एक वर्षमै एक सय ९० वटाभन्दा धेरै युक्रेनी गाउँ रुसको कब्जामा
पुस ७, २०८१ आइतबार
काठमाण्डौ – व्यावसायिक तरकारी तथा फलफूल खेतीमा लागेका किसानले उत्पादन बढाउनका लागि रासायनिक मल तथा विषादी हाल्ने गर्छन् ।
कालिमाटीको विषादी अवशेष द्रुत विश्लेषण इकाईले २०७५/७६ को असारसम्म नेपालसहित भारतबाट आयातित तरकारी तथा फलफूलका २ हजार ९ सय ३४ नमुना परीक्षण गरेको तथ्याङ्क छ । जसमध्ये नेपालमै उत्पादित तरकारीका २ वटा नमुनामा रोकावट दर उच्च पाइएपछि नष्ट गरिएको छ ।
गएको पुस र माघमा सर्लाही जिल्लाबाट आएकोे तरकारीका २ वटा नमुनामा रोकावट दर ४५ प्रतिशतसम्म भेटियो । ४५ प्रतिशतसम्म रोकावट दर भेटिएकाले केही दिनपछि पुनः परीक्षण गर्दा उपभोग गर्न मिल्ने भएपछि बजारमा बिक्रीका लागि पठाइएको थियो ।
धादिङको ब्रोकाउली र हिउँदे सिमीका दुई ओटा नमुनामा भने रोकावट दर ४५ प्रतिशतभन्दा उच्च पाइएपछि नष्ट गरिएको विषादी अवशेष द्रूत विश्लेषण प्रयोगशाला इकाई कालिमाटीका प्रमुख तथा केन्द्रीय कृषि प्रयोगशालाका वरिष्ठ बाली संरक्षण अधिकृत राजीवदास राजभण्डारी बताउनुहुन्छ ।
‘गएको पुस माघतिर धादिङ र सर्लाहीबाट आएको तरकारीका २ ओटा नमुनामा रोकावट दर उच्च पाइएपछि नष्ट गरेका छौँ’, उहाँले भन्नुभयो, ‘तरकारीका २ ओटा नमुनामा रोकावट दर ४५ प्रतिशतभन्दा उच्च पाइएपछि नष्ट गरेका हौँ । त्यसयता तरकारी तथा फलफूलमा रोकावट दर ३५ प्रतिशतभन्दा कम नै देखिएको छ । जुन उपभोग योग्य हो’
रोकावट दर भनेको के हो ?
कालिमाटीको विषादी अवशेष द्रुत विश्लेषण इकाईले छोटो समयमा तरकारी तथा फलफूलको परीक्षण गरेर नतिजा दिनु पर्ने हुन्छ । त्यसैले यो प्रयोगशालाले तरकारी तथा फलफूल मानव शरीरका लागि उपभोग योग्य छ कि छैन भन्ने बारे परीक्षण गर्छ । नतिजा प्रतिशतमा दिने गर्छ । यसलाई नै रोकावट दर भनिन्छ ।
३५ प्रतिशतसम्म रोकावट दर भएको तरकारी मानव शरीरका लागि हानिकारक हुँदैन । ३५ प्रतिशतसम्म रोकावट दर भएका तरकारीलाई बिक्रीका लागि अनुमति दिन्छ । यो समूहकोे संकेत रङ हरियो हो ।
त्यस्तै रोकावट दर ३५ प्रतिशतदेखि ४५ प्रतिशतसम्म रहेको तरकारी तथा फलफूललाई संकेत गर्न पहेलो रङ प्रयोग गरिन्छ । यो रोकावट दर विषादी प्रयोग गरेको केही दिनमै तरकारी बजारमा ल्याउँदा देखिन्छ । तरकारी तथा फलफूलको यस्तो नमुनालाई केही दिन पछि पुनःपरीक्षण गर्दा रोकावट दर ३५ प्रतिशितसम्म देखिए बजारमा पठाउन अनुमति दिइन्छ । अन्यथा कालिमाटी प्रयोगशालाका प्रतिनिधिसमेतको संलग्नतामा नष्ट गरिन्छ ।
४५ प्रतिशतदेखि माथि रोकावट दर भएका तरकारी तथा फलफूल मानव शरीरका लागि हानिकारक हुन्छ । रातो रङले संकेत गरिने यो समूहमा परेका सबै तरकारीहरु पनि कालिमाटी प्रयोगशालाका प्रतिनिधिको उपस्थितिमा नष्ट गरिँदै आइएको प्रयोगशाला इकाई कालिमाटीका प्राविधिक जागेश्वर शर्माले बताउनुभयो ।
विषादीरहित तरकारी तथा फलफूल कसरी चिन्ने ?
