उद्योगमन्त्री भण्डारी र भारतीय समकक्षी गोयलबीच व्यापार सहजीकरणक...
मंसिर १८, २०८१ मंगलबार
पर्वत – पर्वतको महाशिला गाउँपालिका–६, फलामखानीमा चिया खेतीको सफल परीक्षण गरिएको छ ।
गाउँपालिकाले दुई वर्षअघि ३ हजार चियाको बिरुवा लगाएर गरेको खेतीबाट फलामखानीमा चिया खेती परीक्षण सफल भएको हो ।
गाउँपालिकाले करिब दुई लाखको लगानीमा ५ रोपनी क्षेत्रफल भएको सार्वजनिक जग्गामा परीक्षणका रुपमा ३ हजार चियाका बिरुवा रोपेको थियो । अहिले चियाखेती फस्टाउँदै गएपछि र चिया टिप्ने बेला भएपछि खेती प्रभावकारी हुने देखिएको महाशिला गाउँपालिका प्रवक्ता एवं वडा नं. ५ का अध्यक्ष जीवन उच्चै ठकुरीले बताउनुभयो ।
गाउँपालिकाले चियाखेतीको सम्भावना बढ्दै गएपछि पालिकामा खटाइएका महाशिला विकास स्वयंसेवकहरुलाई चिया खेतीको सम्बर्द्धन तथा प्रबर्द्धनमा खटाइएको ठकुरीले बताउनुभयो ।
पहिलेको फलामखानी गाविसले समेत जिल्ला विकास समितिको सहयोगमा २०६८ सालमा चियाखेतीको नमुना परीक्षण गरेको थियो । तत्कालीन अवस्थामा उचित संरक्षणको अभावमा प्रभावकारी नदेखिएको चियाखेती पछिल्लो समयमा गाउँपालिकाले त्यसतर्फ ध्यान दिएपछि चिया खेती हुने आंकलन गरिएको हो ।
फलामखानीमा चियाखेती प्रभावकारी देखिएसँगै गाउँपालिकाले उच्च भूभागमा रहेका जस्ती २२ सय मिटर उचाइमा रहेको चिसापानी लेक, २२ सय मिटर उचाइमा नै अवस्थित डहरे लेकलगायतका स्थानमा समेत चियाखेतीको परीक्षण गर्ने तयारी गरेको प्रवक्ता ठकुरीले बताउनुभयो ।
चालु आर्थिक वर्षमा समेत गाउँपालिकाले फलामखानीमा चियाखेती प्रर्बद्धनका लागि ५ लाख रुपैयाँ विनियोजन गरेको छ । त्यो ५ लाखले महाशिला विकास स्वयंसेवकहरुको सक्रियतामा खेती विस्तार गर्ने र चियाखेतीले उत्पादन राम्रो दिने देखिएमा प्रशोधनको विकल्प खोज्ने योजना रहेको प्रवक्ता ठकुरीले बताउनुभयो ।
गाउँपालिकाले वैकल्पिक तथा अनुकुल खेती विस्तारका लागि चालु आर्थिक वर्षमा जमिन भाडामा लिने योजनासमेत बनाएको छ । चालु आर्थिक वर्षमा कोही कसैले बाँझो खेतीयोग्य जमिन भाडामा दिन चाहेमा महाशिला गाउँपालिकाले भाडामा लिने गरी कार्यक्रम अघि सारेको छ ।
हालसम्म कोही पनि जमिन भाडामा दिनका लागि तयार नभएको र चिया तथा अलैचीलगायतका खेती विस्तारकै लागि भाडामा लिने योजना सार्वजनिक गरिएको प्रवक्ता ठकुरीले बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
पर्वतका उज्यालो सहकर्मी सन्तोष थापा त्यहाँको स्थानीय पत्रिकामा पनि काम गर्नुहुन्छ ।