‘रुपसी र भद्र’ गैंडाको बिदाई गरिंदै, विशेष जहाजबाट चीन पठाइने

 असार २८, २०७५ बिहीबार ७:५३:३४ | उज्यालो सहकर्मी
unn.prixa.net

 

काठमाडौं – सरकारले चीनलाई उपहार दिन लागेको दुर्लभ एकसिंगे गैंँडाको एक जोडी ‘रुपसी र भद्र’लाई विहीबार बिदाई गरिंदैछ ।

राष्ट्रिय प्रकृति संरक्षण कोषको कार्यालय खुमलटारमा हुने विशेष कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले गैंडाको बिदाई गर्न लाग्नुभएको हो । त्यसपछि गैंडालाई विमानस्थल पुर्याउने र त्यहाँबाट चीन पठाइने कोषकी कार्यक्रम संयोजक सरिता ज्ञवालीले जानकारी दिनुभयो ।

काठमाडौँबाट गैंँडालाई विशेष कार्गो जहाजमा चीन पठाइने छ । केही समय गैंँडाको रेखदेख र चिनियाँ प्रतिनिधिलाई सिकाउनका लागि चितवन निकुञ्जका वरिष्ठ पशु चिकित्सक डा कमल गैरेको नेतृत्वमा कोषका भेटेरिनरी प्राविधिज्ञ किरण रिजाल, वन्यजन्तु प्राविधिज्ञ तीर्थ लामा, दिपप्रसाद चौधरी र विनोद दराई गैँंडासँगै चीन जाँदै हुनुहुन्छ ।

चीनमा गैंँडाको आवश्यक चिकित्सकीय सेवा र उसको स्याहार सुसारमा यहाँ भएका प्रक्रियाबारे चिनियाँ प्रतिनिधिलाई सिकाइने रिजालले बताउनुभयो । गैंडालाई मंगलबार चितवनबाट काठमाडौँ ल्याइएको हो । अहिले गैंँडाको जोडीलाई ललितपुरको खुमलटारस्थित राष्ट्रिय प्रकृति संरक्षण कोषको केन्द्रीय कार्यालयमा राखिएको छ ।

विसं २०७३ असार २६ गते नेपाल सरकारले चीनलाई दुई जोडी गैंँडा उपहार दिने निर्णय गरेको थियो । त्यसको ठिक दुई वर्षपछि विहीबार एकजोडी गैँंडा चीनलाई उपहारस्वरुप प्रदान गरिँदै छ । सरकारले पोथी गैँडाको नाम रुपसी र भालेको नाम भद्र राखेको छ ।

अन्तिम अपडेट: कात्तिक १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया