भारतबाट पाइपमार्फत तेल आउन थाल्यो,  दैनिक ४८ लाख लिटरसम्म ल्याउन सकिने

 साउन २, २०७६ बिहीबार १८:४१:१४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – भारतबाट पाइपलाइनमार्फत पेट्रोलियम पदार्थ नेपाल ल्याउन सुरु भएको छ ।

बुधबार दिउँसो १२ बजेदेखि बिहारको पटनाबाट पाइपमा तेल पठाउन सुरु गरिएको र बिहीबार मध्य रातिसम्म पाइप भरिँदै बाराको अमलेखगञ्जसम्म आइपुग्ने डिपोका प्रमुख प्रदीप यादवले उज्यालोलाई जानकारी दिनुभयो ।

पाइप भरिन २१ सय किलोलिटर अर्थात २१ लाख लिटर तेल लाग्नेछ । सुरुमा पाइप भरेर राखेपछि पछि भारतमा एक क्लिक गरेपछि क्षणभरमै नेपालमा तेल आउनेछ । नेपालमा डिजलको माग धेरै भएकाले पहिलो चरणमा पाइपलाइनमार्फत डिजल मात्रै ल्याइनेछ । अहिले अमलेखगञ्ज डिपोको दैनिक माग २० लाख लिटर रहेकोमा पाइपलाइनबाट एक घण्टामै २ लाख लिटर डिजल नेपाल आउने छ ।

पाइपलाइन २४ घण्टा नै चलाएमा एकै दिन ४८ लाख लिटर डिजल नेपाल आउने र यसले नेपालको माग धान्ने सकिने निगमले जनाएको छ । पाइपलाइनबाट आउने डिजल भण्डारणको लागि अमलेखगञ्जमा  ४१ लाख लिटर क्षमताका २ ओटा र ३९ लाख लिटर क्षमताका २ ओटा गरी १ करोड ६० लाख लिटर क्षमताका ४ वटा अत्याधुनिक टयांकी निर्माण भैसकेका छन् ।

कम्प्युटरकै माध्यमले पाइपलाइन बन्द र खुला गर्नका लागि अमलेखगञ्जमा कन्ट्रोल रुम निमार्णको काम पनि अन्तिम चरणमा पुगेको छ । कन्ट्रोल रुम बन्न ढिलाइ हुने भएकाले सुरुमा मान्छेले नै पाइलाइनको व्यवस्थापन गर्ने पनि अमलेखगञ्जका डिपो प्रमुख यादवले जानकारी दिनुभयो ।

३० गतेसम्म उद्घाटन

अहिले पाइपलाइन भरेर राखे पनि नियमित तेल भने ल्याइने छैन । भारतीय प्रधानमन्त्री र नेपालका प्रधानमन्त्रीले एकैपटक स्विच थिचेर उद्घाटन गर्ने गरी तयारी भैरहेको निगमले जनाएको छ । 

‘हाइ लेभलबाटै उद्घाटन गर्ने गरी तयारी भैरहेको छ, अगष्टको १५ तारिखसम्म यो उद्घाटन भैसक्नेछ, अहिले पाइप भरेर राख्ने हो, औपचारिक उद्घाटनपछि मात्रै नियमित तेल ल्याइनेछ’, निगमका प्रवक्ता विरेन्द्र गोइतले उज्यालो अनलाइनसँग भन्नुभयो ।

पेट्रोलियम कुद्ने पाइपको सडक (भिडियो स्टोरी)

अन्तिम अपडेट: मंसिर २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया