काठमाण्डौको ट्राफिक व्यवस्थापन अस्तव्यस्त
मंसिर ७, २०८१ शुक्रबार
लमजुङ – सुन्दरबजार नगरपालिका–७, पाउँदी पोखरेल गाउँका दिनेश पोखरेल १९ वर्षको उमेरमै कतार पुग्नुभयो ।
बुवाआमाको एक्लो छोरो भएकाले सानै उमेरमा कमाउने जिम्मेवारी थपिएपछि उहाँ विदेश जान बाध्य हुनुभएको हो । तर उहाँको मन विदेशमा रम्न सकेन । विदेशबाट फर्किएर गाउँमा गाईपालन गर्नुभएको छ । गाईपालनबाट भएको कमाइले उहाँले विदेशको बाटो बिर्सिसक्नुभएको छ ।
१२ कक्षा पास गरेपछि २०६४ सालमा कतार पुगेका दिनेशको काम होटलमा थियो । महिनाको जसोतसो ३५ हजार रुपैयाँ बच्थ्यो । तर ज्यान कतारमा भए पनि उहाँको मन भने गाउँघरमै हुन्थ्यो ।
साढे तीन वर्ष उहाँले कतारमा बिताउनुभयो । त्यसपछि फर्किनुभयो घर । रहर त गाउँघरमै केही गर्ने थियो । तर परिस्थिति सधैं कहाँ आफू अनुकुल भइदिन्छ र ?
दिनेशलाई फेरि कमाइको बाटो विदेश नै रोज्न पर्ने बाध्यता आइपर्यो । कतारबाट फर्किएर एक वर्ष बिताउनुभयो गाउँमा । तर केही व्यवसाय गर्ने मेसो पनि मिलेन । आम्दानीको स्रोत नभएपछि घर चलेन । त्यसैले त उहाँ फेरि २०६८ सालमा मलेसिया पुग्नुभयो ।
मलेसियामा साढे २ वर्ष बस्नुभयो । कमाइ राम्रै थियो ।
‘महिनामा ५५ हजार रुपैयाँ बच्थ्यो, तर बीचैमा कम्पनी बन्द भएपछि म नेपाल फर्किएको हुँ,’ उहाँ भन्नुहुन्छ । मलेसियाबाट फर्केपछि भने उहाँले वैदेशिक रोजगारीलाई सधैँका लागि बाईबाई गर्नुभयो ।
गाउँघरमै थाल्नुभयो व्यवसाय । गाउँकै व्यावसायिक गाईपालक किसान धु्रवराज पोखरेलले पनि उहाँलाई गाउँमै बसेर गाईपालनमा लाग्न सुझाव दिनुभयो ।
‘गाउँमै बसेर गाईपालन गरी मनग्य कमाउन सकिन्छ भन्दै गाईपालनमा लाग्न धु्रव दाइले सल्लाह दिनुभयो,’ उहाँको सुझावलाई मनन गर्दै गाईपालनमा होमिएँ,’ दिनेशले भन्नुभयो ।
२०७२ सालमा गोठ निर्माण गरी उहाँले गाईपालन व्यवसाय सुरु गर्नुभयो । सुरुमा ३ वटा जर्सी क्रस गाईबाट गाईपालन व्यवसाय सुरु गर्नुभएका दिनेशको गाईगोठमा अहिले साना–ठूला गरी १२ वटा गाई छन् । गोठमा ‘जर्सी क्रस’ र ‘होलेस्टेन क्रस’ जातका गाई छन् ।
उहाँले गाईपालन त सुरु गर्नुभयो । तर त्यसबेला गाउँका अन्य किसानको उत्पादनले खासै राम्रो मूल्य र बजार नपाएको देख्दा उहाँलाई कता कता डर थियो, कतै आफ्नो उत्पादनले पनि बजार र मूल्य नपाउने हो कि ! भन्ने । तर अहिले उहाँको उत्पादनले गाउँमै उचित बजार र मूल्य पाएको छ ।
उहाँको गाईगोठमा अहिले दैनिक ८ वटा गाईले नियमित दूध दिन्छन् । ‘अहिले दैनिक ९० लिटर दूध संकलन हुन्छ,’ उहाँले भन्नुभयो । उत्पादित दूध उहाँले स्थानीय चीज उत्पादकलाई बिक्री गर्नुहुन्छ । प्रतिलिटर ५४ रुपैयाँमा उहाँले दूध बिक्री गर्दै आउनुभएको छ ।
‘आफ्नोसँगै गाउँमा रहेका सबै गाईपालक किसानले उत्पादन गरेको दूध गाउँमै रहेको चीज उत्पादकलाई बेच्छौँ । गाउँमै आफूहरुको उत्पादनले उचित बजार र मूल्य पाउँदा खुशी छौँ,’ गाईलाई घाँस हाल्दै गरेका उहाँले मुस्कुराउँदै भन्नुभयो ।
दूध बिक्रीबाट मासिक १ लाख २० हजार कमाइ हुने गरेको उहाँ बताउनुहुन्छ । ‘गाईको दाना, चोकरका साथै औषधीमा पनि खर्च हुन्छ,’ उहाँले भन्नुभयो, ‘सबै खर्च कटाएर महिनामा झण्डै ६० हजार रुपैयाँ वचत हुन्छ,’ ३० वर्षे दिनेशले हौसिंदै भन्नुभयो ।
विदेशको कमाइलाई आफूले घरगाउँमै पोखेको श्रम–पसिनाको कमाइले जितेको उहाँ बताउनुहुन्छ । ‘विदेशको कमाइमा भन्दा स्वदेशकै कमाइमा मलाई सन्तुष्टी मिलेको छ,’ उहाँले थप्नुभयो, ‘देशकै माटोमा हो श्रम पसिना बगाउने ।’
अहिले गाईपालनबाटै सजिलोसँग घरव्यवहार चलाउनुभएको छ दिनेशले । काममा श्रीमती सिर्जना पोखरेलका साथै बुवा–आमा र काकाको पनि सहयोग मिलेको छ।
गाईकै स्याहार–सुसारमै प्रायः दिनेशको दैनिकी बित्ने गर्छ ।
गाईपालनका लागि उहाँले आफ्नै ८ रोपनी जग्गामा नेपियर, सिओफोरका साथमा स्थानीय जातका घाँस पनि रोप्नुभएको छ । ‘अबको ३ महिनामा ५ वटा गाई थप्ने विचार गरेको छु,’ उहाँले भन्नुभयो, ‘अब यसै व्यवसायलाई अघि बढाउने सोच बनाएको छु ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
श्यामशितल परियार उज्यालोकाे लमजुङ र मनाङ जिल्ला सम्वाददाता हुनुहुन्छ ।