कक्षा ११ र १२ मा गरिएकाे चर्को शुल्क वृद्धि फिर्ता लिन अनेरास्ववियूको माग

 असार २४, २०७६ मंगलबार १७:३:४६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को विद्यार्थी संगठन अनेरास्ववियूले कक्षा ११ र १२ मा बढाइएको चर्को शुल्कप्रति आपत्ति जनाउँदै तत्काल खारेज गर्न सरकारसँग माग गरेको छ । 

अनेरास्ववियूले मंगलबार शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेललाई ज्ञापन पत्र बुझाउँदै कक्षा ११ र १२ मा गरिएकाे चर्को शुल्क वृद्धि तत्काल खारेज गर्न माग गरेको हो । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा अनेरास्ववियूका कार्यबहाक संयोजक रञ्जित तामाङले बुझाउनु भएको ज्ञापन पत्रमा कक्षा १२ सम्म भर्ना भएका विद्यार्थी मध्ये २० प्रतिशतलाई निःशुल्क अध्ययन गर्न पाउने गरी छात्रवृत्तिको व्यवस्था सुनिश्चित गराउन पनि सरकारको गम्भीर ध्यानाकर्षण गराइएको छ ।

कक्षा ११ र १२ मा बढाइएको चर्को शुल्क तत्काल खारेज गर्न सरकारसँग माग गरिएको अनेरास्ववियूका कार्यबहाक संयोजक तामाङले जानकारी दिनुभयो । उहाँले स्थानीय तहले विद्यालय तहको छात्रवृत्ति वितरणमा विभेद गरेको पाइएको उल्लेख गर्दै त्यसलाई सच्याउन पनि सरकारसँग आग्रह गरिएको बताउनु भयो । ज्ञापन पत्रमा विश्वविद्यालयको पदाधिकारी नियुक्ति पनि खुला प्रतिस्पर्धाको आधारमा गर्ने कानुनी व्यवस्था गर्न सरकारलाई दबाब दिइएको छ ।

मन्त्री पोखरेलले पनि विद्यालय तह तथा विश्वविद्यालयमा देखिएको कमजोरीलाई सच्याउँदै अघि बढने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो । उहाँले शिक्षालयहरुमा देखिएको समस्या समाधानका लागि सरकारले आवश्यक ऐन, कानुनलाई पनि निर्माण गर्दै अघि बढने योजना पनि सुनाउनु भयो ।

मन्त्री पोखरेलले स्थानीय तहमा देखिएको शिक्षासम्बन्धी समस्या पनि स्थानीय तहसँगै सहकार्य गरेर समाधान गर्न लागिपर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

 

अन्तिम अपडेट: माघ १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया