च्याम्पिन्स लिगमा आज राति ९ खेल
मंसिर ११, २०८१ मंगलबार
असार २४ – जापानमा रहेका नेपाली संगीतप्रेमीहरुको उल्लेखनीय उपस्थितिका बीच नेपथ्यले ‘टोकियो डोम सिटी हल’ मा आफ्नो सांगीतिक प्रस्तुति दिएको छ ।
कन्सर्टमा अधिकांश दर्शक नेपाली भएता पनि जापानी नागरिकहरुसमेत सहभागी देखिन्थे । उनीहरु मध्येकै एक थिए जापानी तन्नेरी कियोहितो हानाइ ।
‘नेपालमा दुइपटक र टोकियोमै २०१५ मा आयोजित शोका बेला पनि म उपस्थित थिएँ,’ हानाइ भनिरहेका थिए, ‘नेपथ्यलाई बारम्बार यसरी नेपाल र जापानमा अनुभव गर्न पाउँदा मलाइ रमाइलो अनुभूति भइरहेको छ ।’ नेपाली भाषासमेत सिक्ने कोशिस गरिरहेका कियोहितो आफ्नो मुटुमा नेपालका निम्ति विशेष स्थान रहेको बताउँछन् ।
नेपथ्यका लगायत अन्य नेपाली गीतहरुले आफूलाई नेपाली भाषा र संस्कृति बुझ्न मद्दत गरिरहेको उनले सुनाए । कियोहितो कुनै दिन नेपाल पुगेर त्यतै बस्न पनि चाहन्छन ।
जतिबेला उल्लेख्य संख्यामा नेपाली तन्नेरीहरु कुनै हिसाबले जापान पुग्न चाहिरहेका छन् त्यतिबेलै कियोहितो चाहिँ नेपालप्रति आकर्षित हुनुको कारण के होला ?
‘म नेपालीहरुले जस्तै जिन्दगी जिउन चाहन्छु,’ उनले भने, ‘जापानमा अवसर भएता पनि बिहानदेखि बेलुकीसम्म घडी हेरेर मेशिनले जस्तो बाँच्नुपर्ने अवस्था छ ।’
आफू नेपाल पुगेका बेला नेपालका मानिस जीवनसँग नजिक रहेको र हाँसिखुशी बाँचेको देखेर प्रभावित भएको उनले सुनाए ।
सन् २०१५ मा महाभूकम्प गएपछिका तस्विरहरु संग्रहित ‘नराम्रो सपना’ को भिडियोबाट कन्सर्ट सुरुभएको थियो ।
ब्याण्डले उक्त भुकम्पकै ताका, पुर्वनिर्धारित टोकियो कन्सर्टलाई भूकम्प पीडित समर्पित कार्यक्रमको रुपमा प्रस्तुत गर्दै आम्दानीबाट भूकम्प राहत कोषमा सहयोग गरेको थियो ।
‘तीन वर्षअघि हामी समवेदना बाड्न तपाइहरुका सामु प्रस्तुत भएका थियौं,’ त्यस गीतको सन्दर्भ जोड्दै नेपथ्यका मुख्य गायक अमृत गुरुङले भने, ‘यसपटक भने उमंग र उत्साह बाड्न तपाइहरु सामु उभिएका छौं ।’ नेपथ्य स्थापनाको २५ वर्ष पुगेका अवसरमा रजत जयन्तीको खुशी साटासाट गर्ने क्रममा आफू जापानका दर्शकहरुको सामु उपस्थित भएको अमृतले उल्लेख गरे ।
कन्सर्ट, त्यसपछि निरन्तर रमाइलो क्षणबाट गुज्रियो । ‘भेडाको ऊनजस्तो’ देखि ‘छेक्यो छेक्यो’ हुँदै पछिल्लो समयका नेपथ्यका हिट गीतहरु ‘शिरफूल’ र ‘कोशीको पानी’ सम्म प्रस्तुत भए ।
दर्शकदीर्घामा अमर गुरुङ पनि थिए । उनी आवद्ध संस्था तमुधिं जापानले सन् २०१५ को नेपथ्य कन्सर्ट आयोजना गरेको थियो ।
‘जापान बसेको २० वर्षमा मैले नेपालबाट आएका धेरै कार्यक्रम हेर्ने मौका पाएँ,’ उनी भनिरहेका थिए, ‘नेपथ्यले दिएको प्रभाव चाहिँ बेग्लै र स्तरीय रह्यो । नेपथ्य विदेशमा बसेका नेपालीका निम्ति गर्वको विषय बनेको उनले सुनाए ।
जतिबेला नेपालमा मनसुन चलिरहेको छ त्यतिबेलै जापानमा बाढीको प्रकोप छ । अमृतले कन्सर्टकै बेला यो कुरालाई पनि जोडे । ‘ठीक यतिबेला बाढीको प्रकोप हामीकहाँ पनि चलिरहेको छ,’ उनले भने, ‘जापानमा पनि पीडितहरुको अवस्था देखेर मलाई उत्तिकै नरमाइलो लागिरहेको छ ।’
यो प्राकृतिक प्रकोप व्यवस्थापन गर्न जापानमा चालिएका कदमले आफूलाई प्रभावित पारेको उनले सुनाए ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।