अदालतको फैसलाबारे छलफल गर्न मिल्ने-नमिल्ने विषयमा संसदीय समितिले संविधानविद्हरुसँग राय लिने

 भदौ २०, २०७६ शुक्रबार १५:३२:५२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - संसदीय समितिले अदालतको फैसलाबारे समितिमा छलफल गर्न मिल्ने-नमिल्ने विषयमा संविधानविद्हरुसँग राय लिने भएको छ । 

संघीय संसदको कानुन, न्याय तथा मानव अधिकार समितिले अदालतको फैसलाबारे समितिमा छलफल गर्न मिल्ने-नमिल्ने विषयमा संविधानविद्हरुसँग राय लिने निर्णय गरेको हो ।

शुक्रबार सिंंहदरबारमा बसेको समितिको बैठकमा पनि प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसका सांसदहरुले एनसेलको कर असुलीसम्बन्धी सर्वोच्च अदालतको फैसलामाथि प्रश्न उठाउँदै सो समितिमा तत्काल छलफल हुनुपर्ने माग गरेपछि सभापति कृष्णभक्त पोखरेलले संविधानविद्हरुसँग छलफल गर्ने सहमति जनाउनु भएको हो ।

केही दिनभित्रै त्यस सम्बन्धमा वरिष्ठ संविधानविद्हरुसँग छलफल गरेर आवश्यक राय लिने निर्णय गरिएको समितिका सभापति पोखरेलले बताउनु भयो ।

समितिले हिरासतहरुको अवस्था बुझ्न स्थलगत अध्ययन गर्ने निर्णय पनि गरेको छ । समितिका सभापति पोखरेलले हिरासत र जेलका बन्दीहरुको अवस्था दयनीय रहेको तथ्य बाहिर आएकाले त्यसको अवस्था बुझ्न समितिले स्थलगत अध्ययन गर्ने निर्णय गरेको पनि स्पष्ट पार्नुभयो । त्यसका लागि सबै प्रदेशका ७ वटा हिरासत र १४ वटा जेलको अवस्थाबारे स्थलगत अध्ययन गरेर हिरासत र जेल सुधारका लागि सरकारलाई आवश्यक निर्देशन दिने समितिको निर्णयमा उल्लेख गरिएको छ ।

बैठकमा समितिका सदस्यहरुले एनसेल प्रकरणमा सर्वोच्च अदालतको आदेशप्रति पनि सार्वजनिक रुपमा टिकाटिप्पणी हुन लागेकाले यस सम्बन्धमा समितिमा छलफल गर्न पाउनुपर्ने माग गरेका थिए । कांग्रेस सांसद मिन विश्वकर्माले पूर्व न्यायाधीशहरुले समेत सर्वोच्च अदालतको त्यस फैसलामाथि टिप्पणी गरेपछि त्यस सम्बन्धमा संसदीय समितिमा छलफल गर्न पाउनुपर्ने माग गर्नुभयो ।

कांग्रेसकै अर्का सांसद सञ्जय गौतमले हिरासतमा ३५ जना बन्दीहरुलाई एउटै काठामा कोचेर राख्ने काम गरिएको तथ्य बाहिर आएको उल्लेख गर्दै त्यसको स्थलगत अध्ययन गर्नुपर्ने माग गर्नुभएको थियो । उहाँले मानव अधिकारको क्षेत्रमा उठेका प्रश्नको निरुपण गर्ने काममा पनि संसदीय समितिले चासो लिनुपर्ने आवश्यकता पनि औंल्याउनु भएको थियो ।

बैठकमा समितिका सभापति पोखरेलले अदालतका विचाराधीन मुद्दामाथि प्रभाव पार्ने काम भने संसदीय समितिले पनि गर्न नमिल्ने धारणा राख्नुभएको थियो । 

अन्तिम अपडेट: माघ १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया