नै भइहाल्ने जसरी निर्देशन दिनु उचित नभएको बताउनुभयो । 

संसदीय समितिले विषयवस्तुको गहिराइमा पुगेर मात्रै निर्देशन दिनुपर्नेमा होहल्लामै निर्देशन दिने काम भएको भन्दै असन्तुष्टि पनि व्यक्त गर्नुभयो । संघीय संसदको अन्तराष्ट्रिय सम्बन्ध समितिले अवार्ड रोक्न सरकारलाई निर्देशन दिएको थियो ।  

‘आइफाको के भाथ्यो र सरकारले सैदान्तिक सहमति दिएको थियो,’ उहाँले भन्नुभयो, ‘संसदीय समितिले दिने निर्देशन विषयको गहिराइमा गएर दिनु पर्छ । होहल्लामा यतिकै भाषा जे पायो त्यही प्रयोग गरेर दिनु चै त्यति राम्रो होइन ।’ 

आकाशै खसे जस्तो, पहाडै धसिए जस्तो गरेर समितिको निर्णय आउनु उचित नभएको उहाँले बताउनुभयो, ‘संसदीय समितिले हतार हतार कुनै निष्कर्षमा पुगेर आकाशै खसे जस्तो पहाडै धसिए जस्तो गरेर निर्देशन दिनु उचित होइन । 

आइफा अवार्ड नेपालमा मात्रै पहिलो पटक हुन लागेको नभई अहिलेसम्म झण्डै १८/२० ठाउँमा भइसकेकाले त्यसलाई लिएर राष्ट्रवाद र राष्ट्रघातसँग जोड्न नहुने पनि बताउनुभयो । ‘आइफा भनेको नेपालमा मात्रै हुन लागेको होइन ? कति वटा देशमा भयो ? मलाई जहाँसम्म लाग्छ लण्डनमा पनि भयो, दुबईमा पनि भयो । करिब करिब १८/२० ठाउँमा त भइसकेको छ ।’ 

सरकारले कार्यक्रमका लागि सैद्धान्तिक स्वीकृति दिनुलाई अहिल्यै पैसा दिइहाल्न लागेको भनेर प्रचार गर्नु अनुपयुक्त भएको बताउनुभयो । सैद्धान्तिक स्वीकृति भनेको त छलफल गर्न तयार छौँ भन्ने बुझ्नु पर्ने उहाँले बताउनुभयो ।  सरकार कार्यक्रमको मोडलको बारेमा, त्यसबाट हुने लाभ वा हानीका बारेमा छलफल गर्न तयार भएर कार्यक्रमका लागि सैद्धान्तिक स्वीकृति दिएको भए पनि अनावश्यक हल्ला फैलाईएको जिकिर गर्नुभयो । 

‘नेपाल सरकारले यति नै पैसा दिन्छु भनेको थिएन । सैद्धान्तिक स्विकृतको अर्थ हामी छलफल गर्न तयार छौँ भन्ने हो,’ उहाँले भन्नुभयो, ‘त्यसको मोडेलको विषयमा छलफल गर्न तयार छौँ । त्यसबाट हुने लाभ वा घाटाका विषयमा छलफल गर्न हामी तयार छौँ । त्यसको पनि लाभ वा हानी पैसामा वा देशको आइडेण्टिटीमा के मा ? त्यस हिसाबले पनि हेर्नु पर्ने हुन्छ ।’

उहाँले भन्नुभयाे,  'केही दिनअघि राष्ट्रघाति भयो भन्ने हल्ला गर्ने मिडियाहरु अहिले फेरि राम्रो पनि हुँदै रैछ भन्दै लेख्न लागेका छन् । फेरि हिजो हेर्दा नाफा पनि हुँदो रैछ । राम्रो पनि हुँदो रैछ भन्ने गरि आएको छ ।'  मिडिया बढी लहलहैमा लाग्दा अनावश्यक हल्ला फैलिएको मन्त्री बाँस्कोटाको दाबी छ ।  

‘हामी बढ्ता लहलहैमा चल्छौँ । सरकारले यसमा पैसा दिने भनिसकेको थिएन’, उहाँले भन्नुभयो, ‘प्रस्ताव त आउन सक्छन नि । मोडेलहरु टुग्याउनु पर्ने हुन्छ ।’ प्रधानमन्त्री स्वंयले पनि घाटाको व्यापार गरिन्न भन्नुभएकाले देशलाई घाटा हुने कुनै पनि काम नगर्ने पनि उहाँले स्पष्ट पार्नुभयो । 

सरकारले आवश्यक छलफल गरेरै आइफा गर्न सैद्धान्तिक सहमति दिएको भन्दै उहाँले बाँकी विषयमा भने छलफल गर्न बाँकी नै रहेको बताउनुभयो । ‘सरकारले छलफल नगरेको होइन । गज्जबले छलफल गरेरै यो हुन्छ, यसले नेपाललाई पनि आर्थिक लाभ हुन्छ भने हामी यो कुरामा जान सक्छौँ भनेर निर्णय गरिएको हो ।’

सुटिङका लागि डेस्टिनेशन नेपाल भनेर संसदले कार्यक्रम नै पारित गरिसकेको स्मरण गर्दै उहाँले हतार र हल्लै हल्लामा लागेर नबहकिन समितिहरुलाई सचेत पनि गराउनुभयो । 

‘हामी एकातिर सुटिङका लागि डेस्टिनेशन नेपाल भनेर भनिरहेका छौँ । यही मन्त्रालयले पेश गरेर संसदले पारित गरेकै कार्यक्रम हो’, उहाँले भन्नुभयो,’ यो त नीति तथा कार्यक्रममा बाचन गरिएकै छ । ताली बजाएर पास गरिएकै हो नि ।’ 

उहाँले नेपालमा हलिउड/बलिउड जो आए पनि स्वागत गर्नु पर्ने भन्दै त्यसका लागि छलफल नै हुन नदिने गरी वातावरण बनाउनु उचित नभएको बताउनुभयो । 

अन्तिम अपडेट: माघ १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया