महिलालाई आर्थिक रुपमा सशक्त बनाउनुपर्छ: मन्त्री थापा

 साउन १८, २०७६ शनिबार १३:५५:९ | प्रताप बानियाँ
unn.prixa.net

म्याग्दी – महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापाले महिलाहरुलाई आर्थिक रुपमा सशक्त बनाउनुपर्ने बताउनुभएको छ ।

म्याग्दीमा सञ्चालित राष्ट्रपति महिला उत्थान कार्यक्रमको स्थलगत अनुगमनपछि आयोजित समीक्षा कार्यक्रममा बोल्दै उहाँले महिलालाई आयआर्जनका क्षेत्रमा लगाउनुपर्ने बताउनुभएको हो । 

मन्त्री थापाले समाजमा पछाडि परेका महिलाहरुलाई विभिन्न आयआर्जनका कार्यक्रमहरु सञ्चालन गरी आर्थिक रुपमा सक्षम र सशक्त बनाउनुपर्ने बताउँदै त्यसै अनुसार देशका ३० जिल्लामा राष्ट्रपति महिला उत्थान कार्यक्रम सञ्चालन गरिएको जानकारी दिनुभयो । देशको आधाभन्दा बढी जनसङ्ख्या ओगटेका महिलाहरुको आर्थिक–सामाजिक रुपान्तरणका लागि कार्यक्रम अगाडि सारिएको उहाँले बताउनुभयो ।

महिलाहरुलाई लक्षित गरेर आयआर्जनका कार्यक्रमहरु सञ्चालन गरी त्यसबाट उनीहरुलाई आत्मनिर्भर र व्यावसायिक बनाउनुपर्ने मन्त्री थापाले बताउनुभयो । भौतिक संरचनाको विकासले मात्रै केही नहुने हुँदा समाजमा पछाडि परेका वर्गको उत्थान गर्नुपर्नेमा जोड दिँदै उहाँले आर्थिक–सामाजिक रुपान्तरणसँगै शोषण, दमन, कुरीति र कु–संस्कारको अन्त्य गरी न्यायपूर्ण र समतामूलक समाजको निर्माण गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले समाजमा रहेको अन्धविश्वास हटाउनका लागि सबै क्षेत्रबाट सचेतनामूलक अभियानहरु चलाउनुपर्ने बताउनुभएको छ । 

मन्त्री थापाले जनताको अत्यन्तै नजिक र घरदैलोको सरकार पालिकाहरु भएकाले नागरिकको चाहना र स्थानीय आवश्यकता अनुसार बजेट, नीति र कार्यक्रम बनाएर लागू गर्नुपर्ने बताउनुभयो । उहाँले देश सङ्घीयतामा गएसँगै स्थानीय तहमा ४१ प्रतिशत र प्रदेश तथा संघमा ३३% महिला जनप्रतिनिधिको बलियो उपस्थिति रहेको भन्दै आधाभन्दा धेरै मत महिलाहरुको रहेकाले महिलाको समस्या समाधानमा सरकारहरु केन्द्रित हुनुपर्ने बताउनुभयो ।

कार्यक्रममा अवसरमा मन्त्री थापाले बेनी नगरपालिका–६, डम्बरामा महिलाले सुरु गरेको व्यावसायिक बंगुरपालन र कुखुरापालन तथा बगुवाखोलामा सञ्चालित बौद्धिक अपाङ्गता स्रोतकक्षाको स्थलगत अवलोकन गर्नुभएको थियो । 

म्याग्दीको तीन ठाउँमा राष्ट्रपति महिला उत्थान कार्यक्रम सञ्चालन गरिएको छ । बेनी नगरपालिकामा नारी जागृति महिला विकास बहुउद्देश्यीय सहकारी संस्थामार्फत व्यावसायिक बंगुरपालन र कुखुरापालन तथा मंगला गाउँपालिका–२, बाबियाचौरको जनआदर्श महिला सहकारीले व्यावसायिक बाख्रापालन र रघुगंगा गाउँपालिका–२, राखुभगवतीमा महिलाहरुका लागि व्यावसायिक तरकारी खेती सुरु गरिएको छ । 
 

अन्तिम अपडेट: मंसिर १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

प्रताप बानियाँ

म्याग्दीमा बसेर पत्रकारिता गर्ने प्रताप बानियाँ उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । उहाँले मुस्ताङका खबर पनि सम्प्रेषण गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया