प्रतिनिधिसभामा ६ वटा अध्यादेश पेश
माघ १८, २०८१ शुक्रबार
काठमाण्डौ– परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले देशमा गलतै गलत मात्रै भयो राम्रा काम भएकै छैनन् भनेझैँ गरी समाज बहकिँदै जान थालेको भन्दै चिन्ता प्रकट गर्नु भएको छ ।
अग्रगति र पश्चगतिको सङ्घर्षको समिश्रण भएकाले सबै खालका रङहरु समाजमा हुने उल्लेख गर्दै उहाँले राम्रा कामलाई सामान्यीकरण गरेर कतिपय बुद्धिजीवी तथा मिडिया नै बहकिएको बताउनु भयो ।
मैतीदेवीमा होप फाउण्डेसनद्वारा शनिबार आयोजित वाङ्मय शताब्दि पुरुष सत्यमोहन जोशीको सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री ज्ञवालीले भन्नुभयो, ‘सबै राजनीति खराबैखराब, चिकित्सक रोगीबाट पैसा मात्रै धुत्छन्, विद्यार्थी सबै चिट नै चोर्छन्, शिक्षकहरु सबै ठग्छन्, कर्मचारी सबै घुस्याहा नै हुन् भन्ने साेचले सबैलाई समेटेर समाज अगाडि बढ्दै छ भन्ने कुरालाई ओझेलमा पार्ने कोसिस भैरहेको छ ।’
समाजमा भएका खराबीविरुद्ध लड्ने सामर्थ्य सरकारसँग रहेको बताउँदै मन्त्री ज्ञवालीले प्रश्न गर्नुभयो, ‘भूकम्प, नाकाबन्दी, चुनावलगायत कयौँ अप्ठ्याराेलाई पार गर्दै नेपालले ७ दशमलव ५ प्रतिशत आर्थिक वृद्धिदर हासिल गरेकामा खुशी हुनुपर्ने होइन ?’ बेल्जियममा सङ्घीयता कार्यान्वयन गर्न ११ वर्ष लागेको स्मरण गर्दै उहाँले नेपालमा पहिलो वर्षमै कार्यान्वयन हुनु ठूलो उपलब्धि भएको बताउनु भयो ।
युगौँदेखि थोपरिएका समस्या रातारात समाधान नहुने प्रस्ट पार्दै देशमा परिवर्तनका सकारात्मक सङ्केत देखिन थालेको उहाँको जीकिर थियो । समाजमा भ्रष्टाचार भए पनि पहिले जस्तो नभएको उहाँको दावी छ । ‘कर्मचारी आएर लौन एक दिन भन्सार जान पाएको छैन, मालपोत जान पाएको होइन भनेर, नेताहरुलाई सधैँभर तनाव हुन्थ्यो तर आज भन्सार र मालपोतमा मलाई पठाइदेउ भन्ने मान्छे पाउन गाह्रो छ । यसको अर्थ त त्यहाँका प्वाल बन्द हुन थालेछ, यो त सत्य हो नि,’ मन्त्री ज्ञवालीले भन्नुभयो ।
ठाउँमै निशाना लागेकाले अख्तियारमै बसेका मान्छेले मुख लुकाउँदै राजीनामा दिएर हिँड्नुपर्ने अवस्थाको सिर्जना भएको जानकारी गराउँदै उहाँले विकृति विरुद्धको लडाइँ सुरु भैसकेकाे उल्लेख गर्नुभयो ।
फरक प्रसङ्ग जोड्दै मन्त्री ज्ञवालीले नेपाली समाजको बहुआयामिक संस्कृतिलाई अगाडि ल्याउन र कर्णालीलाई चिनाउन वाङ्मय सताब्दी पुरुष सत्यमोहन जोशीले गरेको योगदानको प्रशंसा गर्नुभयो । बेइजिङ ओलम्पिकमा समेत उत्कृष्ट १० मा छनोट भएको मुलुकको राष्ट्रगान छनोटको नेतृत्व गर्ने जोशीको योगदानको राज्यले उच्च मूल्याङ्कन गरिरहेको र गरिरहने बताउँदै उहाँले जोशीलाई सम्मान गर्न पाउँदा खुशी व्यक्त गर्नुभयो ।
मुलुकका अन्य गतिविधि पछाडि परे पनि संस्कृतिका हिसाबले नेपाल अन्य देशको तुलनामा अब्बल रहेको उहाँको भनाइ थियो । विश्व व्यापारीकरणलगायत कारणले पश्चिमा संस्कृति भित्रिँदा मौलिक संस्कृतिमा अतिक्रमण भैरहेकोमा उहाँले चिन्ता प्रकट गर्नुभयो ।
उहाँले गलत गतिविधि रोक्दै पश्चिमाहरुको विकासबाट पाठ सिकेर गलत परम्परालाई हटाउँदै जानु अहिलेको आवश्यकता रहेको बताउनु भयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।