अहिले बजारमा आउने तरकारी तथा फलफूलमा विषादी प्रयोग भए नभएको चिन्नु उपभोक्ताका लागि चुनौती हो । विषादी हालिसकेपछि बजारमा ल्याउँदाको अवस्था र बजारबाट किनेर खाँदा अलिकति ध्यान पु¥याएमा पनि विषादीबाट थोरै भए पनि जोगिन सकिने वरिष्ठ कृषि प्राविधिक प्रदीप भण्डारी बताउनुहुन्छ ।
उहाँका अनुसार विषादी हालेको तरकारी तथा फलफूल चिन्नका लागि किन्ने बेलामा ध्यान पु¥याउन आवश्यक छ । विषादी हालेको तरकारी चिल्लो र किरा नलागेको हुन्छ ।
विषादी हालेको तरकारीमा विषादीको गन्ध पनि आउन सक्छ । बारीमा विषादी हालेलगत्तै टिपेर बजारमा बेच्न ल्याइने तरकारीमा सबैभन्दा धेरै विषादीको मात्रा हुन्छ । बजारमा ताजा ताजा देखिने त्यो तरकारी उपभोक्ताका लागि सबैभन्दा धेरै हानिकारक हुने वरिष्ठ कृषि प्राविधिक भण्डारीको भनाइ छ ।
‘आज तरकारीमा विषादी हालेर भोलि टिपेर बेच्नका लागि बजार ल्याइन्छ’, उहाँले भन्नुभयो, ‘यसरी बजारमा आएको तरकारी खाँदा शरीरका लागि हानिकारक हुन्छ ।’ विषादी हालिएको तरकारी तथा फलफूल धेरै चिल्लो देखिने, ताजा हुने, टल्केको र चम्किलो देखिने हुन्छ ।
कुनै किरा नलागेको र प्राकृतिक रङ हुनुको साटो धेरै हरियो देखिने तरकारीमा पनि विषादी हालिएको हुन सक्ने बाली संरक्षण निर्देशनालयका पूर्व वरिष्ठ कृषि प्राविधिक भण्डारी बताउनुहुन्छ ।
‘किरा लागेको छैन, प्राकृतिक रङ हुनुको साटो धेरै हरियो छ भने त्यसमा विषादी हालिएको हुनसक्छ’, उहाँले भन्नुभयो, ‘बेमौसमी तरकारी तथा फलफूलमा रोगको संक्रमण ज्यादा हुने भएकाले विषादीको प्रयोग ज्यादा गरिन्छ ।’
विषादीबाट कसरी बच्ने ?
वरिष्ठ कृषि प्राविधिक भण्डारीकाअनुसार धेरैजसो विषादी हालिएको तरकारी तथा फलफूल चारदेखि पाँच दिनसम्म घाममा सुकाइयो र भण्डारण गरेर राखियो भने त्यसमा रहेको विषादी केही उडेर जान्छ ।
किसानको बारीमा फलाइएको तरकारी गाडीमा लोड भएर बजारसम्म आउँदा पनि धेरै विषादी उडेर जाने हुन्छ । तर केही विषादीको अवशेष भने रहिरहन्छ ।बजारबाट किनेर ल्याइसकेपछि केही दिन त्यसै राख्ने गरेमा पनि विषादीको मात्रा घटाउन सकिन्छ । अनि पकाएर मात्रै खाएमा विषादीको मात्रा धेरै कम हुने वरिष्ठ कृषि प्राविधिक राजभण्डारी बताउनुहुन्छ ।
यस्तै बजारबाट ल्याइएको तरकारी तथा फलफूल राम्रोसँग पखालेर मात्रै पकाउनुपर्छ वा खानुपर्छ । तरकारी तथा फलफूल धाराबाट जोडले बग्ने पानीले पखाल्न सकिएमा पनि विषादीको मात्रा धेरै कम गर्न सकिन्छ ।
काठमाण्डौ उपत्यकामा पानीको अभाव हुने भएकाले बाटा वा अरु भाँडामा जम्मा गरिएको पानीमा केहीबेर डुबाएर, राम्रोसँग पखालेमा पनि विषादीको मात्रा कम गराउन सकिन्छ । यसका साथै पानीमा पानीकोे १ प्रतिशत नुन मिसाएर ५ देखि १० मिनेट डुबाउँदा पनि तरकारी तथा फलफूलको विषादी धेरै मात्रामा हटाउन सकिन्छ ।
सबैभन्दा राम्रो उपाय भनेको तरकारी तथा फलफूलको बोक्रा छोडाएर पकाएमा वा खाएमा धेरै मात्रामा विषादीको मात्रा हटाउन सकिन्छ । आलु, लौका, चिचिण्डो, बन्दा, काउलीको बाहिरी भाग राम्रोसँग छोडाएर पकाएमा पनि धेरै हदसम्म विषादीबाट जोगिन सकिने वरिष्ठ कृषि प्राविधिक भण्डारी बताउनुहुन्छ ।
‘विषादीबाट बच्न तरकारी पकाउँदा बाहिरको बोक्रा छोडाउनुपर्छ’ उहाँले भन्नुभयो, ‘त्यसो गर्दा विषादीको धेरै मात्रा हटाउन सकिन्छ । रोग किराबाट बचाउनका लागि विषादी छरिने भएकाले त्यो बाहिरी बोक्रा नै छोडाएमा विषादी कम गर्न सकिन्छ ।’
विषादीरहित तरकारी तथा फलफूलका लागि ‘सिजनल’, किरा लागेको, हरियो र चम्किलोभन्दा ख्याउटे, चुच्चो र खोपिल्टो परेको किन्नुपर्छ । बेमौसमी तरकारी तथा फलफूल खाँदा सबैभन्दा धेरै विषादीको जोखिम हुने भण्डारी बताउनुहुन्छ ।
‘बेमौसमी तरकारी र फलफूल फलाउन विषादी हाल्नुपर्छ । त्यसकारण मौसमी तरकारी तथा फलफूल मात्रै खानुपर्छ’ उहाँले भन्नुभयो, ‘तरकारी तथा फलफूल किन्दा किरा लागेको, कुहिएको जस्तो देखिने, ख्याउटे, खोपिल्टो परेको किन्नुपर्छ । यस्ता खालका तरकारी तथा फलफूलमा विषादी हालिएको हुँदैन ।’
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
उज्यालोमा कार्यरत विष्णु विश्वकर्मा कृषि र राजनीतिक क्षेत्रमा कलम चलाउनु हुन्छ।