पाकिस्तानमा पूर्वप्रधानमन्त्री खानकाे रिहाइ माग गर्दै हजारौंको ...
मंसिर ११, २०८१ मंगलबार
१० जना विधायक भारतीय जनता पार्टी(बीजेपी) मा प्रवेश गरेको भोलिपल्टै सिक्किम डेमोक्रेटिक फ्रन्ट(एसडीएफ) का २ जना विधायक सिक्किम क्रान्तिकारी मोर्चा(एसकेएम) मा प्रवेश गरेका छन् ।
बुधबार एसडीएफका विधायकहरु अमप्रसाद शर्मा र जीटी ढुंगेल एसकेएममा प्रवेश गरेका हुन् । सिक्किमको सत्तारुढ दल एसकेएम प्रवेश गर्दै उनीहरुले भने, ‘हामीमा क्षेत्रीय भावना भएकै कारण क्षेत्रीय दलमा आवद्ध भएका हौँ ।’
पछिल्लो राजनीतिक उथलपुथलसँगै सिक्किममा २५ वर्ष मुख्यमन्त्री रहेका पवन चाम्लिङको राजनीतिक भविष्य संकटमा परेको छ । पार्टीका अधिकांश विधायक बीजेपीमा प्रवेश गरेसँगै सिक्किममा २५ वर्ष सरकार चलाएका पूर्व मुख्यमन्त्री पवन चाम्लिङको राजनीतिक भविष्यमा धक्का पुगेको छ ।
सिक्किम राज्यको विधानसभामा एक सिट पनि नजितेको बीजेपी अब प्रमुख प्रतिपक्ष दल बनेको छ ।
एसडीएफबाट गएको विधानसभा चुनाव जितेका १० जना विधायक बीजेपीका कार्यकारी अध्यक्ष जेपी नड्डा र बीजेपीका महासचिव तथा उत्तर पूर्वी राज्यका इञ्चार्ज राम माधवको उपस्थितिमा बीजेपीमा प्रवेश गरेका छन् ।
एउटा पार्टीका दुई तिहाई तथा त्यसभन्दा बढी विधायक नयाँ पार्टीमा प्रवेश गर्दा एन्टी डिफेक्सन कानुनको उल्लंघन हुँदैन । त्यसैले बीजेपीले सिक्किममा बलियो प्रतिपक्षको भूमिका निर्वाह गर्ने देखिन्छ ।
३२ सिट रहेको सिक्किम विधानसभामा चाम्लिङ नेतृत्वको एसडीएफले १५ सिट जितेको थियो । त्यस्तै पीएस गोले नेतृत्वको सिक्किम क्रान्तिकारी मोर्चाले १७ सिट जितेको थियो । एसडीएफका दुई जना विधायकले दुई ठाउँबाट चुनाव जितेका थिए । त्यस्तै एसकेएमका एक विधायकले दुई ठाउँबाट चुनाव जितेका थिए । उनीहरुले एक सिटबाट राजीनामा दिएका छन् । अहिले सिक्किम विधानसभामा ३ सिट खालि रहेको छ ।
सिक्किमको राजनीतिमा लामो इतिहास रहेको एसडीएफमा अब पूर्व मुख्यमन्त्री पवन चाम्लिङ मात्रै रहेका छन् ।
बीजेपी प्रवेश गर्नेहरुमा चाम्लिङ नेतृत्वको सरकारमा तीन पटक मन्त्री बनेका तथा पाँच कार्यकालका लागि विधायक बनेका दोर्जी छिरिङ लेप्चासमेत रहेका छन् । त्यस्तै तीन पटक विधायक बनेको उगेन ग्यात्सो पनि बीजेपीमा प्रवेश गरेका छन् ।
बीजेपीमा प्रवेश गरेका लेप्चा आफूहरु प्रधानमन्त्री नरेन्द्र मोदीको ‘लूक इस्ट’ नीतिबाट प्रभावित भएको बताएका छन् । उनले भने, ‘हामी सिक्किममा कमल फुलाउन चाहन्छौँ ।’
बीजेपीलाई मुख्य चुनौती भनेको अब हुने उपचुनावमा तीन सिटमा कस्तो प्रदर्शन गर्छ भन्ने हो । सिक्किमको पछिल्लो राजनीतिक घटनाक्रमलाई केही सिक्किमेली नागरिकले आफूहरुसँग धोका भएको बताएका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।